मालतीको भट्टी, तँ त साह्रै सप्रिस् नि बद्री र लक

काठमाडौं, २९ असार । पछिल्ला केही महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकेका छैनन् । लगानी उठाउनुपर्ने चुनौती त छँदै छ, त्यसमाथि निर्माताहरूले चलचित्र चलाउन होडबाजी गर्ने गरेका छन् । त्यसै कारण एकैचोटि दुई वा त्यसभन्दा बढी चलचित्र सार्वजनिक प्रदर्शनमा आउन थालेका छन् ।

यस साता पनि तीन चलचित्र प्रदर्शन हुने भएका छन् । आज शुक्रबारबाट मालतीको भट्टी, तँ त साह्रै सप्रिस् नि बद्री र लकले दर्शक बोलाउने भएका हुन् ।
मालतीको भट्टी गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । लकको निर्देशन ऋषि न्यौपानेले र तँ त साह्रै सप्रिस् नि बद्रीका निर्देशक शोभित बस्नेत हुन् ।
तँ त साह्रै सप्रिस् नि बद्री सत्य घटनामा आधारित रहेको यसका निर्माता जयकिसन बस्नेत बताउँछन् । ‘यसमा सबै जनजाति फुटेर हैन, जुटेर मात्र देश निर्माण गर्न सकिन्छ भन्नेजस्ता सन्देश प्रवाह गर्न खोजिएको छ,’ उनले भने । यो चलचित्र केही समय सेन्सरको झमेलामा पनि फसेको थियो । सेन्सरले युनिभर्सल सर्टिफिकेट नदिएको झोकमा सार्वजनिक कार्यक्रममा ‘अब ब्लुफिल्म बनाउँछु’ भनेर अभिव्यक्ति दिएका कारण जयकिसन आलोचनामा परेका थिए । देशभरका ४५ स्टेसनबाट एकैसाथ प्रदर्शन हुने चलचित्र एक्सन र कमेडी बेसमा रहको निर्माणपक्षले जनायो । जयकिसन, रेजिना उप्रेती, सुशील क्षत्री, सुनील थापा, सम्राट सापकोटा, दिनेश शर्मा, उमेश खड्का, शोभित बस्नेतले अभिनय गरेका छन् । यसमा मनोज राजभण्डारीको संगीत, एनबी महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायांकन, शिव विकको नृत्य छ । चलचित्रमा भएको सशक्त कमेडीले चलचित्रलाई सफलता दिलाउने आशा निर्माता जयकिसनले गरेका छन् ।
मालतीको भट्टी निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदयको प्रस्तुति हो । व्यावसायिक चलचित्रमा आवश्यक हास्य, द्वन्द्वलगायत सम्पूर्ण मसला राखिएको यो चलचित्र फमुर्ला शैलीमा रहेको निर्माणपक्षले जानकारी गरायो । रेखा थापा, जीवन लुइँटेल, नन्दिता केसी, सुनील थापा, आयुष केसी, आरपी भट्टराई, उत्तम केसी, सिपी पौडेल, लक्ष्मी गिरीलगायत कलाकारले अभिनय गरेका छन् । नारायणप्रसाद काबिल कार्यकारी निर्माता रहेको चलचित्रमा गोपाल पाण्डे र गंगा पाण्डेको पनि लगानी छ । कालीपं्रसाद बाँस्कोटाले संगीत, रेनेसा राईले नृत्य र सञ्जय लामाले छायांकन सम्हालेका छन् । देशभरका ५५ सिनेमा भवन पाएको यो चलचित्र राजधानीका मल्टिप्लेक्स हलमा लाग्दै छ । यौन विषयका चलचित्रको आलोचना बढिरहेका बेला आफूले फरक विषयवस्तुमा मूलधार समातेकाले चलचित्र सफल हुने आशा रहेको उदयले बताए । आज प्रदर्शन हुने अर्को चलचित्र हो– लक । वितरक हरि बरालले निर्माण गरेको यो चलचित्र उपत्यकाबाहिर मात्र प्रदर्शन हुँदै छ । त्रिकोणात्मक प्रेमकथा बोकेको लकले युवायुवतीबीचको प्रेमलाई गहिरिएर प्रस्तुत गर्न खोजेको निर्माणपक्षले बतायो । बेनिसा हमाल, सम्झना प्याकुरेल, किशोर खतिवडा, दिनेश शर्मा, शूरवीर पण्डित मुख्य भूमिकामा छन् । आँखा झिमिक्क मालसामान गायब बोलको आइटम गीतका कारण यो चलचित्र प्रदर्शनपूर्व नै चर्चामा थियो । चेतन सापकोटाको संगीत, प्रदीप श्रेष्ठ र बब्बु थापाको नृत्य, गणेश श्रेष्ठको छायांकन रहेको चलचित्र काठमाडौं उपत्यकामा चाहिँ साउन पाँच गतेबाट भित्रिने निर्देशक ऋषि न्यौपानेले जानकारी गराए ।

प्रतिक्रिया