‘सहकारी सुधारका काम कागजमा सीमित’


नेपाल स्वास्थ्य सेवा सहकारी संस्था मुलुककै ठूलो स्वास्थ्य सहकारी हो । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे सहकारी आन्दोलनलाई ठूलो टेवा पुर्‍याउने व्यक्तिका रूपमा परिचित छन् । संस्था देशकै ठूलो सहकारी हेलिप्याडसहित सहकारी अस्पताल स्थापनाका साथै सहकारी विश्वविद्यालय खोल्ने क्रममा छ । प्रस्ततु छ पाण्डेसाग सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी :

संस्थाबारे केही बताउनु हुन्छ कि ?
०६२ सालबाट २७ जनाको सहभागितामा संस्था दर्ता गरेर हामीले काम सुरु गरेका हौँ । यसै क्रममा ०६३ सालमा ५५ बेडको मनमोहन मेमोरियल अस्पताल सुरु गरी यसको क्षमता बढाई मंसिर महिनादेखि एक सय बेडको सेवा दिंदै आएका छौँ । त्यस्तै, ०६४ बाट नर्सिङ शिक्षा पनि पढाइरहेका छौँ । हामी केही समयपछि मेडिकल कलेज स्थापना गर्ने क्रममा रहेका छौँ । दुई वर्षभित्र अस्पतालको क्षमता विकास गरी नौ सय बेडको बनाउने, मेडिकल कलेज स्थापना गर्ने र धादिङमा सहकारी विश्वविद्यालय सञ्चालन गर्ने सोच रहेको छ । यसरी हेर्दा हामी अहिले ८०/९० करोड ऋणमा अडाई अर्बको काम गर्दै छौँ ।
संस्थामा एक हजार सात सय ५० जना सदस्य रहेका छन् । संस्थाबाट मनमोहन मेमोरियल इस्टिच्युट अफ हेल्थ साइन्सेसमार्फत स्टाफ नर्स, बिएससी नर्सिङ, एचए, ल्याब टेक्निसियनलगायतका विभिन्न प्राविधिक विषय पढाउँदै आएका छाँै ।
यहाँ वित्तीय कारोबार गर्ने सहकारी प्रशस्तै छन्, तर स्वास्थ्यमै किन लाग्नुभयो त ?
बचत तथा ऋणको कारोबार गर्ने सहकारी त घरैपिच्छे खुलेका छन् । नयाँ ढंगबाट सहकारी स्थापना गरौँ भन्ने लाग्यो । सहृदय नेता मनमोहन अधिकारीको सम्झनामा स्वास्थ्य सहकारी स्थापना गर्ने सोच आयो । सोहीअनुरूप स्वास्थ्य सहकारी स्थापना गरेका हौँ । हाल बचत तथा ऋण सहकारी मात्र १२ हजार छन् भने स्वास्थ्य सहकारी ७० मात्रै छन् ।
सहकारीले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान कस्तो छ ?
देशभर स्थापना भएको स्वास्थ्य सहकारीमध्ये ८/१० वटाले मात्र अस्पताल स्थापना गरी सञ्चालन गरेका छन् । केहीले १० देखी एक सय बेडको अस्पताल सञ्चालन गरी सदस्यलाई सेवा दिंदै आएका छन् । अस्पताल सञ्चालन नगरेका सहकारीले औषधि पसल, स्वास्थ्य सुविधा, केही स्वास्थ्य सिविरमार्फत सेवा प्रदान गर्दे आएका छन् ।
स्वास्थ्य सहकारीका समस्या र चुनौती के हुन् जस्तो लाग्छ ?
स्वास्थ्य आफैंमा महँगो क्षेत्र हो । उपचार पनि महँगो हुन्छ । कुनै व्यक्तिले डाक्टरी पढ्न कम्तीमा पनि ४० लाख रुपियाँ लाग्छ । लागत उठाउने कोसिस हुन्छ । त्यसबाट लिने सेवा पनि महँगो पर्ने नै भयो । यस विषयमा राज्यले पनि पूर्णरूपमा सहयोग गर्न सक्दैन । दूरदराजमा यो सेवा पुग्न सकेको छैन । स्रोत र साधन सीमित छन् । टाढाका क्षेत्रमा सहकारीका माध्यमबाट सेवा दिने हो भने सेयर सदस्यबाट लगानी गर्नुपर्ने हुन्छ । यस क्षेत्रमा गरेको लगानी हत्तपत्त फर्कन निकै कठिन छ । यसलाई व्यवस्थित गरेर लैजान नसक्दा, उच्च स्तरको सेवा दिन नसक्दा साधारण क्षेत्रमा गरेको लगानी पनि नउठ्ने हुन्छ । त्यसैले यो क्षेत्रमा सोचविचार सहितको योजनाबद्धता चाहिन्छ ।
दूरदराजमा सहकारीका माध्यमबाट स्वास्थ्य सेवा पुर्‍याउन सम्भव छ त ?
हामी त्यसको प्रयत्नमा छौँ । देशमा दुई सय ४० निवार्चन क्षेत्र छन् । ती क्षेत्रमा एउटा सहकारी बनाएर सुरु गरौँ भने पनि धेरै सम्भव हुन्छ । यसैगरी विस्तारै बढ्दै कमसेकम एउटा लेबलको उपचार गर्न सकिन्छ । सहकारीले आफ्नै सदस्यलाई सेवा दिने भएकाले गाउँका समस्या के हुन् भन्ने पहिचान गरी सोहीअनुरूप सेवा दिन सके राम्रो हुन्छ । त्यसतर्फ पनि हामीले सोच्दै आएका छौँ ।
सहकारी वर्षमा तपाईंको सहकारीको नया काम के हुन सक्छ ?
यो वर्ष हामीले संस्थाबाट तीन सय बेडको मेडिकल कलेज सहितको अस्पताल सञ्चालनमा ल्याउने छौँ । त्यस्तै झापामा एक सय, कञ्चनपुरमा एक सय र लालबन्दीमा एक सय बेडको अस्पताल सञ्चालन गरी सुविधा दिनेमा हामी लागेका छौँ ।
अन्य घोषित कार्यक्रम पनि छन् कि ?
हाम्रो देशमा घोषणा धेरै हुन्छ, काम खासै हुँदैन । पूर्वयोजना नै नगरी अव्यवस्थित खालका घोषणा गर्नुको खास अर्थ पनि रहन्न । कार्यक्रम पूरा गर्न राजनीतिक अस्थिरताले पनि प्रभाव पारेकै हुन्छ । देशका घोषणा कागजमा मात्रै सीमित छन् । सहकारी वर्षबारे सरकारी तबरबाट मनाउने भनिएका घोषित कार्यक्रम अहिलेसम्म पनि कागजमै सीमित भएको अवस्था छ ।
संस्थाका सदस्यले कस्ता खालको सेवा लिएका छन् ?
हाम्रा सेयर सदस्यले अस्पतालबाट अन्य मानिसभन्दा २० प्रतिशत छुट पाउँछन् । हामीले नै स्वास्थ्य क्षेत्रको आठ विषयको पठनपाठन सञ्चालन गर्दै आएका छौँ । सेयर सदस्यका छोराछोरीले यहाँका कुनै विषय पढ्न चाहेमा १० प्रतिशत छुट मासिक शुल्कमा दिने गरेका छाँै । त्यस्तै सबै पैसा एकमुस्ट भुक्तानी गर्नेले १५ प्रतिशत छुट लिन सक्छन् । मेडिकल कलेज खुलेपछि डाक्टर पढ्ने सदस्यका छोराछोरीलाई भर्ना भएकै दिन १० प्रतिशत छुट दिने योजना छ । यो छुट वास्तवमा एक हिसाबले ठूलो पनि हो ।
सहकारीमा अनुगमन आवश्यक छ कि छैन ?
सहकारीमा अनुगमन एकदम जरुरत छ । राम्रो काम गर्ने पनि सहकारी र केही सीमित परिवार मिलेर खोलेका पनि सहकारी । त्यसले गर्दा सहकारीले सहकारीकै बद्नाम गरिरहेको छ । यसलाई व्यवस्थित गर्ने संयन्त्र बन्नु पर्छ । सहकारी अनुगमन गर्ने संयन्त्रलाई सहयोग गर्न संस्थागत तथा आर्थिक रूपले पनि तयार छौँ । देशमा सहकारी ऐन, मापदण्ड पनि रहेका छन् । सहकारीलाई कसरी लैजान पर्छ भन्ने भावनाको कमी रहेको छ । सहकारीबारे नेतृत्व तह र राजनीतिक दलहरूमा पनि आवश्यक सोचको कमी रहेको छ ।
सहकारी क्षेत्रमा लागेकालाई के भन्न हुन्छ ?
अन्तर्राष्ट्रिय सहकारी वर्षमा हिजो नगरेका केही नयाँ काम यस वर्षमा गर्न आग्रह गर्छु । नयाँ काम गर्दा आर्थिक उन्नति हुने खालका गर्नुस् ताकि देशको अर्थन्तत्रमा पनि यसले टेवा पुगोस् । म के भन्छु भने मनैदेखि सहकारी बनेमा मात्र सहकारी आन्दोलनको विकास हुन सक्छ ।

प्रतिक्रिया