‘संसद्को निर्वाचनमा जाऔँ’

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले व्यवस्थापिका संसद्को निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । संविधानसभाले पूरा गर्न बाँकी काम निर्वाचित व्यवस्थापिकाले गर्नुपर्ने उनीहरूको माग छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा १५ र १६ हुने जिल्ला सभापतिहरूको भेलाको तयारीका विषयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापतिहरूले निर्वाचनको माग गरेका हुन् । सिन्धुपाल्चोक सभापति मोहनबहादुर बस्नेतले संविधानसभा पुन:स्थापना अब सम्भव नभएको दाबी गरे । जिल्ला सभापतिहरूको भेलामा उनीहरूले पार्टी नेतृत्वलाई राजनीतिक सहमतिका आधारमा नयाँ निर्वाचनमा जान लिखित सुझाव दिने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीले संविधानसभाले गर्न बाँकी कामसमेत गर्ने गरी संसद्को निर्वाचनमा जानुपर्ने बताए । दलहरूको सहमतिमा निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख गर्दै अधिकारीले भने, ‘जिल्ला सभापतिहरूको तर्फबाट पार्टी नेतृत्वलाई लिखित रूपमा हामी यही सुझाव दिने तयारीमा छौँ ।’ जिल्ला सभापतिहरूले जन–आन्दोलनको लक्ष्य र जनताको आकांक्षा नयाँ संविधान भएको दाबी गरेका छन् । उनीहरूले संविधानसभा पुन:स्थापनाले जनताको आकांक्षाअनुसार संविधान बन्न नसक्ने दाबी गर्दै निर्वाचनबाट समाधान खोजिनुपर्ने बताए ।
जिल्ला सभापतिहरूले प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको विकल्प नभएको पनि दाबी गरेका छन् । सहमतिका आधारमा मात्र मुलुकलाई अघि बढाउन सकिने दाबी गर्दै उनीहरूले मुलुकलाई छिटो निकास दिनुपर्ने धारणा राखे । राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा गरेर बाटो सहज बनाउनुपर्ने धारणा राखे । सहमतिको सरकार गठनपछि राजनीतिक सहमतिका आधारमा निर्वाचनको नयाँ मिति तय गर्नुपर्ने उनीहरूको धारणा छ । बस्नेतले जिल्ला सभापतिका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।

प्रतिक्रिया