कलाकार संघको विशेष साधारणसभा

काठमाडौं : नेपाल चलचित्र कलाकार संघको विशेष साधारणसभा प्रज्ञा–भवन कमलादीमा शनिबार सम्पन्न भएको छ । संघको विधान संशोधनका लागि आयोजना गरिएको साधारणसभामा अभिनेता तथा निर्देशक निर शाहले साधारणसभाले संघलाई अगाडि लैजान सक्ने कार्यसमिति छान्न सक्नुपर्ने बताए । अभिनेत्री मिथिला शर्माले कलाकारहरू एकजुट भएर अगाडि बढ्नुपर्ने थलोमा पछिल्लो पुस्ताका केही कलाकारले उपस्थिति नजनाएकामा गुनासो गरिन् । यही कारणले चलचित्र क्षेत्र अहिलेसम्म उद्योगमा परिणत हुन नसकेको उनले बताइन् । त्यस्तै द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले जुनसुकै विधाका कलाकर्मी भए पनि मिलेर गए मात्र चलचित्र क्षेत्र अगाडि बढ्ने धारणा राखे । अभिनेत्री वसुन्धरा भुसालले कलाकारहरू एकजुट हुन नसकेकामा दु:ख व्यक्त गरिन् । साधारणसभाले संघको विधानमा रहेका त्रुटिलाई थपघट गर्ने जानकारी गराइयो । संघमा ६ सयभन्दा बढी सदस्य छन् ।
कार्यक्रममा निर्देशक समाजका अध्यक्ष विमल पौडेल, तुलसी घिमिरे, रमेश बूढाथोकी, संगीतकार शम्भुजित बास्कोटा, कलाकार दिपाश्री निरौला, कविता आले, सन्तोष पन्त, निर्मल शर्मा, दीपकराज गिरी, श्रीकृष्ण श्रेष्ठ, आकाश अधिकारी, अभिनेत्री करिस्मा मानन्धरलगायत कलाकर्मीको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया