पैसा फिर्ता पाउने आशामा परिदृश्यका निक्षेपकर्ता

काठमाडौं, २८ असार । परिदृश्य बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ता हिनहुँजसो महानगरीय प्रहरी परिसर हनुमानढोका धाउने गरेका छन् । अध्यक्ष रामबहादुर बस्नेतले निक्षेपकर्ताको रकम हिनामिना गरेपछि बिचल्लीमा परेका निक्षेपकर्ता सहयोगका लागि हनुमान ढोका धाउने गरेका हुन् ।

संस्थाका ६५ जना सदस्यले १३ असारमा उजुरी दिएका भए पनि हालसम्म उनलाई पक्रन सकिएको छैन । अध्यक्ष बस्नेतले एकलौटी करिब तीन करोड रकम लिई फरार भएको पीडित निक्षेपकर्ता बालकृष्ण माझीले बताए । २५ वैशाखमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा निक्षेपकर्ताले निवेदन दिएको र २६ गते कार्यालयले प्रहरीसमक्ष सञ्चालकलाई पत्राउ गर्न निर्देशन दिएको थियो ।
सोहीअनुरूप अध्यक्ष बस्नेतलाई कालीमाटी प्रहरीले पक्राउ गरी एक लाखभन्दा कम निक्षेप हुनेलाई ३५ दिन र लाख रुपियाँ बढी हुनेलाई ४५ दिनभित्र फिर्ता गर्ने सर्त भएको पीडित बालकृष्ण माझीले बताए । उनले पैसा नतिरेका खण्डमा साक्षी बसेकी उनकी बहिनी तुलसा बस्नेत प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । तर, सो सर्तअनुसार हुन नसकेपछि हनुमान ढोकामा उजुरी दिइएको भए पनि उनलाई पक्राउ गर्न नसकेको माझीले बताए । बस्नेतलाई खोजिरहेको प्रहरीले जनाएको छ ।
‘विभिन्न प्रलोभन देखाएर निक्षेप गराइएको थियो,’ माझीले भने, ‘सबै निक्षेपकर्ता चिन्तित छौँ ।’ माझीको संस्थामा चार लाख ६५ हजार निक्षेप रहेको बताए । उनका अनुसार अध्यक्ष बस्नेत निक्षेप संकलन गरी कर्जा लगानी नगरी आफ्नो व्यवसाय संचालन गरेको बताउँछन् । झन्डै दुई सयभन्दा बढी निक्षेपकर्ताको सो संस्थामा करिब तीन करोड निक्षेप रहेको बुझिएको छ । संस्थाका सञ्चालक समितिका सदस्य करिब तीन महिनादेखि सम्पर्कमा नभएको पीडितहरूको गुनासो छ ।
डिभिजन सहकारी कार्यालय काठमाडौंमा ०६४/०६५ दर्ता भएको यस संस्थाबाट हालसम्म वर्षिक प्रगति विवरण नआएको र आर्थिक वर्ष ०६७।०६८ को साधारण सभासमेत नगरेको, वार्षिक लेखापरीक्षण नगरेको, मासिक विवरण नबुझाएको जानकारी आएको डिभिजन सहकारी कार्यलयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । डिभिजन सहकारी कार्यालयमा उजुरी आएका आधारमा पक्राउ गर्न महानगरीय प्रहरी परिसर हनुमान ढोकालाई पत्र पठाएको शर्माले बताए । संस्थाका सञ्चालकहरूमा उपाध्यक्ष केदार राणा, सचिव कृष्ण बस्नेत, कोषाध्यक्ष मनोहर बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरूमा क्रमश: सुरेन्द्रमान प्रधान, सुरेन्द्र कार्की, विनोद काजी श्रेष्ठ र प्रेम केसी रहेका छन् ।
दर्ता खारेजी
झापा : झापामा रहेका आधादर्जन सहकारी संस्थाको जिल्ला डिभिजन सहकारी कार्यालयले दर्ता खारेजी गरेको छ ।
सहकारी नियम उल्लंघन गरी दुई वर्ष अघिदेखि संस्थाको साधारणसभाको प्रतिवेदन नबुझाएका, लेखापरीक्षण नगराएका, उद्देश्यबमोजिम काम नगरेका सहकारीको दर्ता खारेजी गरेको जिल्ला सहकारी डिभिजन कार्यालय झापाले बताएको छ ।
झापा पृथ्वीनगरको साना किसान चिया उत्पादक सहकारी, गौरादहको बिहानी कृषि सहकारी, दुहागढी कृषि सहकारी संस्था, चारपानेको सप्तरंगी महिला सहकारी संस्था, चारपानेकै एकीकृत विकास बहुउद्देश्यीय सहकारी संस्था र पृथ्वीनगरको नवकिरण कृषि सहकारी संस्थाको दर्ता खारेजी गरेको हो । सहकारीको प्रावधानअनुसार नचल्ने अन्य सहकारीको पनि खारेजी प्रक्रिया अघि बढाएको कार्यालयका प्रमुख नेत्रप्रसाद घिमिरले बताए ।

प्रतिक्रिया