मापसेदेखि चुसेसम्म

सेामबार बिहान साढे दस बजेतिरको कुरो हो । मेरा एक अनन्य मित्र आतंक र उत्साहमिश्रित मुद्रामा हस्याङ्फस्याङ् गर्दै मछेउ आइपुगे ।
‘के भयो ?’ किन आत्तिएको ?’
‘चुसे’ले झन्डै बित्यास पारेको,’ प्रश्न झर्न नपाउँदै केही क्षणअघिको घटनाको बेलिबिस्तार लगाउन उनी लागिपरे ।
भएको के रै’छ भने चोकमा प्रहरीले मच्चाएको चुसे (चुरोट सेवन) आतंक उनले झन्डै भोग्नुपरेछ । उनी आतंकित यस कारण भएका रै’छन् कि उनी चुसेका खुंखार अम्मली हुन्– चेन स्मोकर । उनी उत्साहित यस कारण रै’छन् कि प्रहरी आतंकको शिकार हुनबाट उनी ‘बालबाल’ जोगिएछन् । धँुवा उडिरहको चुराटको ठुटो समाएको एक अधबैँसेलाई घोक्र्याउन प्रहरी झुन्ड अल्मलिएको मौका छोपेर कुलेलम ठोकेर उनले आफूलाई सुरक्षित रूपमा मेरा सामु ल्याइपुर्‍याएका रहेछन् ।
‘धन्न बर्बाद भएन । डन्ठे (पुलिस) ले त उठबस गराउँदो रै’छ,’ गोजीबाट रुमाल झिकेर पसिना पुछ्तै उनले भने र फिस्स हाँस्दै पसिनाले लपक्क भिजेको रुमाल पुन: गोजीमा कोचे ।
म आफूलाई चुरोटको अम्मली ठान्दिनँ । तर, आफन्तजन र ‘सिनियर’ को आँखा छलेर दुई चार सर्काे तान्दा ‘सेटिस्’ हुँदिन भनेको सुन्नुभयो भने नपत्याए हुन्छ † त्यसैले बाबुराम भट्टराईका पुलिसले चोक, गल्ली, बजार र चियापसलदेखि पानपसलसम्म मच्चाएको चुसे आतंक स्वाभाविक रूपमा मेरो चासोको विषय बन्न पुग्यो ।
‘कतिपटक उठबस गराएछन् ?’ मेरो जिज्ञासा थपियो ।
‘कसले गनेर बस्छ ? ठुटो मिल्काएर टाप कसेँ । गराए होलान् बज्याहरूले १५–२० चोटि,’ आफू जोगिएकामा आत्मसन्तुष्टिको सुस्केरा फाल्दै मित्रले भने ।
देशमा ‘मापसे’ को जेहाद छेडेर रियो सम्मेलनमा सहभागी हुन पुगेका हाम्रा डाक्साबले भारतका डाक्साबबाट कस्तो मन्त्रणा लिएछन् कुन्नि ? काठमाडौंमा ओर्लिनासाथ उनले ‘चुसे’ आतंक सिर्जना गरे । दशवर्षे गृहयुद्धको आतंक, बुथ कब्जाको आतंक, सत्ता कब्जाको आतंक आदि हुँदै ‘मापसेदेखि चुसे’ आतंकसम्मको बाबुराम यात्रा देखेर ज्ञानीहरू भन्न थालेका छन्, ‘आखिर सबै आतंकको सार देशलाई अर्कैको कब्जामा पार्नु त रै’छ ।’ भारतका डाक्टरसाबसँग मन्त्रणा लिएपछि ‘चुसे’ आतंक आरम्भ गरेका बाबुरामले ‘पपुलिस्ट’ नीतिको ‘कभर’मा सिंहदीक्षित मन्त्रणालाई व्यवहारमा उतार्न खोजेका छन् । आफूलाई ‘नम्बर वान’ दाबी गर्ने काठमाडौंका राजनीति शास्त्रीबीच यस्तो चर्चा चल्न थालेको सुनिन्छ । यस्तो चर्चा गर्न अधिकांश चुरोटको अम्मली हुनुचाँहि संयोग मात्रै पनि हुन सक्छ ।
बाबुरामले मच्चाएका आतंकको शृंखला हेर्दा उनले आफूलाई ‘सर्वहाराको मसिहा’ भनी गर्दै आएको दाबी कतै मेल खाएको देखिँदैन । हुन त मापसे आतंकले मोटरसाइकल चढ्ने हैसियत बनाउनसमेत नसकेका ‘सर्वहारा’ हरूलाई छोएन । बेलुका ‘एक हाफ’ लोकल ठर्रा स्वाट्ट पारी लरबराउँदै घर पुग्ने सर्वहाराको दैनिकीलाई मापसे आतंकले खलबलाउन सकेन । तर, ट्याक्सी चढ्ने हुती बनाउन नसकी किस्तामा मोटरसाइकल किनेका मध्यमवर्गीय परिवार भने ‘मध्यमवर्गीय जनताको नेता’ (?) का रूपमा सर्वत्र प्रचारित बाबुरामको मापसे आतंकबाट हुनसम्म प्रताडित भए । आफ्नो वर्गप्रति कृतघ्नताको यो कुन हद हो † ट्याक्सी चढेर जाउँm, खल्तीले साथ दिँदैन । खटारा मोटरसाइकलमै हुइकिउँm, पुलिसले ‘हा…’ गर्न लागाउँछ । मध्यमवर्गको यस्तो दीनहीनता देखेर काठमाडौंको परपीडक सम्भ्रान्तवर्ग खुुसीले कति हात उफ्रियो होला † र, उसले कुन हदसम्म पुगेर बाबुराम राजनीतिको तारिफ गर्‍यो होला †
मापसे आतंक मच्चाउँदै गर्दा जेनतेन आफ्नो सर्वहारावादी चरित्र जोगाउन सफल भएका बाबुरामको उत्तरपुँजीवादी छवि चुसे आतंकसम्म आइपुग्दा गाडीले किचिएको मान्छेको आन्द्राभुँडीभैँm छताछुल्ल भएको छ । भारतको पश्चिम बंगालमा कम्युनिस्टलाई पाखा लगाएर आएकी बुर्जुवा नेत्री ममता बनर्जीले खुद्रा व्यवसायमा विदेशी पुँजीनिवेश खुला गर्ने केन्द्र सरकारको निर्णय ‘गरिबमारा’ भएको आरोप लगाउँदै उल्टाइन् । यता नेपालका ‘कम्युनिस्ट’ प्रधानमन्त्रीले भने लहडका भरमा ‘नो स्मोकिङ जोन’ को व्यवस्था नगरी धूमपानलाई प्रतिबन्धित मात्र गरेनन्, चुरोट बिक्रीका भरमा टिकेका पानपसल र नाङ्ले पसललाई ‘पान नम्बर’ अनिवार्य गर्न खोजेर गरिबको हुर्मत लिने प्रयास गरे । ‘आफ्नो वर्ग’ प्रतिको यो कस्तो इमान्दारिता †
संयोगले नै सही, चुसे आतंकबाट मेरा मित्र जोगिए । तर, बीच बाटोमा उठबस गर्नुपर्दा ती अधबैँसेको स्वाभिमान कसरी धुजाधुजा भयो होला ? ‘मानवमुक्ति’का लागि संघर्ष गरेको ढोँग रच्ने बाबुरामको यो कस्तो मध्ययुगीन स्वभाव हो ? नागरिकलाई सार्वजनिक स्थानमा बेइज्जत गर्ने अधिकार पुलिस प्रशासनलाई दिने काम नेपाल सरकारबाहेक विश्वको अर्को कुन सरकारले गर्न सक्छ ?
चुरोटको कस चाखेको केटोले चुसे आतंकको विरोध किन नगरोस्–आदरणीय पाठकहरूले यस्तै सोच्नुभयो होला । तर, भन्न खोजेको के हो भने व्यवस्था र विधि मिलाएर ‘ल इन्फोर्स’ गरियोस् । सार्वजनिक क्षेत्र क–कसलाई भनिन्छन् ? किटान गरियोस् र ठाउँठाउँमा ‘स्मोकिङ जोन’ को बन्दोबस्त मिलाइयोस् । होइन भने, टाट पल्टिएको व्यापारीलाई बैंकले बेस्कन थिच्यो भने ‘गु’ आउला, काट्यो भने रगत आउला, ऋण लिएको पैसा त आउँदैन †
माओवादी नेता बाबुरामको ‘चुसे आतंक’ले उनको संशोधनवादी चरित्र र माओवादी सिद्धान्तलाई भ्रष्ट गराउने उनको चेष्टालाई पनि उजिल्याएको छ । माओवादका प्रणेता माओत्सेतुङ ‘चेन स्मोकर’ थिए । अधिक चुरोट खाने भएकाले उनी लगातार खोकिरहन्थे । नेपाल र चीनबीच सगरमाथाको स्वामित्व छिनोफानो गर्ने विषयमा गम्भीर छलफल हुँदै गर्दा माओ र नेपालका राजा महेन्द्रले लगातार रूपमा चुरोटको सर्को तान्दा धुवाँले बैठक हल धमिलो बनेको कुरा अरबिन्द रिमालले ‘डिल्लीबजारको लप्टनको होटल’ मा उल्लेख गरेका छन् । तीनै ‘चेन स्मोकर’ माओका चेलाले गुरु नभएको मौका छोपेर चुरोटप्रेमीलाई दिनदहाडै दु:ख दिन मिल्छ ? असली क्रान्तिकारीहरूले आफूले आदर्श मानेका व्यक्तिले फलाकेको दर्शनबाट मात्रै होइन, उनीहरूको आचरण र व्यवहारबाट पनि शिक्षा लिनुपर्छ । खोइ त बाबुरामले माओको चुरोटमुखी आचरण र व्यवहारबाट शिक्षा लिन सकेको ?
बाबुरामको ‘मापसे आतंक’पनि माक्र्सवादसम्मत देखिँदैन । चौबीसै घन्टा मेन्सेभिक, बोल्सेभिक, अक्टोबर क्रान्ति र क्रेम्लिन कब्जाको रटान लगाउने कम्युनिस्टहरूका लागि रुस पवित्र भूमि हो, जहाँ लेनिनदेखि स्टालिनजस्ता खुँखार क्रान्तिकारीले एकछत्र राज गरेका थिए । रुसको इतिहास, राजनीतिक, समाज र साहित्य पढ्नेमा कम्युनिस्टहरू सबैभन्दा अगाडि छन् । ‘वाम पढैया’ हरूको हुलमा बाबुराम अग्रपंक्तिमा हुने नै भए तर लेनिनको देशमा उत्पादित भोड्का विश्वप्रसिद्ध छ भन्ने यथार्थलाई बालुवाटारदेखि सिंहदरबारसम्मको उनको यात्राले बिर्साइदिएको हो ?
कार्ल माक्र्स पनि रक्सीका पारखी थिए । सुनिन्छ, बेलायतमा उनले रक्सीको चुस्की लिने ठाउँ अहिले संग्रहालय बनेको छ रे † टाढा किन जाने ? उनकै पार्टीका अध्यक्षले ‘निट’ सोमरस बुँत्याउने प्रतिस्पर्धामा कांग्रेसका शेरबहादुर देउवालाई उछिनेको चर्चा एमालेका नेतावृत्तमा चल्न थालेको पनि धेरै भइसक्यो । माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद र प्रचण्डपथबाट अनुमोदित ‘मापसे’ माथि अंकुश लगाउनु कम्युनिस्ट अभियानबाट च्युत हुनु होइन ? माओवादबाट स्वीकृत ‘चुसे’ लाई नियन्त्रणमा राख्न खोज्नु माओको दर्शन र आचरणको बर्खिलापमा जानु होइन ? संसद्वादमा फसेको भन्दै मोहन वैद्यले बाबुरामलाई संशोधनवादीको आरोप लगाए, भारतलाई नेपालमा खुला आमन्त्रण गरेको भन्दै लेन्डुपपन्थमा लागेको आरोप लगाए । तर, मापसेदेखि चुसे आतंकसम्मको यात्रामा बाबुरामले देखाएको सिद्धान्तहीनताको मिहिन विश्लेषण गरेर वैद्यले बाबुरामलाई ‘गद्दार’ घोषणा किन गरेनन् ? चीनबाट फर्किनासाथ यसप्रति वैद्यको ध्यान जाओस् ।

प्रतिक्रिया