काठमाडौं,५ साउन । फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट हाइवे र ज्यान हाजिर छ चलचित्र रिलिज हुने भएका छन् । यी दुवै चलचित्र अल नेपाल रिलिज हुँदै छन् भने होल्डओभर कायमै राखेको गत हप्ताको चलचित्र मालतीको भट्टी पनि कायमै रहनेछ । हाइवे गत असार १ गते नै रिलिज हुने भनिए पनि पछि विभिन्न कारण देखाउँदै आजको मिति तय गरिएको थियो । यसमा नेपाली समाजको यथार्थ चित्रण रहेको निर्देशक दीपक रौनयारले बताए । भने– ‘विभिन्न पाँच सम्बन्धहरूसँग जोडिएका पात्र बन्दमा परेपछि आउने उतारचढाबवरिपरि चलचित्रको कथा घुमेको छ ।’
यस चलचित्रमा प्राय: रंगमञ्चमा अभिनय गरिरहेका कलाकारको बाहुल्य छ । सौगात मल्ल, दयाहाङ राई, विनय श्रेष्ठ, कर्मा, रवीन्द्र मिश्र, ऋचा शर्मा, भूमिका श्रेष्ठ, आशा मग्राती, सृष्टि घिमिरे र इलम दीक्षित मुख्य भूमिकामा छन् । चलचित्रको कथा निर्देशक रौनियारका साथमा खगेन्द्र मिश्र र केदार शर्माले लेखेका हुन् ।
अर्को चलचित्र ज्यान हाजिर छ बद्री अधिकारीले निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित रहेको चलचित्रमा किशोरकिशोरीलाई सामाजिक जिम्मेवारीको बोध गराएर असल नागरिक बन्न प्रेरित गर्ने कथावस्तु समेटिएको निर्देशक अधिकारीले बताए । निर्देशक अधिकारी र सुगम श्रेष्ठको निर्माण रहेको चलचित्रमा सुगम पोखरेल, सत्यस्वरूप आचार्य र सूर्य दयालुको संगीत, रामशंकर प्रधानको छायांकन, राजेश केसीको नृत्यनिर्देशन र सानुकुमार महर्जनको द्वन्द्वनिर्देशन छ । नायिका बेनिसा हमालबाहेक यसमा प्राय: कलाकार नयाँ अनुहार छन् । प्रसन्न गोपाली, विकास चापागाईं, राज लामा, सुशील श्रेष्ठ, काजल खड्का र जुनु श्रेष्ठको अभिनय छ । नायक राजेश हमाल पनि विशेष भूमिकामा देखिएका छन् ।
प्रतिक्रिया