लगानी फलदायी बनाउने गौतमको योजना

काठमाडौं, २७ असार । वित्तीय क्षेत्रमा लामो अनुभव सँगालिसकेका ऋषिराम गौतम ऊर्जाशील र सकारात्मक सोच भएको व्यक्तित्वको नाम हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतबाट एमबिए गरी वित्तीय जिम्मेवारीका लागि सक्षम शैक्षिक योग्यता कमाएका उनले लामो समय राष्ट्र बैंकमा रहेर आफ्नो व्यावसायिक क्षमता तिखारे । वित्तीय क्षेत्रका समस्या, चुनौती र अप्ठयारालाई नजिकबाट नियाले अनि तिनको निराकरणका उपायमा पनि आफ्नै किसिमले जोडघटाउ गरिरहे । यो लामो अनुभवले दिलाएको क्षमतालाई अहिलेचाहिँ उनी नागरिक लगानी कोषमा खर्चिइरहेका छन्, कार्यकारी निर्देशकको जिम्मेवारीमा । साढे तीन वर्षअघि खुला प्रतिस्पर्धामार्फत छाँटिएर उनले आफूलाई यो पदका लागि योग्य साबित गरिदिएका हुन् ।

कोषको बचत बढेर अहिले करिब ३० अर्ब पुगेको तथ्यांक छ । यो उनकै कार्यकालको देन हो । कोषको लगानीको दायरा फराकिलो हुँदै छ । निक्षेप राख्ने र त्यसको ब्याज मात्रै लिएर बस्ने वर्षौंदेखिको न्यून लाभकारी प्रवृत्ति परिवर्तन गरेका छन् गौतमले । मुलुकको आर्थिक विकासलाई योगदान पुग्ने गरी दीर्घकालीन पुँजी निर्माणका आयोजनामा लगानी प्रवाह गराएका छन् ।
बंैक तथा वित्तीय संस्थाभित्र मुद्दती निक्षेपमा केन्द्रित लगानीलाई सरकारी प्राथामिकताका पूर्वाधार विकास आयोजनातर्फ केन्द्रित गर्नमा महत्त्वपूर्ण भूमिका खेले उनले । माथिल्लो तामाकोसीजस्ता आयोजनामा गरिएको सेयर तथा ऋण लगानी उनैको भूमिकाले सम्भव बनाएको हो । सर्वसाधारणलाई बचतका लागि प्रोत्साहन गरी लगानीको अवसर बढाउनु र पुँजी बजारको विकासमा गतिशीलता ल्याई मुलुकको आर्थिक विकासलाई सघाउनु कोष स्थापनाको उद्देश्य हो । कोषको यो उद्देश्य र आफ्नो जिम्मेवारीलाई गहनतम दृष्टिले नियालिरहेछन् गौतम । कोषले साना तथा मझौला स्तरका सहभागीको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्दै आएको छ । सार्वजनिक संस्थान र अन्य संघ/संस्थालाई आफ्नो दीर्घकालीन दायित्व सुरुमै कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी साथै अन्य क्षेत्रमा सामाजिक सुरक्षा प्रदान गर्न पेन्सन तथा उत्पादन योजना लागू गर्ने कार्यमा कोष दत्तचित्त छ ।
पब्लिक लिमिटेड कम्पनीका लागि पुँजी संकलनार्थ सार्वजनिक सेयर निष्कासन तथा बिक्री, पुँजी बजारमा संस्थागत लगानीकर्ताको आधार तयार पार्न दीर्घकालीन लगानीयोग्य कोषको व्यवस्थापन, ऋणपत्र जारी गर्नेलगायत कार्य सुचारु छन् । प्रतिफलमुखी र प्रविधियुक्त कार्यक्रममार्फत कोषलाई प्रभावकारी बनाउने यात्रामा गौतमको जिम्मेवारी सक्षम मानिन्छ । जोखिम र प्रतिफलका आधारमा उच्च प्रतिफल दिने गरी लगानी केन्द्रित गर्ने, संगठनात्मक स्वरूपलाई आवश्यकताअनुसार संशोधन गरी समयानुकूल बनाउने, सूचनाप्रणालीको सशक्तता बढाउने र भौतिक पूर्वाधार निर्माण–विकासतर्फ उनले महत्त्वपूर्ण काम गरेका छन् ।
