संसारका सबैजसो विकसित राष्ट्र, त्यस राष्ट्रका जागृत र उन्नत चेतना भएका राजनेताहरूको कुशल नेतृत्व र योजनाका विविध परिणाम छन् । रोम एकै दिनमा बनेको थिएन र कुनै राष्ट्र पनि एकै दिन वा एकै वर्षमा बन्न सक्दैन । यसका लागि निश्चित समय खर्चिनुपर्छ तर निर्माणको यात्राले भने प्रस्थान गर्नुपर्छ । कुनै एउटा बालकले पाँच केजी सामान बोकेर पाँच मिनेट उभियो भने त्यो उसले काम गरेको ठहर्न सक्छ तर विज्ञानले त्यसलाई काम मान्दैन । विज्ञानमा काम प्रमाणित हुन भारी बाकेर दूरी तय गर्नै पर्छ । हामी नेपालीहरूको नियति पनि भारी बाकेर दूरी तय नगर्ने त्यो बालकको जस्तै छ । राष्ट्र निर्माण र पुन:निर्माणको यात्रा थालनीको उद्घोष भएको झन्डै साढे ६ दशक हुन लागेछ ।
२००७ सालको जनक्रान्तिको सफलतासँग हामीले नयाँ र विकसित नेपालको नूतन यात्रा प्रारम्भ गरेका छौँ तर आज हामी कहाँ पुग्यौँ ? कति दूरी तय गर्यौँ ? आज गम्भीर विश्लेषण गर्नुपर्ने भएको छ । नेपाली समाजमा विद्यमान सदियौँ पुराना द्वन्द्वहरूलाई कति समाधान गर्यौँ । मूलत: नेपालमा चलेको राजनीतिक संघर्षमा विराम लगाउन सक्यौँ सकेनौँ । एउटा सर्वस्वीकृत राजनीतिक प्रणालीको जग बसाल्न सक्यौँ सकेनौँ । अन्य आर्थिक सामाजिक र सांस्कृतिक पक्षमा कति सन्तुलन मिलाउन सक्यौँ । यी सबै विषय हाम्रा अघिल्तिर यक्ष प्रश्न बनेर खडा भएका छन् । साँच्चै भन्ने हो भने हाम्रो यात्रा जहाँको तहीँ छ । जिम्मेवारीको भारी त बोक्यौँ हामीले तर एक पाइला पनि अघि बढ्न सकेनौँ । हामीसँगै जन्मिएका या हुर्किएका दुनियाँका सामाज र सभ्यताहरू कहाँ पुगे ? र हामी कहाँ छौँ ? कतिवटा क्रान्ति भए वा व्यवस्था ढालियो, यसले धेरै ठूलो माने राख्दैन । क्रान्तिहरूको कीर्तिमान मात्रै कायम गर्ने कुरालाई संसारले ठूलो बहादुरी मान्दै मान्दैन । यो निरन्तरताको शृंखला कहिलेबाट अन्त हुने ? कहिलेबाट राष्ट्र निर्माणको वास्तविक यात्राको थालनी हुने ? यही घनघोर पीडा बोकेर बाँच्न अभिशप्त छन्, तीन करोड नेपाली जनता ।
नेपाली जनतालाई आफू बाँच्ने दरिलो आधार चाहिएको छ र आºना सन्ततिहरूका लागि सुनिश्चित भविष्य चाहिएको छ । यसका लागि विश्वासिलो राष्ट्रिय अभिभावकत्व ग्रहण गर्ने राजनेताको खाँचो छ । बिपी कोइरालाले १५ वर्षभित्रमा सबै नेपालीलाई आºनो परिवारसरह बनाउने संकल्प र योजना प्रस्तुत गरेका थिए । तर, यो कार्यान्वयन हुन दिइएन । पृथ्वीनारायण शाहपछिका कुनै पनि राजाहरू जनउत्तरदायी बन्न सकेनन् । आºनो जनताको सुखदु:खको सहयात्री बन्न सकेका भए आज नेपाल राजतन्त्रनिरपेक्ष हुने थिएन । नेपालमा क्रियाशील कुनै पनि राजनीतिक दलहरूले नेपाली जनतालाई केन्द्रविन्दु बनाएर आफूलाई प्रस्तुत गर्न सकिरहेका छैनन् । स्वयं बिपीले स्थापना गर्नु भएको दल नेपाली कांग्रेससमेत अर्कमण्य बन्दै गइरहेको छ । कम्तीमा यो दलले आºना नेताले तर्जुमा गरेर छोडेको कार्यक्रमलाई आत्मसात् मात्र गर्ने हो भने पनि जनताले राहत महसुस गर्न सक्थे होलान् । दुर्भाग्य त्यसो हुन सकिराखेको छैन । जनताको मसिहा बनेका विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरू खासगरी माओवादी दल सम्पूर्ण रूपले जनसमक्ष नांगिएको छ । लोकतन्त्रका विषयमा अनुदार भए पनि आर्थिक, सामाजिक मुद्दामा जनपक्षीय होला भन्ने जनअपेक्षा पूर्णरूपमा तुहिएको छ । र राष्ट्र साँच्चै नै डरलाग्दो अनिष्टको चौबाटोमा खडा भएको छ । कसले पार लगाउला यो संकटबाट राष्ट्रलाई ? आज नेपाली समाज यही चिन्ताले ग्रस्त छ । विभिन्न दलहरूलाई डोर्याइरहेका राजनीतिज्ञहरूको चेतना त जागृत भएन, नयाँ पुस्ताका भरभराउँदा युवाहरूको चेतनासमेत मस्त निद्रामा छ । प्रकारान्तरले मुख्य नेताहरूकै कार्बनकपीजस्तो देखिएको छ । नेपाली समाजका लागि योभन्दा ठूलो विडम्बना अर्को हुन सक्दैन । अकर्मण्य र नालायकहरूका लागि इतिहास निकै क्रूर हुने गर्छ । बेलायतमा १६४९ मा चाल्र्स प्रथमलाई मारेपछि उनको टाउको हातमा लिँदै क्रमबेलले भनेका थिए, ‘यो राष्ट्रको निर्दयी आवश्यकता हो ।’ जनविरोधीहरूको अन्त्य यसरी नै हुन्छ । हुन त समयक्रममा क्रमबेलसमेत जनविरोधी हुन पुगे र उनको नियति पनि चाल्र्स प्रथमकै जस्तो भयो । भारतीय विचारक बिनोबा भावेले भनेकी थिइन्– हामी इतिहासबाट सिक्दैनौँ, त्यसैले इतिहास बारम्बार दोहोरिन्छ । हाम्रो नियति पनि त्यस्तै छ । ०१७ बाट सिकेनौँ र नै ०५९ आयो । फेरि पनि हामीले ०५९ बाट सिकेनौँ, त्यसैले ०६९ भयावह भएर टुंगिन सक्छ । इतिहासबाट सिक्नेहरूले दुनियाँमा निकै ठूलो चमत्कार गरि नै सके । तर, हामी युरोप/अमोरिकाभन्दा कम्तीमा दुई सय वर्ष पछि छौँ र हाम्रै छिमेकीहरूलाई भेट्नसमेत हामीलाई सय वर्ष लाग्न सक्छ । तर, यसका लागि पनि आजैबाट प्रस्थान गर्नुपर्छ । दु:खको कुरा यतिबेला हामी त्यो स्थितिमा हुने छैनौँ । हाम्रो नेतृत्वपंक्ति आपसमा जुध्न व्यस्त छ, राष्ट्रप्रतिको जिम्मेवारीको कुनै हेक्का छैन । र, जसलाई हेक्का छ, उसले राष्ट्रलाई डोहोर्याउन सकेको छैन । आगामी चुनाव र पदको मात्र चिन्ता भएका राजनीतिज्ञहरूको चंगुलमा परेका छौँ हामी । कसरी उठ्न सक्छ देश ? यति नै बेला केही गर्लाजस्तो ठानिएको युवा पुस्ता दलका नेताहरूसामु लम्पसार परेर भावी पदको याचना गरिरहेको छ । ऊ स्वयंलाई थाहा छैन, उसका प्रति समाजले कस्तो धारणा बनाउँदै छ, अझ नयाँ पुस्ता ऊप्रति कति आक्रोशित हुँदै छ ? यसको कुनै चिन्ता छैन उसलाई ।
तसर्थ, राष्ट्र साँच्चै नै संकटमा छ । यो डुब्छ या उत्रन्छ, यसै भन्न सकिन्न तर डुब्ने दिशामा अभिमुख छ । अनिर्वचनीय अर्थात् वर्णनै गर्न नसकिने पीडा भोग्नुपर्नेतर्फ लम्कँदै छ । त्यस्तो नहोस्, जनताको तर्फबाट हामी कामना गर्न सक्छौँ तर काँध हाल्नु पर्ने जिम्मेवारहरू कुम्भकर्णझैँ निद्रामा मग्न छन् । कसले ब्युँझाउने उनीहरूलाई ? यो निकै ठूलो चुनौतीको विषय भएको छ । तसर्थ, पनि बालिग भएका सबै नयाँ पुस्ताका नागरिकहरू जागृत हुनुपर्ने समय आएको छ । देशको अस्तित्व गुम्यो भने आफूले प्राप्त गरेको समृद्धिको कुनै अर्थ हुने छैन । मंगल ग्रहमा पानीको स्रोत त भएको तथ्य पत्ता लगाउने लुजेन्द्र ओझाले पनि आफू नेपाली भएकोमा गर्व गरे, हामी पनि गौरवान्वित भयौँ । यदि नेपाल नरहने हो भने केका नाममा गौरव गर्ने ? राजनीतिज्ञहरूको चालामाला ठीक देखिँदैन । माओवादी दल राष्ट्रको अस्तित्व मेटाउन कृत संकल्पित छ । यो उसका व्यवहारले प्रमाणित त गरिरहेका छन् । यो राष्ट्र कसैको वैचारिक क्रीडास्थल हुन सक्दैन । कुनै राजनीतिक दलको प्रभाव क्षेत्र पनि हुन सक्दैन । हाम्रा पुर्खाले जीवनको मूल्यमा आर्जन गरेको राष्ट्रको अस्तित्व गुम्न दिनुहुँदैन । यसका लागि आ–आºनो क्षेत्रबाट सचेततापूर्वक पहरेदारी गर्नुपर्छ । समृद्ध राष्ट्र र समुन्नत लोकतन्त्र हाम्रो चाहना र आवश्यकता हुँदै हो । यसमाथि खेलबाड गर्ने तत्त्व हाम्रा मुख्य दुस्मन हुन् ।
प्रतिक्रिया