साढे दुई खर्ब राजस्व संकलन

काठमाडौ, १० साउन । गत आर्थिक वर्षमा दुई खर्ब ४४ अर्ब १४ करोड रुपियाँ राजस्व संकलन भएको छ । सरकारले दुई खर्ब ४१ अर्ब ७७ करोड ४२ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यो लक्ष्य भन्दा दुई अर्ब ३७ करोड बढी हो । अर्थसचिव कृष्णहरि बास्कोटाले आफूहरूको परिश्रम, उच्च मनोबल, कार्ययोजनासहितको प्रयासबाट लक्ष्यभन्दा बढी राजस्व असुली भएको बताए ।

सो राजस्व असुलीमध्ये मूल्य अभिवृद्धि करतर्फ ७२ अर्ब ७४ करोड असुली गर्ने लक्ष्य राखिएकोमा ७१ अर्ब ९७ करोड रुपियाँ असुली भएको जानकारी उनले दिए । यो कुल राजस्व असुलीको २९ दशमलव ५ प्रतिशतको हिस्सा हो । मूल्य अभिवृद्धि कर असुलीमा राम्रो देखिुनमा पाँच सय १८ वटा नक्कली मूल्य अभिवृद्धि करको बिलवीजक जारी गर्नेमाथि भएको कारबाही, मूल्य अभिवृद्धि कर दर्तावालाको संख्यामा भएको वृद्धि, करदाता सेवा कार्यालयको स्थापना र बक्यौता असुलीमा गरिएको प्रयास नै प्रमुख कारकतत्व रहेको अर्थसचिव बास्कोटा बताउँछन् ।
त्यसैगरी आयकरतर्फ ५१ अर्ब ६ करोड असुली गर्ने लक्ष्य राखिएकामा ५२ अर्ब ५५ करोड असुली भएको प्रारम्भिक अनुमान छ । यो कुल राजस्व असुलीको २२ दशमलव ७ प्रतिशत हो । गत आवमा आयकर असुलीको वृद्धिदर २५ प्रतिशत थियो । आयकर असुली वृद्धि हुँदै जानुमा करको दायरा फराकिलो हुँदै जानु, आयकरमा दर्तावालाको संख्या वृद्धि हुनु, व्यावसायिक कारोबारमा सुधार र कर प्रशासन प्रभावकारी हुनु रहेको अर्थमन्त्रालये जनाएको छ ।
यो अवधिमा भन्सार महसुलमा पनि उल्लेखनीय सुधार आएको छ । बास्कोटाका अनुसार गत आर्थिक वर्षमा ४१ अर्ब ५६ करोड असुली गर्ने लक्ष्य राखिएकामा ४३ अर्ब ४१ करोड असुली भएको प्रारम्भिक अनुमान छ । यो कुल राजस्व असुलीको १८ प्रतिशत हो । भन्सार महसुल वृद्धि हुनुमा वैदेशिक व्यापारमा भएको वृद्धि, डलरको मजबुती, भन्सार मूल्यांकनमा गरिएको सुधार, वस्तु वर्गीकरणमा अपनाइएको सतर्कता, भारतीय अन्त:शुल्क फिर्ता प्रणालीमा गरिएको सुधार र सीमावर्ती क्षेत्रमा गरिएको तस्करी नियन्त्रण महत्त्वपूर्ण तत्त्व रहेको दाबी उनको छ । अन्त:शुल्कतर्फ ६८/६९ मा ३० अर्ब २५ करोड अन्त:शुल्क असुली गर्ने लक्ष्यमा ३० अर्ब ३७ करोड रुपियाँ असुली भएको प्रारम्भिक अनुमान छ ।
जनआन्दोलन–२ पछि आव ०६७/६८ मा बाहेक सबै आर्थिक वर्षमा राजस्वको तोकिएको लक्ष्यभन्दा बढी नै असुली भएको पनि अर्थमन्त्रालयले जनाएको छ । राजस्व असुलीका लागि प्रत्येक विभाग र कार्यालयको कार्ययोजना नै बनाई काम गरिनु, करको दायरा विस्तार गर्ने क्रममा घरबहाल करमा अभियात्मक ढंगले अघि बढनु, राजस्व चुहावट चौबीसै घन्टा खुला रहने नियन्त्रण कक्षको व्यवस्था, राजमार्ग गस्ती र सीमा सुरक्षा बलको व्यवस्थाले तस्करी नियन्त्रण भएको कारण राजस्व असुली बढेको अर्थले जनाएको छ । यसैगरी, भन्सार प्रशासनमा लागू गरिएको कम्प्युटरीकृत प्रणालीले पनि राजस्व वृद्धि गराउन मद्दत पुगेको दाबी बास्कोटाको छ ।
जनआन्दोलनपछि राजस्व असुली रकममा मात्रै वृद्धि नभई कुल गार्हस्थ उत्पादनको अनुदानमा पनि राजस्व वृद्धिदर सन्तोषजनक रहेको छ । आव ०६३/६४ मा कुल गार्हस्थ उत्पादनको अनुपातमा राजस्व असुली १२ दशमलव शून्य ५ प्रतिशत थियो भने आव ०६४/६५ मा १३ दशमलव १९, ०६५/६६ मा १४ दशमलव ५२ र ०६६/६७ मा १५ दशमलव शून्य ७ प्रतिशत पुगेको थियो । आव ०६७/६८ मा भने राजस्व असुलीको लक्ष्य नपुगेकाले कुल गार्हस्थ उत्पादनको अनुपातमा राजस्व असुली साबिकबाट घटेर १४ दशमलव ५९ प्रतिशत काम भएकोमा आव ०६८/६९ मा राजस्व असुली उत्कृष्ट रहेकाले जिडिपीको अनुपातमा राजस्व असुली १५ दशमलव ५ प्रतिशतमा पुगेको अर्थले जनाएको छ ।

प्रतिक्रिया