पठन साइनो–भैँसीदेखि ल्यापटपसम्म

जिज्ञासु थिएँ तर गम्भीर पाठकचाहिँ होइन ।
हो, म सानैदेखि पुस्तक–पत्रिका इत्यादिप्रति आकर्षित थिएँ । विशेषत: पुस्तकमा हुने चित्रका भावभंगिमा र भाषाले म तानिन्थेँ । अरू रंगीन तस्बिरमा म धेरै हराउँदै आफँैमा मुग्ध हुने गर्दथेँ ।
मेरो घरमा प्रशस्त ठूलाठूला धार्मिक ग्रन्थहरू थिए । रामायण, महाभारत, गीता, हितोपदेश, गुणरत्नमाला, हात्तीमताइको कथा, गुलबकावली, लालहीराको कथा, तोतामैनाको कथा पूजाकोठामा थिए । ती पुस्तक हजुरबाले काँशीबाट मगाउनुभएको मैले सुनेको थिएँ । मेरा पिताजीभन्दा पनि हजुरबा अलिक पढन्ते हुनुहुन्थ्यो कि † तर, मेरी निरक्षर आमाले गुणरत्नमालाचाहिँ, गुनगुनाएर पढेको मलाई एकदमै सम्झना छ । उहाँको त्यो मीठो गुनगुन–गानले मेरो प्रतिभालाई ऊर्जा र बल प्रदान गरेको थियो ।
म पाएसम्मका सबै कुरा पढ्ने गर्थें । बाटोमा भेटिएका कागजका टुक्रा कनीकुथी पढ्ने मेरो स्वभाव निकैपछि सुधार भएको हो । मैले दमकको रोटरी क्लबको पुस्तकालयमा पहिलो पुस्तक ल्याएर पढेको हुँ । विशेषत: गाई चराउन जाँदा म पुस्तक पढ्थेँ । त्यतिखेर सुवास घिसिङ, प्रकाश कोविद, भगीरथ रावत, वसन्तका उपन्यास निकै पढँे । बिस्तारै जासुसी उपन्यासहरू पनि पढेँ ।
अलिक पछिदेखि विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, देवकोटा र तारानाथहरू पढेँ ।
मलाई भैँसीमाथि बसेर घुम ओढ्दै बर्खाको बेलामा उपन्यास पढ्न खुब मज्जा आउँथ्यो । मैले त्यही बेला गोर्कीको ‘आमा’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा,’ इन्द्रबहादुर राईको ‘आज रमिता छ’, विजय मल्लको ‘अनुराधा’ आदि पढेँ । आज ल्यापटपमा पढ्दा म त्यो सुदूर खुसीमा पुलकित हुन्छु ।
सुरुमा पढ्ने आदत बस्यो । बुझेरभन्दा पनि सामान्य पढ्ने स्वभावले तानिएर पढेँ । बिस्तारै साहित्यमा भिजेर पढ्ने जीवनशैली बन्न पुग्यो । कलेज जीवनमा म ‘चुजी पाठक’ भइसकेको थिएँ । रमेश विकलको ‘मधुमालती’, ‘मेरी सानी भतिजी प्रतिमा’ पढ्दा ती पात्रजस्तो हुन्थेँ म ।
मैले, कलेज जीवनभन्दा अघि नै निकै साहित्यिक कृति पढेर त्यस स्तरको भावना बनाउन सकेको लाग्छ ।
खासगरी उर्लाबारी मोरङको विद्याकुटीरबाट म भाडामा साता दिनका लागि पुस्तकहरू लान्थेँ । तर, रातभरिमा पढेर, भोलिपल्टै पुस्तकहरू फिर्ता ल्याउँदा साताको लागि एक रुपियाँ तिर्नुपर्दा म एक सातामा धेरै पुस्तक पढ्न सक्थेँ । पढ्ने प्रतिस्पर्धा थियो आफैँसँग । मैले त्यतिखेरै पारिजात, शंकर लामिछाने, धु्रवचन्द्र, धनुषचन्द्र र कृष्णचन्द्र सिंह प्रधानहरू पढेँ । पञ्चायत कालमा ‘झिसमिसे’, ‘वेदना’ र ‘संकल्प’ आदि पत्रिका पढ्न पाइन्थ्यो । ‘चित्रण’, ‘राष्ट्रपुकार’ र ‘समीक्षा’ मेरा रुचिका पत्रिका थिए । यदाकदा हात पथ्र्यो ‘मातृभूमि’ ।
सानो छँदा संक्रान्ति र मसान्तका दिनमा घरमा बुबाले निकै जोडसँग किताब पढ्न लाउनुहुन्थ्यो । उहाँ, आँगनमा बसेर बाँसका भाटा, चोया, बाता तयार पार्नुहुन्थ्यो । अथवा डोरी बाट्नुहुन्थ्यो । म पिँढीमा बसेर कनीकुथी पढ्थेँ । मैले पढेको गल्ती उहाँले भेट्दाउँदा लाग्थ्यो– हाम्रा बुबा साह्रै जान्ने † त्यतिखेर पढ्ने गरेको प्रयासले पछि म नपढी कहिल्यै ओछ्यानतिर गइनँ । हरेक एक गते पढ्दा महिनाभर पढिन्छ भन्ने मान्यता थियो कि बुबासँग † पछि–पछि त बत्तीको मधुरो प्रकाशमा खुबै उपन्यासहरू पढेँे । धेरै बेर बत्ती बाल्दा ‘मट्टितेलको नाश पार्‍यौ †’ भन्नुहुन्थ्यो आमाले । त्यो गालीबाट बँच्न म लालटिनलाई सिरकले छोपेर गुपचुप पढ्ने गर्थेँ । भित्तेबारबाट छिरेर आएको बिहानी उज्यालोमा पढ्दाको आनन्द नै बेग्लै †
म धेरै पढ्ने भएका कारण मेरो नाम आमाले राख्नुभएको थियो– ‘अक्षरको गोठालो ।’ धेरै नभए पनि केही प्रतिशत मिल्यो कि, आमाको भनाइ आजका दिनमा †
मैले हिन्दी किताब प्राय: पढेँ ।
रवीन्द्रनाथ, शरदचन्द्र, प्रेमचन्द, निर्मल बर्मालाई पढेँ । चेखोब, मार्खेज पनि पढेँ । मेरो अंग्रेजी राम्रो भएन । यो व्यावहारिक र सजिलो भाषा मैले गाउँको स्कुलमा सधैँ ‘आतंक’ का रूपमा मेरो मस्तिष्कमा पस्यो । त्यसैले अंग्रेजीका उत्कृष्ट कृतिहरू म नेपाली र हिन्दीमा भेटेसम्म छोड्दिनँ । तथापि ओस्कार अवार्ड पाएका सिनेमाचाहिँ भाषा नबुझे पनि हेर्ने गरेको छु । साहित्य र सिनेमा परे अलग–अलग । सात्र्र, कामु पनि पढेँ मैले । तर, पूर्वीयसाहित्य मेरो अभिरुचिको साहित्यमा पर्‍यो जहिल्यै पनि ।
विश्वेश्वरप्रसाद कोइरालाको शैली मलाई मनपर्छ । कृष्ण धरावासीको ‘शरणार्थी’ र धु्रवचन्द्र गौतमको ‘अलिखित’ मैले मन पराएका आख्यान कृति हुन् । देवकोटाको ‘कुञ्जिनी’ र लेखनाथको ‘तरुण–तपसी’ मेरा लागि उत्कृष्ट भए र रहनेछन् पछिसम्मै । त्यो क्रममा माधव घिमिरेको ‘गौरी’ पनि राखिदिए हुन्छ ।
पछिल्लो खण्डमा मैले तारानाथ शर्मा, डा. माधव पोख्रेल र धरावासीका निबन्धहरू निकै पढेँ । अहिले चलेका धेरै कविलाई दस वर्ष नकटी कसरी ढुक्कले तिनलाई पढ्न सकेँ भनेर घोषणा गर्नु ? अघिल्लो वर्ष भेटिएको लेखक अर्को वर्ष च्याटमा भेटिँदा ती खाडी, युरोप वा अमेरिकाको कुनै दलदलमा भासिएर कविता कथ्न नसकेको गथासो सुनाइरहेका हुन्छन् । लेखन त समर्पण र निष्ठासँग पनि गाँसिएको हुन्छ ।
आदर्श वा प्रयोगवादी साहित्यले त्यति धेरै नछोए पनि प्रस्तुतिको मिठासबाट म बढ्ता छोइन्छु । इन्द्रबहादुर राईका कथाले मलाई आकर्षित गर्ने कारण हो– तिनको बनोट र कलात्मक लेखन । ‘रातभरि हुरी चल्यो’, ‘हामीजस्तै मैनाकी आमा,’ ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ – यी औधी कलात्मक र सुन्दर कथाहरू हुन् । मलाई त्यहाँ गाँसिएर आएको लेखकीय उत्कृष्ट सुकोमल दर्शनले स्पर्श गरेको अनुभूति भएको छ ।
