रौतहट र बारा क्वार्टरफाइनलमा

रौतहट,५  साउन । अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार छैठौँ दिन भएका खेलमा आआफ्ना खेल जित्दै रौतहट र बारा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा रौतहटले ताप्लेजुङलाई ० का विरुद्ध ४ गोलले पराजित गर्‍यो भने बाराले कन्चनपुरलाई २–० गोलले पराजित गरेको हो ।
मध्यान्तर अघिसम्म निक प्रतिस्पर्धात्मक रहेको खेलमा रौतहटले गोल गर्ने धेरै अवसर गुमाएको थियो । खेलको मध्यान्तरपछि भने रौतहटकी रेणुका नगरकोटीले ५१आँै मिनेटमा पहिलो गोल गरी अग्रता दिलाएकी हुन् । खेलको ६०आँै मिनेटमा रौतहटका लागि सपना लामाले गोल अन्तर बढाएकी थिइन् । मध्यान्तरपछि रौतहटले ताप्लेजुङलाई निकै
दबाबमा राखेको थियो । खेलको ७१आँै मिनेटमा रेणुका नगरकोटीको सुन्दर पासबाट सपना लामाले गोल गरी रौतहटको जित निश्चित पारेकी थिइन् भने खेलको ७५औँ मिनेटमा रोसनी रखालले थप एक गोल गरेपछि रौतहटले ताप्लेजुङलाई ० का विरुद्ध ४ गोलले पराजित गरेको थियो । घरेलु टिमको खेल हेर्न चन्द्रनिगाहपुर खेल मैदानमा पाँच हजार भन्दा बढी दर्शक उपस्थित थिए । घरेलु दर्शकको साथ पाएको रौतहटको मनोबल उच्च देखिएको थियो भने ताप्लेजुङले एक अनुशासित विपक्षीका रूपमा कडा चुनौती पेस गरेको थियो । पाहुना टोलीको निकै नै आकर्षक गोललाई जाली चुम्नबाट रोक्दै रौतहटकी शोभा कुस्वरले उत्कृष्ट खेल देखाएकी थिइन् । जितसँगै रौतहट क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा रौतहटको भेट शुक्रबार खेलिने खेलको विजेतासँग साउन ७ गते हुनेछ । रौतहटको चन्द्रनिगाहपुर खेलमा मैदानमा शुक्रबारको खेल कैलाली र मोरङबीच हुनेछ ।
यसैगरी वीरगन्जबाट प्राप्त समाचारअनुसार बाराको सिमरा रंगशालामा बिहीबारै भएको प्रिक्वार्टर फाइनलमा कञ्चनपुरलाई हराउँदै घरेलु टोली बाराले अन्तिम आठमा स्थान पक्का गरेको हो । बाराका लागि सपना बस्नेत र  सपना गोलेले समान एक–एक गोल गरेका हुन् ।
खेलको २५आँै मिनेटमा पाएको कर्नर किकमा लक्ष्मी थापाले प्रहार गरेको बल हेडमार्फत विपक्षीको जाली चुमाएर बस्नेतले टिमलाई एक शून्यको अग्रता दिलाएकी थिइन् । ३८औँ मिनेटमा लक्ष्मीकै क्रस पासमा गोलेले बाराका लागि थप अर्को गोल गरेकी हुन् । मध्यान्तर अघिसम्म दुई शून्यले पछि परेको कन्चनपुर मध्यान्तरपछि पनि कुनै गोल गर्न नसकेपछि बाराले खेल दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।
कन्चपुरका स्ट्राइकरले पटकपटक गोल गर्ने अवसर पाए पनि बाराकी गोल रक्षक आशा सिटौलाले विफल तुल्याइदिएकी थिइन् । कप्तान सीमा चौधरीले पटकपटक पाएको अवसरको सदुपयोग गर्न नसक्दा कञ्चनपुर पराजय व्यहोर्न बाध्य भएको हो । डी बक्सभित्र गोलपोस्ट नजिकै पाएको दुईपटकको अवसरलाई पनि सीमाले सदुपयोग गर्न सकिनन् । त्यस्तै संगीता चौधरीले मध्यान्तरपछि पाएको कर्नर प्रहारसमेत गोल पोस्टबाहिर गएपछि कञ्चनपुरको  दुर्भाग्य सावित भएको थियो ।
खेलको सुरुदेखि नै कञ्चनपुरलाई दबाबमा राखेको बाराले मध्यान्तरपछि गरेका सबै प्रयास भने गोल रक्षक खिमा चौधरीले विफल तुल्याएकी थिइन् । मध्यान्तरपछि बाराका तर्फबाट सपना बस्नेत, लक्ष्मी थापा र सपना गोलेले गरेका आधा दर्जन प्रहार रोकेर कञ्चनपुरकी गोल रक्षक खिमाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । प्रतियोगिताअन्तर्गत सिमरामा शुक्रबार हुने प्रिक्वार्टर फाइनलमा विभागीय नेपाल पुलिस क्लब र धनकुटाबीच भिडन्त हुनेछ । बाराले ती दुईबीचको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया