प्रधान मिडिया कपकै उत्कृष्ट खेलाडी

काठमाडौं, ११ साउन । पाँचौं डाइरेक्सन नेपाल मिडिया कप फुटबल प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट खेलाडीको नाम बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक नेपाल ओलम्पिक संग्राहलयद्वारा विजेता, उपविजेता तथा सहयोगीलाई प्रमाण–पत्र प्रदान गर्न आयोजित कार्यक्रममा उत्कृष्टको नाम सार्वजनिक गरिएको हो ।
उपविजेता इमेज च्यानलका सम्बन्ध प्रधान उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता नेपाल टेलिभिजन (एनटिभी) का सञ्जीव शिल्पकार उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर ६ गोल गरेका एनटिभीकै प्रज्ज्वल शाक्य सर्वाधिक गोलकर्ता बने । गोरखापत्र अनुशासित टिम घोषित भयो ।
प्रतियोगिताको फाइनलमा एनटिभीले इमेजलाई ३–२ ले हराउँदै तेस्रोपटक उपाधि जितेको थियो । प्रतियोगिता असार २६ देखि साउन ६ गतेसम्म भएको थियो । प्रतियोगितामा १४ टिम सहभागी थिए । प्रतियोगिताकै दौरान खेलाडी तथा कलाकार टोलीबीच पनि मैत्रीपूर्ण खेल भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले प्रमाणपत्र प्रदान गरे । उक्त अवसरमा लामाले यस्ता प्रतियोगिताले समाजमा खेलकुदप्रति चासो बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।
संग्रहालयका अध्यक्ष क्षितिज अरुणले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी समयमा प्रतियोगितालाई अझ व्यापक रूपमा सञ्चालन गर्ने बताए । उक्त अवसरमा ओलम्पिक– २०१२ का लागि लन्डन जान लागेका सञ्चारकर्मीलाई पनि बिदाइ गरिएको थियो ।

प्रतिक्रिया