पूर्वमन्त्री जोशीलाई डेढ बर्ष कैद


काठमाडौं, १० साउन । भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पूर्व मन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीलाई डेढ बर्ष कैद सजायको फैसला सुनाएको छ ।
विशेषका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य केदारप्रसाद चालिसे तथा ओमप्रसाद मिश्रको संयुक्त ईजलासले जोशीलाई भ्रष्टाचार विरुद्धको मुद्धामा सो कैद सुनाएको हो । अदालतले उनलाई २ करोड १४ लाख १६ हजार विगो र सोही वरावर जरीवाना समेत तोकेको छ ।
सार्वजनिक पदमा रहदा पूर्वमन्त्री जोशीले अकुत सम्पत्ति आर्जन गरेको एवं सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धन आयोगले भ्रष्टाचार विरुद्धको मुद्धा दायर गरेको थियो ।
विशेष अदालतले जोशीलाई डेढ बर्ष कैद सजाय र जरीवाना तोकेपनि उनी फैसलामा चित्त नबुझे पुनः सर्वोच्च अदालत जान सक्ने छन् ।
पूर्वमन्त्री जाशीलाई अघिल्लो पटक विशेष अदालतले दिएको सफाईमा त्रुटी रहेको ठहर गर्दै सर्वोच्च सो मुद्धा पुनः विशेषमै पठाएको थियो । पुनः विशेषमा भएको सुनुवाई पछि जोशीलाई आज सो कैद तथा जरिवाना तोकिएको हो ।
यस अघि कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार मुद्धामा जेल सजाय पुरा गरेर रिहा भई सकेका छन् भने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारकै मुद्धामा डिल्लीबजार सदरखोरमा सजाय भोगी रहेका छन् ।
अर्का पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको भ्रष्टाचार सम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया