लट्ठयाइन् दिकीले

काठमाडौ, १४ साउन । गायिका दिकी उक्र्याबले शनिबार त्रिपुरेश्वरको आर्मी अफिसर्स क्लबमा गीतसंगीतमार्फत दर्शकश्रोतालाई लट्ठ बनाएकी छन् । ५ बजे सुरु भएको कन्सर्टमा दिकीले कुनै पनि आफ्नो ठाउँ बोलको गीतबाट सांगीतिक प्रस्तुति सुरु गरेकी थिइन् । पहिलो प्रस्तुति दिनासाथ उनलाई दर्शकदीर्घाबाट वान्समोरको वर्षा भइरहेको थियो । संगीतको माहोलमा उत्तेजित भइरहेका दर्शकलाई थप मनोरञ्जन दिने क्रममा उनले आएर गयौ दिनमै, उकालो–ओरालो गरी गाएर रौनक छरेकी थिइन् । उनका हरेक प्रस्तुतिमा दर्शकको उत्साह कम भएन, नाचेको नाच्यै गरे । दर्शकको उत्साहबाट हौसिएकी दिकी लगातार १४ वटा गीत गाउँदा पनि पटक्कै
थाकेकी देखिइनन् ।
न्युयोर्कबासी दिकीले यो कन्सर्ट उनको जन्मगाउँ ताप्लेजुङको ओलाङचुङगोलाबासीको सहयोगार्थ प्रस्तुत गरेकी हुन् । गत असोज महिनामा आएको भूकम्पले ओलाङचुङगोलाका विद्यालय तथा अन्य भौतिक संरचनामा पुर्‍याएको क्षतिले आफूलाई मर्माहत बनाएको उनले सुनाइन् । त्यसैले यसपटकको कलेज बिदाको समय मिलाएर नेपाल आएकी दिकीले क्षतिग्रस्त स्कुल र अन्य भौतिक संरचनाको सहयोगार्थ कन्सर्ट गरेकी हुन् । कन्सर्टलाई ओलाङचुङगोला समाजकल्याण परिवारले पनि सहयोग गरेको थियो । दिकीले भनिन्– ‘आफ्नै गाउँ–ठाउँको सहयोगार्थ कार्यक्रम गर्न पाउँदा निकै उत्साहित छु, त्यसो त नेपालका अन्य ठाउँमा निम्तिने समस्या समाधानका लागि पनि आर्थिक सहयोग जुटाउनुपरे कन्सर्टमा प्रस्तुत हुन तयार छु ।’
कन्सर्टमा गायक योगेश्वर अमात्यले जब सन्ध्या हुन्छलगायत तीन गीत गाएर दर्शकको ध्यान खिचेका थिए । पप गायक निमा रुम्बाले एकफेर हाँसिदिए बोलको गीतसहित दुईवटा प्रस्तुति दिँदा दर्शक वान्समोर भनिरहेका थिए । गिटारस्ट तथा गायक सुजिल कर्माचार्यले सोह्रसत्र वर्ष एक्लै काटेँलगायत दुई गीत गाउँदा गायिका सिने गुरुङले आफ्ना दुर्इं प्रस्तुतिमार्फत दर्शकलाई झुमाएकी थिइन् । कन्सर्ट बेलुकी ८:३५ सम्म चलेको थियो ।

प्रतिक्रिया