रुस्दी र तसलिमा नसरिनको पनि साहित्य मैले पढेँ । तर, यी दुवै हौवा, होहल्ला र मिडियाका फेर समातेर उक्लेका ‘फास्ट फुड’ खालका लेखक मात्र हुन् भन्ने मलाई लाग्छ । बरु रुसमा लेनिनको कब्जा हुनुअघिका स्वतन्त्र चिन्तक– लेखकको योगदान र सिर्जना विशिष्ट लाग्छ मलाई । पुस्किन, टाल्सटायको रचनालाई त्यही रूपमा हेरिनुपर्छ भन्ने ठान्छु म । साहित्यलाई पार्टीको टाङमुनि छिराएपछि– त्यसपछि लेखिने साहित्य ‘दासताको रुन्चे स्वर’ भन्दा भिन्न हुँदै हुँदैन । हाम्रा पनि थुप्रै त्यस्ता डंका हाँक्ने लेखक–लेखिका छन् । तिनको साहित्य साता दिनको काउनडाउनपछि पुगेको हुन्छ आर्यघाट । होहल्ला हेर्दा त पुग्नुपथ्र्यो सिंगो देशभरि । दुर्भाग्य उल्टो भइरहेको हुन्छ ।
आञ्चलिक परिवेशको लेखन मेरो रुचि र प्रिय क्षेत्र हो । आख्यानमा त्यसलाई उतार्न र लिपिबद्ध गर्न सजिलो हुन्छ । निबन्धमा त्यसलाई ओह्राल्न पर्छ हम्मे–हम्मे । आफैँमा गह्रुँगो निबन्धलाई ‘सम्भ्रान्त र ठालु’ अनुहारबाट सजिलो बनाउन सहज छैन । बरु नियात्रामा स्थान विशेषको वर्णन गर्दा आञ्चलिक उच्चारण र भावभंगिमा उतार्ने मेरो चेष्टा छ केही यता । त्यसले रचनामा प्राण भर्छ र स्थानीयताको माटोको महक र सुवास अनुभूत हुँदोरहेछ ।
तात्कालीन आवेश र आवेगले लेखिएको साहित्यले बजार पाउँला तर मन पाउन गाह्रै पर्छ । केही यता त्यस्तै भइआएको मलाई भान हुन थालेको छ । शालीन, शिष्ट र जीवनवादी कृतिको आयु लामो हुन्छ, त्यसलाई विज्ञापन र प्रचारको शंख फुक्नै पर्दैन ।
पश्चिमाहरूको बढ्ता नक्कल र आदेश मान्ने लेखकीय कला हाम्रो साहित्यमा निकै दबदबापूर्ण छ । यथार्थमा त्यसले वर्णशंकर वाङ्मयको वृद्धि गराउँछ । हामी आफ्नै रङ, रूप र पहिचान भुलेर दगुरिरहेका छौँ । आफ्नो क्षमता, तागत र विषयलाई एकातिर पन्छाएर लम्किरहेका छौँ । त्यसैले उत्कृष्ट विम्ब र विषय उतार्न नसकिएको हो हाम्रो साहित्यमा ।
मलाई नेपालका आफ्ना मौलिक विषयमा केन्द्रित साहित्य नआइहरेको सधैँ लाग्नेगर्छ । नेपालको साहित्य अझै पनि ‘बौद्धिक विलास र थोपरिएको बुद्धि’बाट मुन्टो उठाउन नसकिरहेको हो कि–हो कि पनि लाग्छ ।
भूगोलमा विविधता भएझैँ जनजीवन र संस्कृतिमा पनि मनग्य भिन्नता छ हाम्रो देशमा । तिनको अन्तर्लय र अन्तर्वस्तु समातेर अझै पनि दह्रा, कसिँला र जीवन्त रचनाहरू नलेखिएको असन्तोष मभित्र छ । गुमनाम हुँदो छ देश । हाबी भइरहेछ परदेशको बकबक †
नेपाली साहित्यमा शास्त्रीयताको कलात्मक युग र परिवेश मरिरहेको पीडाबोध भइरहेको छ मलाई ।

प्रतिक्रिया