फाइनलमा नेपाल पुलिस र एपिएफ

वीरगन्ज , १२ साउन । १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार भएको सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई २–० ले हराउँदै पुलिसले एपिएफसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा एपिएफले कैलालीलाई ४–० ले पराजित गरेको थियो । उपाधिका लागि शनिबार सिमरा रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
पुलिसले दुवै गोल मध्यान्तरपछि गरेको थियो । विजयी टोलीका लागि कप्तान चन्द्रा भण्डारी र निरू थापाले एक/एक गोल गरे । दोस्रो हाफको सुरुआतमै दबाबपूर्ण प्रदर्शन गरेको पुलिसले ५१औँ मिनेटमा पहिलो अग्रता लिएको थियो । चन्द्राले डि–बक्सनजिकैबाट प्राप्त ‘सर्ट पास’ मा गोल गरिन् । ८९औँ मिनेटमा निरूले गोल गरी टोलीको जित २–० ले सुनिश्चित गरेकी हुन् । धिमकुमारी गुरुङको पासमा निरूबाट दोस्रो गोल भएको हो ।
खेलको सुरुआतदेखि नै दबाबमा राख्न सफल भए पनि अघिल्लो पंक्तिका खेलाडीले प्राप्त मौका सदुपयोग गर्न नसक्दा पुलिसले मध्यान्तरसम्म बराबरीमा खेल्नुपरेको थियो । अघिल्ला खेलको तुलनामा पुलिसका फर्वाड बिहीबार केही शिथिल देखिएका थिए । पुलिसकी चन्द्राले ३०औँ मिनेटमा खाली पोस्टमा गोल गर्न सकिनन् ।
यता आर्मीले पनि आधा दर्जनभन्दा बढी मौकाको उपयोग गर्न सकेन । पहिलो हाफमा दीपा अधिकारीले प्रहार गरेको कडा फ्री किक गोलपोस्टको बारमा लागेर फर्किएपछि आर्मी सुरुआती अग्रता लिन असफल भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालित प्रतियोगितामा २४ जिल्ला र तीन विभागीय गरी कुल २७ टिमको सहभागिता थियो ।

प्रतिक्रिया