छोटी भन्सार पुन: सञ्चालन नगर्न पत्राचार

नेपालगन्ज, १० साउन । सशस्त्र द्वन्द्वमा विस्थापित बाँकेका छोटी भन्सारहरू सञ्चालन नगरिने भएको छ । छोटी भन्सार सञ्चालन गर्दा चोरीपैठारी घट्नेभन्दा बढ्ने निष्कर्ष निकाल्दै नेपालगन्ज भन्सार कार्यालयले भन्सार विभागलाई छोटी भन्सार सञ्चालन गर्न नहुने आसयसहितको पत्राचार गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालय मातहत रहनेगरी बाँकेमा सातवटा छोटी भन्सार सञ्चालनमा थिए । तर, माओवादी द्वन्द्वसँगै नरैनापुर, भँघोटाना, खडैचा, उडरापुर, साईगाउँ, सुइया बघौडा र भगवान्पुर छोटी भन्सार कार्यालय एक दशकदेखि बन्द छन् । सबै छोटी भन्सार कार्यालय अहिले खण्डहरमा परिणत भइसकेका छन् । स्थानीयले कार्यालय भवनलाई गोठका रूपमा प्रयोग गरिरहेका छन् ।
छोटी भन्सार सञ्चालन हुने नहुने अन्यौल भइरहेका बेला नेपालगन्ज भन्सार कार्यालय छोटी भन्सार सञ्चालन गरेर केही फाइदा नहुने निष्कर्षमा पुगेको हो । नेपालगन्ज भन्सारका भन्सार अधिकृत शिवप्रसाद ढुंगानाले भारतीय सुरक्षाकर्मीले बाँकेका छोटी भन्सारसँग जोडिएका भारतीय बजारबाट सामान ल्याउन रोक लगाएकाले छोटी भन्सार सञ्चालन गर्नुको औचित्य नभएको बताए ।
‘रुपैडियाबाहेक अन्य बजारबाट सामान ल्याउन भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् ।’ छोटी भन्सार सञ्चालन गर्नु उपयुक्त नभएको बताउँदै ढुंगानाले भने, ‘त्यहाँबाट सामान ल्याउन नदिने भएपछि छोटी भन्सारले कसरी राजस्व उठाउँछ ।’ अहिले नेपालगन्ज नाकाबाट मात्र भारत र नेपालबीच वैधानिक रूपमा सामानको आयात निर्यात भइरहेको छ  ।
यही नाकामा रहेको नेपालगन्ज भन्सारले वार्षीक करोडांैको राजस्व संकलन गर्दै आएको छ । मूल नाकाबाहेक सहायक नाका हुँदै चोरीपैठारी हुने क्रम रोकिएको छैन । नेपाली र भारतीय सुरक्षाकर्मी सक्रिय भए पनि खाद्यान्न, इलेक्ट्रोनिक्स सामग्री, रासायनिक मल र तयारी पोसाकको चोरीपैठारी दैनिकजसो भइरहने गरेको छ ।
छोटी भन्सार सञ्चालन नहुँदा सहायक नाकाहरू चोरीपैठारी गर्न प्रयोग भइरहेको व्यवसायीहरूले गुनासो गरे पनि भन्सार अधिकृत ढुंगाना भने त्यसलाई अस्वीकार गर्छन् । चोरीपैठारी नियन्त्रण भइरहेको दाबी गर्दै उनले भने, ‘छोटी भन्सार सञ्चालन गर्दा तस्करले वैधानितका पाउने अवस्था आउँछ ।’
एउटा छोटी भन्सार कार्यालयमा न्यूनतम चारजना जति कर्मचारी हुन्छन् । त्यहाँ सुरक्षाकर्मीको संख्या पनि न्यून हुन्छ । थोरै संख्यामा रहने भन्सार कर्मचारी र सुरक्षाकर्मीलाई तस्करले आफ्नो प्रभावमा पारेर चोरीपैठारी गर्न सजिलो बनाउने गरेको ढुंगाना बताउँछन् । ‘नेपालगन्ज भन्सारमा सयाँैको संख्यामा सुरक्षाकर्मी र प्रहरी छन्  । सबैलाई प्रलोभनमा पार्न सम्भव हुँदैन । तर, थोरै कर्मचारीको हकमा त्यो सम्भव हुनसक्छ,’ उनले भने ।
छोटी भन्सारबाट उठ्ने राजस्व कार्यालय व्यवस्थापनमै खर्च हुन्थ्यो । अहिले झ्न भारतीय बजारबाट सामान नै ल्याउन नदिएपछि राजस्व शून्य बराबर हुने अवस्था छ । ‘रुपैडियाजस्तै अन्य बजारबाट पनि सामान ल्याउन खुल्ला गरे मात्र छोटी भन्सार सञ्चालन हुन सक्छ । त्यत्तिकै खोले त तस्करलाई मात्र फाइदा हुन्छ,’ ढुंगानाले भने ।
छोटी भन्सार सञ्चालन गर्न सम्भव छ वा छैन भन्ने विषयमा भन्सार विभागका निर्देशक नारायण शर्माको एक टोलीले असारमा नेपालगन्जमा आएर सरोकारवाला निकायसँग छलफल गरेको थियो । टोलीलाई कूटनीतिक पहलबाट कुरा गरेर सबै भारतीय बजार नेपालीका लागि खुला गर्न सके मात्र छोटी भन्सार सञ्चालन गर्न सुझाव दिएको भन्सार अधिकृत ढुंगानाले बताए ।

प्रतिक्रिया