संविधानसभामा ठूलो दलका रूपमा स्थापित भए पनि त्यही दलको सरकारका प्रधानमन्त्रीले मध्यरातमा संविधानसभा विघटन गरेका थिए । संविधानसभा विघटन गरेसँगै माओवादी पार्टी विभाजित भयो । पार्टी विभाजनपछिको पहिलो विस्तारित बैठकको उद्घाटन हुँदा नेताहरूले एमाओवादी पार्टीभित्र गुटको अन्त्य हुने घोषण गरे । मानौँ माओवादीभित्रको गुट भनेको वैद्यको मात्र हो, आफूहरू गुटमा नभएको नाटकको मञ्चन गर्दै उद्घाटन गरिएको थियो भने बैठकको अन्त्य पनि त्यसैगरी भयो, जसरी उद्घाटन गरिएको थियो । त्यसो भए बैठक चलिरहेकै बेला किन कुर्सी हानाहान र कार्यकर्ताको भागाभाग भयो त ? विभाजित भएर जानेले जुन आरोप लगाएका थिए, तिनै कुरा अधिकांश सहभागीले उठाए । बैठकमा आर्थिक हिनामिना भएको, लडाकुलाई अपमानित तरिकाले सेनाको जिम्मा लगाइएको, सामाजिक संरचना भत्काइएको, सहिदको रगतलाई बिर्सिएको, नेतृत्व नव–सामन्ती वर्गमा रूपान्तरण भएको, राष्ट्रघाती सन्धि गरेको, नेताहरू विदेशीका दलाल बनेकाजस्ता विषयमा कार्यकर्ताले ठूलै आवाज उठाए । सबै भन्दा महत्त्वपूर्ण कुरा त जब पूर्वलडाकुले पार्टीभित्रको हिसाबकिताब खोज्न थाले तब त्यो विषयलाई कमजोर पार्न सबै नेता र एमाओवादीभित्रका मठाधीशहरू सक्रिय भए । हिसाबकिताबको कुरा नआउँदासम्म गुटको अन्त्य हुने घोषणा गरेका नेताहरू कुरा उठेपछि गुटमा सक्रिय भए । गठन हुने भनिएका दुईवटा आयोगको अध्यक्ष र सदस्य कसलाई बनाउने भन्ने विषयबाट गुटको कुरा उठ्यो । अकुत सम्पति कमाएका नेताहरूले आर्थिक पारदर्शिताको कुरा उठ्दा नै तोरीको फूल देख्न थालेका थिए भने छानबिन हुने भनेपछि लुटेको धनले पोल्न थाल्यो । जनयुद्ध सुरु गर्दा नै आफ्नो निजी सम्पति पार्टीलाई बुझाएको घोषणा गरेका नेताहरूले आर्थिक पारदर्शिताको कुरा आउँदा प्रधानमन्त्रीको कठालो समाउने र पार्टी अध्यक्षलाई कुर्सीले हान्नेसम्मको अवस्था सिर्जना गरे । भन्दा जे भने पनि र जति ढाकछोप गरे पनि वास्तविकता यही नै थियो । त्यो कुनै सैद्धान्तिक लडाइँ थिएन ।
माओवादीले जनयुद्ध आमूल परिवर्तनका लागि भनेर सुरू गरेको थियो । त्यसताका राज्य त प्रमुख दुस्मन थियो नै तर गाउँमा २–४ मुरी कोदो बेच्ने पनि सामन्त नै ठहरिएका थिए । त्यसैले लिखित नीति जे भए पनि कार्यनीति सामन्तलाई भौतिक कारबाही गर र सम्पति लुटेर ल्याई पार्टीलाई बुझाउँm भन्ने नै थियो । किसानले चार मुरी कोदो बेचेको थाहा पाए लुट्न पुग्थे भने सरकारी सम्पत्ति नलुट्ने त कुरै भएन । युद्धकै सिलसिलामा नारायणगढको नेपाल बैंकबाट सरकारी