बरामद सुपारी लिलाम गर्ने तयारी

धनगढी, २७ असार । एक साताअघि कैलालीको खैलाड–४ कुडीबाट सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सुपारी भन्सार कार्यालय कैलालीले लिलाम बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।

भन्सार कार्यालयले सुपारीको आवश्यक कागजातसहित सात दिनभित्र हकदाबी गर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिभित्र आवश्यक कागजातसहित सुपारीको हकदाबी गर्न नआए लिलाम बढाबढमा बिक्री गरिने कैलाली भन्सार कार्यालयका प्रमुख राजस्व अधिकृत कमलबहादुर राजलवटले बताए ।
उनले हालसम्म बरामद गरिएको सुपारीको कोही पनि हकदाबी गर्न नआएको र सड्ने वस्तु भएकाले तत्काल लिलाम बिक्रीका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए । सशस्त्र प्रहरीले लुकाइछिपाई राखेको अवस्थामा सुपारी बरामद गरेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाइएको थियो । सशस्त्रले सुपारी बरामद गरे पनि त्यसमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
सुपारी कहाँबाट कसले ल्याएर त्यहाँ राखेको हो भन्नेबारे हालसम्म थाहा हुन नसकेको भन्सार अधिकृत राजलवटले बताए । उनले अनुसन्धान भइरहेकाले अहिले केही भन्न सकिने अवस्था नरहेको पनि बताए । सशस्त्र प्रहरीले बरामद गरेको सो सुपारी एक हजार पाँच सय बोरा अर्थात् करिब ९० हजार किलोग्राम रहेको छ ।
विशेष सुराकीका आधारमा सशस्त्रको टोलीले बन्द अवस्थामा रहेको तेलको मिल र गोदाममा लुकाएर राखेका अवस्थामा सो सुपारी बरामद गरिएको थियो । बरामद गरिएको सो सुपारीको मूल्य ५४ लाख रुपियाँ रहेको भन्सारले जनाएको छ । पूर्वाञ्चलको नाका हुँदै भारततिर अवैध रूपमा तस्करी हुने सुपारी त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेपछि धमाधम पक्राउ हुन थालेपछि तस्करहरूले कैलालीको नाकाबाट भारत चोरीपैठारी गर्नका लागि ल्याइएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया