‘क’ वर्गको कारोबार ७२ प्रतिशत


काठमाडौं, ३१असार । गत साता ‘क’ वर्गका कम्पनीको मात्र २२ करोड ९३ लाख रुपियाँ कारोबार भएको छ । कुल एक सय १२ कम्पनीको पाँच हजार तीन सय २८ कारोबारबाट ३१ करोड ७६ लाख रुपियाँ बराबरको आठ लाख ९७ हजार नौ सय ३० कित्ता सेयर कारोबार भएकामा ‘क’ वर्गको कम्पनीको हिस्सा गत साता ७२ दशमलव ७२ प्रतिशत रह्यो । ‘क’ वर्गमा सूचीकृत कम्पनीबाहेकका कम्पनीको विश्वनीयतामा र्‍हास आएकाले कारोबार रकममा समेत कमी आएको हो ।
अघिल्लो साता एक सय १४ कम्पनीको पाँच हजार एक सय ७६ कारोबारबाट ३० करोड ५१ लाख २६ हजार रुपियाँ बराबरका १० लाख ९३ हजार दुई सय १३ कित्ता सेयर खरिदबिक्री भएको थियो । अघिल्लो हप्ताको तुलनामा गत साता करिब ४ प्रतिशतले कारोबार रकममा कमी आएको छ । गत साता सेयर बजारमापक नेप्से परिसूचकमा पनि पाँच दशमलव ७५ अंकले वृद्धि भई अन्तिम दिन तीन सय ८३ दशमलव ४८ विन्दुमा पुगेको छ । समूहगत रूपमा हेर्दा होटल र वीत्त समूहबाहेक सबै अन्य समूहगत परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी जलविद्युत् समूह परिसूचकमा २४ दशमलव १२ अंकले वृद्धि भएको हो ।
कारोबार रकमका आधारमा गत साता एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । यस बैंकका सात करोड ५४ लाख रुपियाँ कारोबार भयो भने उत्कृष्ट पाँचमा पर्न सफल अन्य कम्पनीमा भने चिलिमे हाइड्रोपावर, बैंक अफ काठमाडौं, नेपाल दूरसञ्चार कम्पनी र किस्ट बैंक रहेका छन् । गत साता चिलिमे हाइड्रो पावरको पाँच करोड ४८ लाख, बैंक अफ काठमाडौंको दुई करोड ४० लाख, नेपाल दूरसञ्चारको एक करोड २२ लाख र किस्ट बैंकको एक करोड १८ लाख रुपियाँ कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयरका आधारमा नेसनल हाइड्रोपावरको सबैभन्दा बढी एक लाख ५१ हजार पाँच सय कित्ता सेयरको कारोबार भयो भने सबैभन्दा बढी चार सय सातपटक चिलिमे हाइड्रो पावरको कारोबार भयो ।
गत साता नेपाल स्टक एक्सचेन्जमा समिट माइक्रा फाइनान्स डेभलपमेन्ट बंैकको दुई लाख ५० हजार कित्ता साधारण सेयर र इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको पाँच लाख २८ हजार पाँच सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया