म्युनिक गोलीकाण्डलाई सम्झिँदा

सन् १९७२ को म्युनिख ओलम्पिकमा भएको गोलीकाण्ड आजसम्म पनि उत्तिकै चर्चित छ । यसलाई खेलकुदकै ठूला घटनामध्येको एक मानिन्छ । मध्यरातमा ओलम्पिक भिलेजमा पसेर दुई इजरायली खेलाडीको निर्मम हत्या भएको थियो भने इजरायली ओलम्पिक टोलीका बाँकी सदस्यलाई बाँधेर लडाइएको थियो ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले हरेकजसो ओलम्पिक खेलकुद संस्करणमा सो घटनाको निन्दा गर्दै मौनधारण गर्ने गरेको छ । ओलम्पिक प्रतियोगितामा नेपालको तर्फबाट दुई एथलेटिक्स खेलाडी जितबहादुर केसी र भक्तबहादुर सापकोटा सहभागी थिए । उक्त गोलीकाण्ड भएको ठाउँ र नेपाली टोली बसेको ठाउँलाई एउटा मोटरसाइकल छिर्ने जत्रो बाटोले ‘पार्टेसन’ गरिएको थियो । तर, मध्यरातमा भएको गोलीकाण्ड बिहान मात्र आफूलाई थाहा भएको जानकारी दिँदै जितबहादुर भन्छन्–

ओलम्पिक भिलेजमा हामी र इजरायली टोलीलाई प्यासेजको आमनेसामने राखिएको थियो । ओलम्पिक भिलेज सिसैसिसाले बनेको थियो, जसमा पर्दा लगाएर एक/एकजना बस्ने गरी व्यवस्था मिलाइएको थियो । लहरै नेपाली ओलम्पिक टोलीका सदस्यलाई मिलाएर एक साइडमा राखिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य–सचिव कुमार खड्गविक्रम शाह, उनकी श्रीमती शारदा, मनबहादुर शाही, केशव भट्टराई, लक्ष्मण शाह, भक्तबहादुर र म नेपाली टोलीमा थियौँ । ओलम्पिक खेलकुद सुरु भएको त्यस्तै तीन दिन भएको थियो । राति अबेरसम्म निद्रा लागेन । कोठामा सबै कुराको सुविधा थियो । विभिन्न प्रकारका जुस तथा पानी आउने धारा कोठामा जडान गरिएको थियो ।
राति एक बजेको थियो, अचानक ठूलो आवाज आयो । हामी बसेको तलामुनि मानिस २४सै घन्टा खेलेर बस्ने हँुदा त्यसको आवाज भनेर वास्ता गरिएन । लगत्तै दुई/तीन मिनेटपछि अर्को त्यत्रै आवाज बाहिर आयो । यसपटक पनि हामीले चासो दिएनौँ । मैले मात्र होइन, सबैलाई त्यस्तै लागेर होला, कसैले पनि तत्काल प्रतिक्रिया जनाएनन् । बिहान चार बजेतिर अचानक कोठाको घन्टी बज्यो । पातलो सेन्डो र काछी लगाएर सुतेको थिएँ । गम्छा बेरेर ढोका खोल्न गएँ । शारदा म्याडम हुनुहँुदो रहेछ । उहाँले ‘यति हुँदासम्म केही थाहा पाएनौ’ भन्नुभयो । अचम्ममा परेँ । के भयो भनी सोध्दा अगाडिको कोठामा राति दुई इजरायली खेलाडीको हत्या भयो भन्नुभयो । म झसंग भएँ । उता गएर हेर्दा दुईवटा लास रक्ताम्ये भएर लडिरहेका थिए । बाँकी इजरायली खेलाडीलाई बिजुलीको तारले बाँधेर लडाइराखिएको थियो । हामीलाई अरबियनले घुरेर हेरे । डर पनि लाग्यो । बिहान भएपछि जर्मनीका राजामहाराजा नै त्यहाँ आए । हामीलाई तपार्इंहरू आत्तिनुपर्दैन अब केही हँुदैन भनेर आश्वासन दिइयो । मानिसहरू ओलम्पिक भिलेज छाडेर बाहिर गएर बस्नेसम्मको तयारी गरिरहेका थिए । उक्त घटनाका कारण ओलम्पिक खेलकुद तीन दिनका लागि स्थगन भयो । तर, त्रास भने हटेको थिएन । राति झसंग ब्यँुझदा पनि सोही घटनाको याद आउँथ्यो । सिसामा आएर झिँगा ठोकिँदा पनि डरले सताउँथ्यो ।
दुई वर्षपछि इरानमा एसियन गेम्स हँुदा सुरक्षा चिन्ता प्रमुख चर्चाको विषय बन्यो । ओलम्पिक घटना सम्झिएर हो कि इजरायलीलाई छुट्टै घरमा राखिएको थियो । उक्त घरमा छतबाट समेत उनीहरूलाई सुरक्षा दिइएको थियो । रंगशालाभन्दा बाहिर सुरक्षा दिन नसक्दै इरानले जनाएपछि म्याराथन खेल नै स्थगन गर्नुपरेको थियो । म्याराथनमा सहभागी हुन गएको म अन्त्यमा पाँच हजार मिटर दौडमा सहभागी भएर फर्किएँ ।
(लोकेन्द्र प्रसाईंसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया