बल प्रयोग गरेर राजमार्ग सुचारु

काभ्रे, ३१असार । शव राखेर सडक अवरुद्ध गरेको ११ घन्टापछि सशस्त्र प्रहरीले आन्दोलनकारीलाई बल प्रयोग गरेर हटाउँदै अरनिको राजमार्ग सुचारु गरेको छ ।
ना २ ख ५८९२ नम्बरको बसले ठक्कर दिँदा शनिबार बिहान बनेपा–११ बुडोलबाट मर्निङवाक निस्केका शिक्षा कार्यालयका स्रोतव्यक्ति डेगराज भट्टराईको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग बन्द गरिएको थियो । दुर्घटनामै घाइते अर्का स्रोतव्यक्ति नवराज तिमल्सिनाको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको राति अबेरसम्म होस खुल्न सकेको छैन ।
उचित क्षतिपूर्ति र दोषीलाई कारबाही माग गर्दै मृतकका आफन्तले शव राखेर ११ घन्टा राजमार्ग अवरुद्ध गरेपछि सशस्त्र प्रहरीले बल प्रयोग गरेको हो । त्यसो त शनिबार बिहानै मृतकका आफन्तले बस जलाउन खोजेपछि भएको झडपमा प्रहरीले सात राउन्ड अश्रुसेल प्रहार गरेको थियो । मृतकका आफन्त, यातायात व्यवसायी, प्रशासनबीच वार्ता भए पनि निष्कर्षमा नपुगेपछि सडकमा शव राखेर प्रदर्शन जारी रहेको थियो ।
११ घन्टापछि सशस्त्र र नेपाल प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई लखेट्दै राजमार्ग सुचारु गरेको हो । प्रहरी घरघर पसेर कुटपिटमा उत्रिएपछि ५० भन्दा बढी घाइते भएका छन् । साँझ अबेरसम्म प्रहरीले स्थानीयलाई कुटपिट गरेको थियो ।
पीडितका आफन्त र शिक्षकसँग सम्बन्धित संघसंगठनका प्रतिनिधिले शनिबार विज्ञप्ति निकाल्दै उचित क्षतिपूर्ति, मृतककी पत्नीलाई रोजगारी, छोराछोरीलाई नि:शुल्क उच्च शिक्षा, घाइतेको उपचारको माग गरेका छन् । प्रशासन र बस व्यवसायी समितिले मागको सुनुवाइ नगरेको भन्दै उनीहरूले आइतबार आमहडतालको घोषणा गरेका छन् । प्रतिकारमा उत्रिएका स्थानीयले प्रहार गरेको ढुंगाले केही प्रहरीसमेत घाइते भएका छन् । शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमल्सिनाले वार्ता विफल भएकोले आन्दोलन जारी रहेको बताए । सिडिओ रुद्रनाथ बस्यालले पीडितका मागको बारेमा आइतबार वार्ता हुने जानकारी दिए ।
पीडितले उचित क्षतिपूर्तिका नाममा २० लाख रुपियाँ माग गरेकाले वार्ता नमिलेको व्यवसायीले बताएका छन् । पीडितले बस जलाउन पेट्रोल नदिएको भन्दै नजिकै रहेको पम्पमा समेत तोडफोडको प्रयास गरेका थिए । बसको आगो निभाउन गएको बनेपा नगरपालिकाको ढल सफा गर्ने मिनीट्रक पनि स्थानीयले तोडफोड गरेका थिए ।

प्रतिक्रिया