सुकीलाई अमेरिकी सम्मान

वासिंगटन : म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई संयुक्त राज्य अमेरिकाले उच्च सम्मान प्रदान गर्ने भएको छ । आगामी सेप्टेम्बरमा उनलाई अमेरिकी सरकारले सो सम्मान प्रदान गर्ने निर्णय गरेको अमेरिकी विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।
करिब दुई दशकपछि पुरस्कार लिने बहानामा सुकी सेप्टेम्बरमा पहिलोपटक अमेरिका जाने भएकी छन् । जीवनको लामो समय प्रजातन्त्र र मानवअधिकारको रक्षामा अर्पण गरेको भन्दै कदर स्वरूप अमेरिकी कंग्रेसले उनलाई सम्मान गर्न लागेको हो ।
यसैवर्षको अप्रिल महिनायता म्यानमार सरकारले आरम्भ गरेको राजनीतिक सुधारको कडीका रूपमा नेत्री सुकी नजरबन्दबाट रिहा भएकी थिइन् । त्यसपछि भएको उपनिर्वाचनमा उनको दल सहभागी भएको थियो । दलका तर्फबाट निर्वाचनमा सहभागी भएकी सुकी विजयी भएपछि उनले संसद्मा प्रमुख विपक्षी दलकी नेत्रीका रूपमा पदभार सम्हालिसकेकी छन् । अमेरिकी कंग्रेसले उनलाई ‘कंग्रेसनल गोल्ड मेडल’ दिन लागेको छ ।
सन् १९९० मा म्यानमारको संसदीय निर्वाचनमा उनको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । तर, बहुमत प्राप्त दललाई सरकार गठन गर्न नदिई म्यानमारको सैनिक सरकारले उनलाई जेल हालेको थियो । त्यसपछि करिब दुई दशकसम्म उनलाई जेल र नजरबन्दमा राखिएको थियो ।
जेलबाट मुक्त भएलगत्तै ६७ वर्षीया नेत्री सुकीलाई त्यहाँको सरकारले विदेश भ्रमणको अनुमति दिएको थियो । गत मे महिनामा थाइल्यान्ड पुगी उनले विदेश भ्रमण आरम्भ गरेकी थिइन् । गत महिना उनी युरोप भ्रमणमा निस्किएकी थिइन् । भ्रमणका क्रममा उनलाई बेलायत र फ्रान्सले उच्च सम्मान प्रदान गरेका थिए ।
गत डिसेम्बरमा म्यानमार पुगेकी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सुकीलाई सो पुरस्कार लिन तथा अमेरिका भ्रमण गर्न निमन्त्रणा दिएकी थिइन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता प्याट्रिक भेन्ट्रेकले आगामी सेप्टेम्बरमा सुकीलाई अमेरिका भ्रमणको निमन्त्रणा
दिइएको तर तिथि भने नतोकिएको बताएका छन् । (एएफपी)

प्रतिक्रिया