काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले राखेपको ९३औँ बोर्ड बैठकले दुई हजार पाँच सयदेखि तीन हजार शिक्षक उत्पादन गर्ने भएको र त्यसका लागि योग्य व्यक्तिलाई छनोट गरी उनीहरूलाई दुई महिना प्रशिक्षण दिई विद्यालयमा प्रशिक्षणयोग्य बनाउने उद्देश्य रहेको दाबी गरेका छन् । उनले कुनै पार्टीले यसो गरेर खेलकुदलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउने प्रयास गरिएको प्रमाणित भएमा आफू पनि त्यसका विरुद्धमा उत्रने बताए । बुधबार एकल पत्रकार सम्मेलन अयोजना गर्दै उपाध्यक्ष तिम्सिनाले नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेल संघहरूमा भइरहेको अनियमितता आफ्नो नेतृत्वमा छानबिन गर्ने बताए ।
एकल पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा तिम्सिनाले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको गुहार लिँदै एकेडेमीले पनि नयाँ खेल प्रशिक्षक तयार पार्ने नीति लिएको र राखेपको यो नीति सोही एकेडेमीअनुकूल भएकाले आफू पनि एकेडेमीसित जोडिएको हुँदा त्यस नीतिको कार्यान्वयनमा लाग्ने उल्लेख गरेका छन् । खेलकुदलाई नजिकबाट हेर्नेहरू माओवादी कार्यकर्ता युवराज लामा नेतृत्वको राखेप र एमालेका केपी ओलीको तथास्तु रहेको एकेडेमीका कार्यक्रमबीच यस किसिमको समानता कसरी मिल्न गएको हो ? भनेर प्रश्न गर्छन् ।
स्मरणीय छ, नेकपा (एमाले) को कान्छो भातृसंगठन नेपाल खेलकुद महासंघले राखेपको उक्त नीति एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संरक्षकत्वमा बसेको राखेपको बृहत् बैठकले नेपाल ओलम्पिक कमिटी विघटन गर्न सिफारिस गर्ने भनी गरेको निर्णयप्रति केही दिनअघि मात्र अन्तरक्रिया गर्दै त्यसप्रति घोर आपत्ति जनाएको थियो ।
प्रतिक्रिया