काठमाडौं, ५ साउन । लोडसेडिङ समस्याले उद्योगधन्दाले चरम संकट भोगिरहेका बेला नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ नहुने गरी डेडिकेटेड फिडर दिनका लागि प्रक्रिया सुरु गरेको छ ।
आगामी हिउँददेखि मोबाइल जेनेरेसन ल्याएर उद्योगधन्दालाई लोडसेडिङ नहुने गरी डेडिकेटेड फिडर दिन प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले केही दिनअघि उद्योगीलाई डेडिकेटेड फिडर दिन छुट्टै मूल्य लाग्ने र सो मूल्य निर्धारणका विद्युत् महसुल निर्धारण आयोगलाई पत्र लेखेको थियो । बिहीबार मात्र आयोगले विस्तृत प्रस्ताव ल्याउन प्राधिकरणलाई पत्र लेखेको छ । ‘लोडसेडिङको चरम समस्या भोगेकाले धेरै उद्योगी/व्यवसायीले लोडसेडिङ नहुने गरी डेडिकेटेड फिडरका लागि अनुरोध गरेकामा हामीले प्राधिकरणलाई यसबारे उद्योग व्यवसायीहरूसँग समेत छलफल गरेर विस्तृत प्रस्ताव ल्याउन भनेका छौँ,’ आयोगका अध्यक्ष गणेश सुब्बाले भने, ‘कति वर्षलाई दिने हो, कति मूल्यमा दिनु उपयुक्त हुन्छ, कसरी दिने, दिनका लागि आवश्यक पूर्वाधार केके हुन्छन् लगायतका थुप्रै कुरा समेटेर विस्तृत प्रस्ताव ल्याउन भनिएको छ । आगामी हिउँददेखि डेडिकेटेड फिडर दिन सकिने अवस्था छ ।’ उनका अनुसार उद्योगी/व्यवसायीसमेत डेडिकेटेड फिडरमार्फत विद्युत् लिनका लागि सकारात्मक देखिएकाले मूल्य निर्धारणलगायतका प्रक्रिया सुरु गरिएको छ । विस्तृत प्रस्तावपछि मात्र दररेट निर्धारण गर्ने आयोगले जनाएको छ ।
लोडसेडिङका कारण उद्योगधन्दाको अवस्था नाजुक हुँदै गएको बताएपछि यसबारे प्रक्रिया अघि बढाइएको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले जानकारी दिए । ‘लागतअनुसार बिजुलीको भाउ दिएमा हामी उद्योग/व्यवसायीलाई डेडिकेटेड फिडरमार्फत उद्योगमा लोडसेडिङ नहुने गरी दिन तयार छौँ,’ उनले थपे, ‘अन्य बिजुलीभन्दा डेडिकेटेडबाट बिजुली लिँदा महँगो पर्नेछ ।’ प्राधिकरणले मोबाइल जेनेरेटर ल्याएर आवश्यकताअनुसार उद्योगीलाई फिडर दिने लक्ष्य राखेको छ ।
डेडिकेटेडमार्फत बिजुली दिने प्राधिकरणको तयारीलाई सकारात्मक मानेका उद्योगी व्यवसायी भने सरकारले सो सुविधा दिनेमा विश्वस्थ देखिएका छैनन् । ‘सरकारले ल्याए राम्रो हो तर पत्यार कम छ, १० वर्षमा १० हजार मेगावाट विद्युत् ल्याउँछु भनेको ६ वर्ष भइसक्यो, ल्याउनसकेको छैन, कसरी पत्याउने ?’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भने । उनका अनुसार, लोडसेडिङको चरम समस्याका कारणले आधा उद्योग बन्द भइसकेका छन् भने आधा उद्योग ऊर्जा संकटकै कारणले छिमेकी देशतिर उद्योग सार्ने अवस्थामा पुगेका छन् ।
डेडिकेटेड फिडरमार्फत बिजुली दिएमा उद्योगी/व्यवसायीले छुट्टै लाइनमार्फत बिजुली पाउनेछन् । उद्योगधन्दाको अफ आवरमा मात्र लोडसेडिङ गर्ने तथा पिक आवर समयमभित्र बिजुली दिने गरी डेडिकेटेड फिडर दिनका लागि प्रक्रिया सुरु गरिएको हो । अहिले उद्योगी/व्यवसायीले करिब दुई सय मेगावाट विद्युत् खरिद गरेकामा एक सय मेगावाटसम्म फिडर मात्र दिनसकेमा पनि उद्योग व्यवसायीलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।
लोडसेडिङ बढ्न थालेपछि प्राधिकरणले सरकारका संवेदनशील क्षेत्र, केही सरकारी कार्यालय, अस्पताललगायतमा लोडसेडिङ नहुने गरी डेडिकेटेड फिडर दिइरहेको छ तर स्पष्ट कार्यविधि नहुँदा करोडाँै घाटा बेहोर्नुपर्ने अवस्था छ । अब स्पष्ट कार्यविधि बनाएर मात्र डेडिकेटेड फिडर दिनका लागि प्राधिकरण अघि बढेको छ । ‘उद्योग व्यवसायीलाई डेडिकेटेड फिडर दिँदा प्राधिकरणले स्पष्ट कार्यविधि बनाएर प्राधिकरणलाई फाइदा हुने गरी दिनुपर्छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘पहिलाको जस्तो जथाभावी र सोर्सफोर्सका आधारमा दिन थाले विवाद निम्तिन सक्छ ।’
प्रतिक्रिया