पानी अभावले आधा खेत अझै बाँझै

काठमाडौं, ९ साउन । साउनको पहिलो साता बितिसक्दा पनि देशको करिब आधा खेतमा अझै रोपाइँ हुन सकेको छैन । पानीको अभावले मुलुकका कुनै पनि जिल्लाका खेतमा पूर्णरूपमा रोपाइँ हुन नसकेको हो ।

कृषि मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकभरको जम्मा ५४ प्रतिशत खेतमा मात्र रोपाइँ हुन सकेको छ । गत वर्ष यही समयमा देशभरका ८५ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार अधिकांश जिल्लाका आधाभन्दा बढी खेत बाँझै छन् । कृषि मन्त्रालयका प्रवक्ता डा. हरि दाहालका अनुसार धान उत्पादनको ७३ प्रतिशतसम्म ओगट्ने तराई क्षेत्रमा ४४ प्रतिशत मात्र रोपाइँ सकिएको छ । पूर्वीतराई झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा २५, मध्यतराई सर्लाही, चितवन, पर्सा, बारा, रौतहट, महोत्तरी र धनुषामा २०, मध्यतराई कपिलवस्तु, रूपन्देही, नवलपरासीमा ५६, मध्यपश्चिम तराई बाँके, बर्दिया र दाङमा ३१ सुदूरतराई कैलाली, कञ्चनपुरमा ८७ दशमलव ५० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । मन्त्रालयका अनुसार मुलुकभरको १४ लाख ८१ हजार दुई सय ८९ हेक्टर भू–भागमा रोपाइँ हुन्छ । तराईमा ७० र पहाड तथा उच्च पहाडको ३० प्रतिशत भूभागमा रोपाइँ हुन्छ । तराईमा १० लाख ६७ हजार ९ सय र पहाडमा ३ लाख ९५ हजार ४ सय ९२ हेक्टर जमिनमा धान खेती गरिन्छ ।
त्यस्तै, उच्च पहाडी जिल्लामा ५४ र मध्यपहाडी जिल्लामा ६३ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको र बाँकी खेत बाँझै छ । मन्त्रालयका अनुसार सिरहाको ७ प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ भने सप्तरी र सर्लाहीमा १०, सिन्धुली र रौतहटमा १२, पर्सामा र महोत्तरीमा १५, सुनसरी र झापामा ३५, मोरङ ४०, धनकुटा र रामेछापमा २५, झापामा ३५ जमिनमा मात्र रोपाइँ भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी जुम्ला, बाजुरा, दार्चुला, कालिकोट, कैलाली र कास्कीमा रोपाइँ भएको छ । त्यहाँका ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको छ ।
प्रवक्ता दाहालले कुनै पनि जिल्लाका शतप्रतिशत खेतमा रोपाइँ हुन नसकेको बताए । ‘गत वर्ष यस समयमा सबै जमिनमा रोपाइँ भइसकेको थियो,’ दाहालले भने, ‘यही स्थिति रहे यस वर्ष धानबाली उत्पादनमा कमी आउने पक्का छ ।’
यता, मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले मनसुनमा ब्रेक भएका कारण देशभर पर्याप्त पानी पर्न नसकेको बताए । उनले भने, ‘पानी पर्न नसक्दा नेपालका खेतमा समयमै रोपाइँ हुन नसकेको हो ।’ पर्याप्त मात्रामा पानी पर्न नसक्दा रोपाइँ हुन नसकिरहेको अहिलेको अवस्था लम्बिए धान उत्पादनमा कमी आउने धानबालीविद् भोलामानसिंह बस्नेतले बताए । बस्नेतका अनुसार साउनको पहिलो साता बित्न लाग्दासम्मेत पानी नपरेकाले धान उत्पादनमा समस्या आउन सक्छ । साउन १५ भित्र पहाडी भेगमा रोपाइँ नसके धान उत्पादनमा २७ देखि २८ प्रतिशतसम्म घट्छ भने २५ साउनभित्र तराईमा रोपाइँ नसके २५ प्रतिशतले धान उत्पादनमा कमी हुन्छ । विज्ञका अनुसार २२ वटा पहाडी जिल्लामा उत्पादन हुने धानबराबर तराईको एउटै जिल्लामा उत्पादन हुन्छ । ‘साउनसम्मै पानी नपरेर पहाडमा रोपाइँ ढिला भए धानको बाला नझुल्ने र नफल्ने हुन्छ,’ उनले सौर्यसँग भने, ‘यदि यस्तो भयो भने जम्मा उत्पादनको २०/२२ प्रतिशत घट्छ ।’ आर्थिक वर्ष ०६८/६९ मा देशभरको १५ लाख ३१ हजार चार सय ९३ हेक्टरमा ५० लाख ७२ हजार दुई सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया