झरीले रोकेन यसपालि


काठमाडौं, ३१ असार । वर्षातको मौसम छ यतिखेर । दिनहुँजसो झरी परिरहेको छ । सकेसम्म वर्षातको मौसममा छायांकन गर्नुनपरोस् भन्ने ठान्छन् चलचित्रकर्मीहरू । वर्षातका दृश्यबाहेक आउटडोर दृश्य खिच्नुपर्ने निर्मातालाई शत्रुबराबर हुन्छ झरी । वर्षातकै कारण काम रोकिँदा क्यामेरा चार्जलगायत अन्य खर्च पनि बढ्ने भएपछि निर्माताको टाउको दुख्नु स्वाभाविकै हो । सबैभन्दा धेरै झरी पर्ने पोखरामा सुटिङ भइरहेको चलचित्र हनिमुनले भने अहिलेसम्म वर्षाका कारण काम रोक्नुपरेको रहेनछ । ‘वर्षातको मौसम भए पनि हामीले मिलाएर काम गरेका छौँ, त्यसैले वर्षातकै कारण काम अघि बढेन भन्नुपरेको छैन’, निर्माता धु्रवविक्रम ओलीले भने । छायांकन सुरु गरेको २२ दिनको अवधिसम्म कुनै अवरोध झेल्नु नपरेकामा मक्ख छन् ओली । भने, ‘अब केही दिन पनि यस्तै भइदिए सहज तरिकाले छायांकन पूरा हुनेछ ।’
हनिमुनमा विनीता घिमिरे, समबी विश्वकर्मा, सुमित्रा श्रेष्ठ, नरेश विकलगायतको मुख्य भूमिका छ भने लक्ष्मण सुनारको निर्देशन, राहुल रायको छायांकन, ऋतेश ताम्राकारको नृत्य, सम्राट थापाको द्वन्द्व छ ।
त्यसो त निर्देशक विजय केरुङ पनि आफूलाई वर्षातले अवरोध नपुर्‍याएकामा खुसी छन् । उनी चलचित्र कटेरोको २२ दिनसम्म चितवनको सौराहामा छायांकन गरेर शनिबार मात्र काठमाडौं फर्किएका हुन् । भन्छन्– ‘छायांकन सुरु गरेको यति लामो अवधिमा कुनै दिन पनि रोक्नुपरेन ।’ सौराहामा पानी नै नपरेको भने होइन । पानी पर्दाका बेला इनडोर अनि नपर्दा आउटडोर छायांकन गर्ने तारतम्मे मिलाएकाले कुनै बाधा झेल्नुनपरेको उनले सुनाए । चलचित्र छायांकनको समयमा पनि नपरेको भने होइन । पानी परेको समय इन्डोर छायांकन र नपरेको समय आउट डोर छायांकन गरेकाले पनि चलचित्र छायांकनमा बाधा नपुगेका उनी बताउँछन् ।कटेरोमा सुमन सिंह, ऋचा सिंह ठकुरी, मुकेस आचार्यको मुख्य भूमिका छ । गोपाल एकचेनको निर्माण रहेको चलचित्रमा सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व र कमल राईको नृत्य निर्देशन रहेको छ ।
छायांकनमा रहेको चलचित्र लफडाले भने वर्षातका कारण केही समस्या भोग्नुपरेछ । तर, पूरै चलचित्रको सेड्युल सार्नुपर्ने अवस्था भने नआएको निर्देशक किशोर चौधरीले बताए । ‘पानीका कारण एक–दुई घन्टा कुनै–कुनै दिन रोक्नुपर्‍यो, तर पूरै सार्नु भने परेको छैन’, उनले भने । लफडामा झरना थापा, रागिनी खड्गी, प्रमोद खड्का, दीपेन्द्र श्रेष्ठ, नीराजन प्रधान, सुनिल थापा, सुनिलदत्त पाण्डेले अभिनय गरेका छन् । नारायण खतिवडा र अशोक श्रेष्ठको निर्माण रहेको चलचित्रमा एक केटीले तीन केटालाई प्रेममा फसाएर अलमल्लमा पार्ने कथावस्तु रहेको छ । चलचित्रको छायांकन राजु केसी, द्वन्द्व राजेन्द्र खड्गी, नृत्य सुरेश चौधरीको छ भने संगीत शिल्प खतिवडाले
दिएका छन् ।
शनिबार मात्र इन्डक्ल्याप गरेको चलचित्र ब्ल्याकनाइटले पनि आफूलाई वर्षाले असर नपारेको बतायो । ‘कहिले कहीँ छायांकनको बेला पानी पनि पथ्र्याे, केहीबेर पर्खिएर सुटिङ गथ्र्यौं’, निर्देशक मधुसूदन भट्टराईले भने । सुटिङै रोक्नु नपरे पनि फाइट र केही दौडिने दृश्यको छायांकनमा चाहिँ कठिनाइ आएको उनले सुनाए । हिराज बाबु गोर्खालीले निर्माण गरेको चलचित्रमा सुरज सिलवाल, मोनिका दाहाल,  निरस रिसाल, सुरेश सिलवाल, रिकी लामा, अनुपा कर्की, अप्सरा घिमिरेलगायत कलाकार छन् । युवा–युवतीबीचको मायाप्रेम र मित्रतालाई विषयवस्तु बनाइएको चलचित्रमा प्रदीप श्रेष्ठको नृत्य, शम्भु सापकोटाको छायांकन, चन्द्र पन्तको द्वन्द्व रहेको छ ।
सिंगापुरबाट छायांकन सुरु गरेका चलचित्र प्रमिसका निर्देशक सुरज सुब्बा पनि आफूलाई वर्षाले असर नगरेको सुनाउँछन् । ‘सिंगापुरमा पनि कहिलेकाहीँ पानी पथ्र्यो तर मैले बाधा भोग्नुपरेन’, सुब्बाले भने । बढीजसो छायांकन उतै सकाएर आएका उनी बाँकी सुटिङ काठमाडौंमै गर्ने तयारीमा छन् । तर, काठमाडौंमा दिनहुँको वर्षा देखेपछि भने अबचाहिँ केही अप्ठ्यारो पर्ला कि भन्ने अनुमान उनले गरेका छन् । प्रमिसमा केकी अधिकारी, रमेशचन्द्र राई, नर लिम्बूको मुख्य भूमिका छ । टंक लिम्बूको निर्माण, संजय लामाको छायांकन, गोविन्द राईको नृत्य र महेश खड्काको संगीत छ ।
चलचित्र सो सिम्पलका निर्माता केशव भट्टराईले पनि यसपालि वर्षातलाई गाली गर्नु परेन रे † शिव रेग्मी निर्देशित चलचित्रको बुधबारबाट छायांकन सकेर बसेका निर्माता भट्टराई पानीका कारण चलचित्र रोक्नुनपरेको सुनाउँछन् । ‘यसपालि मनसुन अलि ढिला सुरु भएकाले होला, हामी फुत्कियौँ’, उनले भने ।  निर्देशक रेग्मीले यसै चलचित्रमार्फत छोरी भावनालाई नायिकाका रूपमा डेब्यु गराउँदै छन् । सो सिम्पलमा प्रमोद भारद्वाज, गोविन्द कृष्णा, राहुल प्रजापति, विद्या काफ्ले, एलिना श्रेष्ठले पनि अभिनय गरेका छन् । दीपक बज्राचार्यको संगीत तथा हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा राजवल्लभ कोइराला र श्वेता भट्टराई विशेष भूमिकामा छन् ।

प्रतिक्रिया