सम्पत्ति लुटेर पार्टीलाई बुझाए त्यसको केही दिनपछि त्यसै ठाउँमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुट्न गएका चारजना मारिए । त्यति बेला पनि पैसा लुट्न सकेको भए पार्टी नेतृत्वलाई नै बुझाउँथे । मरे गरिबका छोरा मर्थे, लुट्न सके प्रचण्डलगाायत नेता धनी बन्थे । यो त एउटा उदाहरण मात्र हो । माओवादी युद्धताका राज्य र नागरिकको कति सम्पत्ति लुटियो त्यसको लेखाजोखा न हिजो भएको थियो न आज हुनेवाला छ न त भविष्यमा हुने कल्पना गर्न सकिन्छ । लुटेकै सम्पतिका कारण माओवादी एसियाकै धनी पार्टीभित्र पर्छ भने यसको नेतृत्व गर्ने नेताको आर्थिक अवस्था त्योभन्दा के कम होला ? धनी पार्टीका गरिब नेता हुने कुरा कल्पना पनि गर्न सकिँदैन । प्रचण्ड, बाबुराम, वर्षमान यसका उदाहरण पात्र हुन् । जनयुद्धताका प्रचण्डलगायत नेता भोकानांगा र दीनदु:खीको संरक्षणमा सुरक्षित थिए । माओवादी नेताको असुरक्षा हुनु भनेको गरिब दु:खी र परिवर्तन खोज्नेहरूको अन्त्य हुने ठानिएको थियो । त्यसैले आफू मरेर उनीहरूलाई बचाए । लुटेर ल्याएको सम्पत्ति तीनै नेतालाई बुझाए । ज्यानको आहुति दिन तयार हुनेहरूका लागि माओवादी नेता आस्थाका केन्द्र थिए । तीनैमा भविष्य देखेका थिए र त ‘मर्न जाऊ’ भन्दा पनि गर्भका साथ गए । आपैँmले पाएर हुर्काएको छोरालाई ‘अर्काकी स्वास्नी नलैजा’ भनी प्रचण्डले गरेको आग्रहलाई स्वयं उनैका छोरा प्रकाशले टेरेनन् तर सुन्दर भविष्यको आसै आसमा प्रचण्डकै आदेशमा गरिबका छोराछोरी हतियार बोकी मर्न गए । उनीहरूकै बलमा माओवादी पार्टी बन्यो । पुष्पकमल दहाललाई प्रचण्ड भनेर चिनायो । माओवादी र सातदलबीच भारतमा भएको १२ बुँदे सहमति र ६२/६३ सालको जनआन्दोलन सफल भएपछि खुल्ला राजनीतिमा आएको माओवादी पार्टी र त्यसका नेताहरूमा नव–सामन्त बन्ने सोच आयो । भोकानांगा लडाकुले लुटेर ल्याएको अपार सम्पत्ति जोगाउने प्रतिस्पर्धा चल्दै थियो । त्यसैमाथि क्यान्टोनमेन्टमा थुनिराखेका १९ हजार जनमुक्ति सेनाले बुझाएको रकमबाट हौसियर नेताले जनयुद्ध बिर्से, सहिद बिर्से, राष्ट्रियता बिर्से । प्रचण्ड पार्टी अध्यक्ष भएको हुँदा उनीसँग धेरै सम्पत्ति भयो । त्यसैले त छोरा प्रकाशले अर्काकी स्वास्नी लिएर भाग्दासमेत करोडौँ रुपियाँ लिएर गएको समाचार आएका छन् । पढाइ, खुबी केही नभएको केटी र भट्टीको पछि लाग्ने त्यो लफंगाले करोडौँ रुपियाँ कसरी र कहाँबाट जम्मा गरेको होला । के त्यो लुटेर ल्याएको नभई कमाएर जम्मा गरेको धन होला ? के नेताको घरमा पैसा फल्ने रूख हुन्छ ?
गाउँमा २–४ मुरी कोदो बेच्नेलाई सामन्त भनेर मार्न लगाउने माओवादी पार्टीका नेता ‘श्री ३ महाराज’ हुँदासम्म पूर्वलडाकुले चुँसम्म पनि गरेका थिएनन् । आमूल परिवर्तनका लागि लडेका कार्यकर्ताले नेताको गगनचुम्बी महल ठडिनु र अर्बौंको मालिक हुनुलाई परिवर्तन मानेनन् । उनीहरू त परिवर्तनको प्रभाव गाउँगाउँसम्म खोज्दै थिए । विडम्बना नै मान्नुपर्छ जसले शोषण, दमन, उत्पीडन र थिचोमिचोका विरुद्ध महान् गौरवशाली युद्ध लडेको ठानेका थिए, उनै पूर्वलडाकुहरू (जनमुक्ति सेना) आफ्नै नेताबाट शोषित भएको बल्ल थाहा पाए । अनि, पार्टीलाई बुझाएको पैसाको हिसाबकिताब माग्न थाले, जब पार्टीभित्र भ्रष्टाचारको कुरा उठाए तब रातारात महान् नेता प्रचण्डले क्यान्टोनमेन्टमा रहेका पूर्वलडाकुमाथि सैनिक कब्जा गर्न लगाए । सातौँ विस्तारित बैठकमा पनि यो कुरा उठ्यो २१ वर्षसम्म नभएको महाधिवेशन गर्ने भनेर केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजना समिति गठन भयो । भन्दा सशक्त फलामे अनुशासनमा रहेको, सुदृढ संगठन भएको, निष्पक्ष, पारदर्शी र निष्कलंक भनिएको एमाआवादी खोक्रो र आडम्बरयुक्त थियो र छ भन्ने प्रमाणित भएको छ । हिजो आफ्नो आस्थाका केन्द्र बनेका, भविष्य देखेका नेतालाई कुर्सीले हान्नु, राष्ट्रघाती मुर्दावाद भन्दै नारा लगाउनुले यही कुरालाई देखाइरहेको छ । विस्तारित बैठकमा कुर्सी हानाहान र मारामारको अवस्था कुनै सिद्धान्त र नीतिगत कुराका लागि थिएन, त्यो त केवल सत्ता, शक्ति र सम्पत्तिका लागि थियो ।
आमूल परिवर्तनका लागि लडेको भनेका नेताहरू आफ्नै कार्यकर्तालाई ‘मै खाउँm, मै लाउँm, अरू सब मरून् दुर्बलहरू’ भनेजस्तो व्यवहार गर्दै छन् । बाबुरामले आफूलाई भारतले प्रधानमन्त्री बनाएको ठाने, प्रचण्डले विदेशीको इसारामा सुसेली हाल्ने र खुट्टा हल्लाउने काम गर्नेमै गौरवान्वित ठाने । दसौँ हजार सहिदको रगतको कुनै महत्त्व रहेन । मर्ने त मरेर गए तर बाँचेकाहरू जिउँदै मरेतुल्य भएपछि आएका आवाज कम पीडादायी र कारुणिक छैनन् तर के गर्ने नेताको वर्ग फेरिएको छ, एमाओवादीको सक्कली अनुहार उदांगो भएको छ । प्रचण्डले सुबिधा भोग नगर्ने भने पनि एमाओवादीलाई धिक्कार्नुबाहेक बाँकी केही छैन । यस्ता बैठकमा सधैँ गोहीका आँसु झारेर बोल्ने प्रचण्ड यसपटक त्यसैगरी बोले र भने– ‘अब म सुबिधा भोग गर्दिनँ ।’ १० वर्षे युद्ध र दसौँ हजारको बलिदानबाट शिक्षा नपाएका प्रचण्ड कतै अन्तर्राष्ट्रिय न्यायालयमा उभिनुपर्ने डरले त्यो सुबिधा त छाड्दै छैनन् । यही नै अबको खोजीको विषय छ ।
प्रतिक्रिया