गाउँमा एक छाक खान मुस्किल भएका भूमिहीन, साह्रै थोरै जमिन भएको भूमिको मालिक, कारखानाको मजदुर, भारी बोकी गुजारा चलाउने भरियाहरू, कृषिका श्रमिकहरू, साना तहका कर्मचारीहरू, सानासाना व्यापारीहरू, गाउँ र सहर अनि सहर बन्ने रूपरेखाभित्र बाँचेको अर्धसहरका मानिसलाई आर्थिक पारदर्शिताको चासो छैन । अड्डा अदालतमा काम गराउँदा घुस दिन पर्छ नत्र काम हुँदैन भन्ने संस्कृति बोकेका ती अदनाहरूलाई भ्रष्टाचारविरुद्धको आन्दोलनमा चासो छैन । राजनीतिको व्यापक छलफल बहस त्यो समुदायमा पुग्दै पुग्दैन । लगभग यी सबै विषयवस्तुदेखि अलगअलग बनेको छ त्यो समुदाय । समानताको नारा, शोषणविरुद्धको नारामा कहिलेकाहीँ राजनीतिले उनीहरूमाथि घोडा चढ्दै आफ्नो अनुकूल राजनीतिको दुनो सोझ्याएको यथार्थप्रति पनि विज्ञ छैन । १००–५० दिन्छौँ भन्दै जुलुसमा ल्याउने र सहर पसेपछि बिलखबन्दमा पर्ने गरेको पनि त्यही समुदाय हो । उसलाई सत्याग्रह थाहा छैन तर २०५२ सालपछि बन्दुकको क्रान्तिको भयावहबीच ऊ जीवन्त इतिहास भई बाँचेको छ ।
देशको राष्ट्रिय पुँजी र साधनहरूमाथि ९० प्रतिशतभन्दा बेसी चलखेल र उपयोग गर्ने वर्ग पुँजीपति, सामन्त, माथिल्ला कर्मचारी, राजनीतिक नेतृत्व र तथाकथित विभिन्न खेमामा बाँडिएका बुद्धिजीवीहरू नै हुन् । जबजब ती संसाधनमा आफ्नो पहुँच हुँदैन तब तीनै खन्चुवाहरू पारदर्शिताको कोहोलो मच्चाउँछन् । पारदर्शिता आज जनताले बुझ्ने र जान्ने भाषामा होइन, त्यो वर्ग जसले संसाधनमाथि आधिपत्य जमाएको छ– या जमाउनका लागि प्रतिपक्षमा बसेको छ तिनैले मात्र बुझेका छन् । पारदर्शिता, समावेशीको नारा शक्ति र सत्ता प्राप्तिका लागि प्रयोग भएको छ । कानुन पनि त्यही वर्गले बनाउने र कानुन बन्न र बनाउन जनताको नाममा राजनीति गर्नेले भोलिको आफ्नो त्यही वर्ग हो भनी त्यसैको शुभचिन्तक या लाभको सिद्धान्तमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गरिराखेका हुन्छन् ।
ठूला मिडियाहरू पनि पुँजीपति वर्गकै भएको हुँदा विज्ञापनको लोभदेखि सत्ताको चकाचौध दुनियाँको भोगकर्ता मिडिया मालिकहरू भएकै कारणले व्यापारिक वर्गकै, पुँजीपति वर्गकै हितमा घुमाउरो पारामा लागेको जीवित सत्य हामीसामु छ । यिनीहरूको न्युज पनि उदार अर्थतन्त्र, पश्चिमी चमक, सामन्त वर्ग, उच्च कर्मचारी, राजनेता, व्यापारी, धर्मगुरु र फिल्मीजगत् मात्र रहेको छ । त्यो बौद्धिक विलास पनि राष्ट्रिय संसाधनमाथि कब्जा जमाएको वर्गले गर्ने हो र भोलि संसाधनमाथि कब्जा जमाउँछु भन्ने दलका झन्डा प्रत्यक्ष, अप्रत्यक्ष बोकेको तथाकथित बौद्धिक वर्ग पनि एक हुन् । त्यसैले पारदर्शिताको नाममा, राजनीतिको नाममा समावेशीको नाममा, उदार अर्थतन्त्रको नाममा वर्तमान जेजति नीति नियम बनेका छन् त्यही हुनेखाने वर्गको हित रक्षाका लागि तयार गरिएका मोडलहरू हुन् । कागजमा लेखेर मात्र केही हुँदैन मुलुकी ऐनले छुवाछूत, जातपातसम्बन्धी धारणा ल्याएकै थियो । विभिन्न कालखण्डमा भूमिसुधार ऐनले भूमिसुधारको धारणा ल्याएकै थियो । फजुल खर्च बिहेबारी गर्न पाइँदैन भनेर सामाजिक ऐन आएकै थियो । ००७ सालका क्रान्ति, ०२८ सालका झापा विद्रोह र ०५२ सालका जनयुद्धका नायकहरूले पनि घोषणापत्रमा, आफ्ना मुखपत्रमा, बोली, वचनमा, भाषणमा गरिब जनताको उत्थानको रट लगाएकै थिए ।
भारतका राजकुमार राहुल गान्धीको सिको गर्दै महिनामा, हप्तामा एकचोटि गाउँमा बिताउँछु भन्ने नेतागणहरू गाउँमै जन्मेका होइनन् र ? गाउँबाटै राजनीति गरेका होइन र ? फेरि किन नाटक ? म जनताको हमदर्द छु भन्ने मनोविज्ञान जनतामा छर्दै अकण्टक नेता हुन पाउने लालसाबाहेक त्यसमा अर्को कुनै अर्थ लुकेको छैन । यो जति चर्चा भयो ईष्र्या, शंकावश होइन, हामीले भोगेको यथार्थलाई पस्केको मात्र हो । पाठ सिक्ने हो भने भारतको अन्ना हजारेको आन्दोलन सहर केन्द्रित भयो, गाउँ केन्द्रीय हुन सकेन र उनी सहरी नायक मात्र बने । उनको पछाडिको टिम सहरिया नै थियो । त्यो आन्दोलन भारतको गाउँगाउँ पसेको भए त्यसले एउटा अर्थ राख्थ्यो । हिजो राजनीति गर्दाको गाउँको सेल्टरमा नियमित सम्पर्क र जीवित सम्बन्ध कुनै पनि कालखण्डमा तथाकथित नेतागण, सामाजिक अगुवाहरूले राख्न सकेनन् किनकि उनीहरूको राजनीति अर्को वर्गमा रूपान्तरित भइसकेको थियो । आजको पहिचान र पारदर्शिताको आन्दोलन सुकिला, मुकिला र टाठाबाठाको आफ्नो स्वार्थको आन्दोलन हो । नत्र एउटा मन्त्री हुँदा बेठीक ठानिएको अर्को मन्त्री आउँदा राजनीतिले दिने ब्युरोक्रयट्सलाई स्वच्छताको, इमानदारीको पगरी भिराउने पनि त्यही वर्ग हो । हुँदा खाने वर्गको हितका लागि नेतृत्वमा पारदर्शिता, पहिचान, ऐन नियम कानुन र सामाजिक व्यवस्था भएमा मात्र त्यो वर्गकै हित हुन्छ । अन्यथा, यही नेतृत्वको यही व्यवहारले कसैको हित हँुदैन र गर्न पनि सक्दैन ।
प्रतिक्रिया