आफ्नो कार्यालयमा मुलुकको आर्थिक अवस्था नियाल्दै गर्दा अधुरै रहेका थुप्रै आर्थिक लक्ष्य र पहाडजसरी उभिएर रहेका कति समस्याले बेलाबखत झस्काउँछन् । र, दुख्छन् उनी । उनी देख्छन्– ‘आर्थिक असमानता र बेरोजगारी, राजनीतिक अस्थिरता, आर्थिक विभेद, आर्थिक विकासका कार्यक्रमले गति लिन नसक्नु अहिले राष्ट्रिय समस्या बनेका छन् ।’ त्यसैले लगानी कोषमार्फत आफूले सकेजति मुलुकको आर्थिक विकासलाई सघाउने योजनाहरू सोचिरहन्छन् उनी । हाल कोषले कर्मचारी बचतवृद्धि अवकास कोष, लगानीकर्ता हिसाब योजना, उपदान कोष, नागरिक एकांक योजना, निजामती कर्मचारी बिमा, सामुदायिक विद्यालय शिक्षकहरूको जीवन बिमा कोषजस्ता सामाजिक सुरक्षणकारी आयोजना, ट्रस्टी र पुँजी बजार सेवा सञ्चालन गरिरहेको छ । बचत कार्यक्रमबाट संकलित रकमलाई उत्पादनमूलक लगानीका रूपमा सफलतापूर्वक व्यवस्थापन गर्ने गौतमको चाहना छ ।
निक्षेप राख्ने र ब्याज असुल्ने मात्र प्रवृत्तिबाट कोषले मुलुकलाई पर्याप्त योगदान पुर्‍याउन नसक्ने देखिएकाले दीर्घकालीन पुँजी निर्माणका आयोजनामा लगानी बढाइएको उनी बताउँछन् । ‘यस्ता आयोजनामा अझै लगानी थप्नुपर्ने देखिन्छ, यसका लागि सरकारी सहयोगको पनि उत्तिकै खाँचो छ,’ उनले भने । तब ती आयोजनाले दीर्घकालीन प्रतिफल दिनेछन्, आमनागरिकको जीवनस्तरमै परिवर्तन आउनेछ, मुलुकले आर्थिक विकासले गतिलो छलाङ मार्नेछ भन्ने विश्वास राख्छन् गौतम ।
विशेषगरी जलविद्युत्, पर्यटनलगायत अन्य प्रतिफलमुखी आयोजनातर्फ कोष केन्द्रित छ । कृषिप्रधान मुलुक भएकाले कृषि क्षेत्रमा आमूल परिवर्तन गराउने परियोजनमा लगानीको गृहकार्य पनि गराइरहेछन् गौतम । निजीक्षेत्रका वाणिज्य बैंकहरूसँगको सहवित्तीयकरणमा लगानी गर्नसके ठूला आयोजनामार्फत पुँजी निर्माणलाई गति दिलाउन सकिने बताउँछन् । विगतमा सहवित्तीयकरण सरकारी बैंकहरूबाट बढी भएको छ । त्यस्तो लगानीमा राजनीतिक हस्तक्षेप देखिन्छ । तर, अब त्यस्तो अवस्था नरहेको उनको बुझाइ छ । ‘अब निजी क्षेत्रका वाणिज्य बैंकले पनि आयोजनाबारे स्वतन्त्र रूपमा विस्तृत अध्ययन गर्नसक्ने क्षमता राख्छन् । लगानी गर्न उपयुक्त छ/छैन, प्रतिफलमुखी हुन्छ/हुँदैन त्यो हेरेर लगानीको निर्णय लिन सक्छन् । त्यसैले उनीहरूसँगको सहवित्तीयकरण थप प्रभावकारी हुन सक्छ,’ उनी भन्छन् । मुलुकको आवश्यकताअनुसार कार्यक्रम पहिचान गरी लगानी सञ्चालन गर्नतिर कोषलाई अग्रसर गराएको सुनाउँछन् उनी । ‘यसका लागि सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नसमेटिएका संघ, संस्था र व्यक्तिलाई पनि समेट्नेगरी अघि बढ्ने बाटो कोष निर्माण गर्दै छ ।’, कार्यकारी निर्देशक गौतमले भने, ‘निजी क्षेत्र, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा तथा अन्य सामाजिक क्षेत्रलाई समेटेर काम गर्ने रणनीति हामी बनाउँदै छौँ, किनकि लगानीलाई विकेन्द्रीकरणतर्फ लैजानु दीर्घकालीन प्रतिफलको आधार तय गर्नु हो ।’

प्रतिक्रिया