ओझेलमा एरेन्जर

‘सिन्का सिन्का जोडेर, परेवीले गुण लायो’ भनेझैँ एउटा गीत बन्न स्वर, शब्द, संगीत, वाद्यवादन भएर मात्र हुँदैन । त्यसलाई चाहिन्छ उचित एरेन्जिङ । एरेन्जर त्यस्तो ज्यामी हो, जसले सिर्जना गरिएको शब्द, भरिएको संगीत, दिइन लागेको स्वर अनि बजाइएको वाद्यवादनलाई सुहाउँदो संयोजन दिएर कर्णप्रिय बनाइदिन्छ । विडम्बना, यिनै लुकेका सर्जकहरू संगीतकर्मको दुनियाँमा सदियौँदेखि गुमनाम हुँदै आएका छन् ।

आजको सांगीतिक दुनियाँमा अरूकै शब्द, संगीत, बाजागाजा र एरेन्जिङमा स्वर दिएर हिँड्ने गायक/गायिकाले समेत सर्जकको हैसियत पाउनुपर्ने दाबी गरिरहेका बेला एरेन्जिङ गर्नेहरू भने पारिश्रमिकमै चित्त बुझाएर बस्न बाध्य छन् । आफूले गरेको एरेन्जमा साधना सरगम, उदितनारायण झा, दीपा झालगायतले गीत गाइसकेको बताउने आरबी म्युजिकका एरेन्जर चन्दु गोर्खाली । तर, बजारमा आºनो खासै पहिचान नभएकामा खिन्नता पोख्छन् । २०३५ सालमा दमकमा जन्मिएका गोर्खाली पुर्वेली गीत र फिल्मको म्युजिक एरेन्जिङमा युवा पुस्ताका चलेका एरेन्जर हुन् ।
उनी रहरले मात्रै यो पेसामा प्रवेश गरेका होइनन् । सानैदेखि संगीतप्रतिको चाहनालाई पूरा गर्न उनी भारतको बम्बै हान्निए । त्यहाँ वरिष्ठ संगीतसाधक ठाकुरा हजार हजार सिंहसँग झन्डै चार वर्ष संगीत र एरेन्जिङको ज्ञान लिए । ‘झन्डै दुई हजार गीत र एक दर्जन फिल्ममा संगीत एरेन्ज गरे हुँला,’ गोर्खालीले भने, ‘खासै पहिचान बन्न सकेन, अहिले आएर एरेन्जरको पनि नाम उल्लेख गर्ने चलन थोरै देखिन थालेको छ ।’ जीवनका सात वर्ष श्रद्धा रेकर्डिङ, तीन वर्ष अन्नपूर्ण रेकर्डिङ र हाल आरबी म्युजिकमा कार्यरत उनले चर्चित गीत लै लैमा कान्छी…, चुङवा दोभान, धड्कनभित्र, सपना टुट्यो, निन्द्रा नि छुट्योजस्ता अवार्डेड गीतको मात्र होइन, आमाको काख, सोल्जर, तिमी मात्र तिमीलगायतका फिल्मको म्युजिक एरेन्ज गरिसकेका छन् । उनको भनाइ छ, ‘हामीले पारिश्रमिकमै चित्त बुझायौँ तर सिर्जनामा हाम्रो पनि पसिना नै बगेको हुन्छ ।’
अहिलेका कतिपय एरेन्जरहरूले एरेन्जिङको ‘ब्याकरण’ बिगारेकामा एरेन्जर रूपक गुरुङ दु:खी हुन्छन् । उनी आºनो नाम नआए पनि चिन्नेका नजरमा आºनो सिर्जना बाँचिरहने आशाले यो क्षेत्रमा होमिएका हुन् । ‘धन कमाउनु मात्रै महानता कहाँ हो र ?’ भन्न रुचाउने युवा एरेन्जर गुरूङ ‘काम एउटाले गर्ने नाम अर्कैको देखिने,’ प्रवृत्तिदेखि निक्कै दिक्दार पनि थिए कुनै बेला । उनले भने, ‘मैले पनि काम सिक्ने सिलसिलामा चियासमेत बोकेको छु ।’ आज उनको अवस्था त्यो छैन । मर्यादा, रावणजस्ता फिल्ममा समेत एरेन्जिङ गरिसकेका उनले अञ्जु पन्तले गाएको पलपलमा तिम्रो याद आउँछ, रीमा गुरुङको आज फेरि दिलको घाउ, राजन इशानको आज फेरि त्यही झरीको रातलगायत सयौँ गीतको म्युजिक एरेन्ज गरिसकेका छन् । ‘जहाँ पुग्नुपर्ने थियो त्यहाँ पुग्न नसक्नुको कारण नाम नदिने प्रवृत्तिले होला’ भन्न रुचाउने गुरुङ ‘कतिपय फिल्मका गीतमा दुई तीनजना एरेन्जरले एरेन्जिङ गरेको हुने र नाम नदिँदा कमसल एरेन्जरले राम्रो एरेन्जिङ पनि मेरै हो’ भनिदिँदा ठगी हुने गरेको अनुभव सुनाउँछन् ।
२०३४ सालमा जन्मिएर भारतको झारखण्डको विनवाभावे युनिभर्सिटीबाट स्नातक गरेका गुरुङ एरेन्जिङलाई गीतको शृंगार बताउँछन्, यो अलिकति पनि खुस्किए ‘लाज’ देखिन्छ भन्छन् । उनले थारू, मैथली, भोजपुरीलगायत हाल बनिरहेको फुलस्टप
र वर्षात् फिल्ममा ब्याकराउन्ड स्कोर
गरिरहेका छन् ।
सांगीतिक बजारमा चल्तीका अनुभवी एरेन्जर किरण कँडेललाई भने सांगीतिक क्षेत्रमा एरेन्जरको नाम नराखिदिने परिपाटी प्राकृतिक जस्तै लाग्न थालेको छ, हिजोआज । उनी यसो भन्न थालेका छन््, ‘सुन्दर घर हेरेपछि जोकोहीले यो घर कसको भनेर सोध्छ, कसले बनाएको भनेर सोध्दैन । त्यस्तै भएको छ म्युजिक फिल्डमा पनि ।’ न बिर्सें तिमीलाई, न सम्झेँ तिमीलाई, मविना कसैकसैलाई मुस्किल छ, कहाँ थियौ तिमी रंगमञ्च उठेपछि, यहाँ देशको छ चिन्ता, पागल बनायौ प्रिय, जमाना खराब छजस्ता असाध्यै चर्चित गीत एरेन्ज गरिसकेका कँडेल एउटा कुरामा चित्त बुझाउँछन्, ‘आम श्रोताले नचिने पनि सांगीतिक क्षेत्रमा असली एरेन्जरको चर्चा कम हुँदैन ।’ उनको चित्त बुझाउने अर्को पाटो पारिश्रमिक पाउनु मात्र होइन, अहिले बिस्तारै एरेन्जरलाई पनि नामको क्रेडिट दिइन थालेकामा उनले पनि राहत महसुसचाहिँ गरेका छन् ।
अनुभवी एरेन्जर भुपेन्द्र वज्राचार्य भने एरेन्जरलाई सर्जक नठान्ने प्रवृत्तिलाई ‘संसारकै नियम यस्तो’ भनेर व्यंग्य गर्छन् । उनी एरेन्जर मात्र होइन, गीतमा प्राण भर्ने वाद्यवादकहरू समेत आझेलमा पर्ने गरेकोप्रति दु:खमनाउ गर्छन् । ‘फेसन सोमा सुन्दरीको मात्रै चर्चा हुन्छ, त्यहाँ ठूलो क्रियसन डिजाइनरको हुन्छ नि,’ वज्राचार्यले भने, ‘हो ठ्याक्कै त्यस्तै छ संगीतको दुनियाँ पनि । यहाँ पनि गाउनेहरू चर्चामा छन्, वजाउने, एरेन्ज गर्नेहरू आझेलमै बस्छन् ।’ हिजो अर्कैसँग देखेँ, तिम्रो मन बदलिएछ, जुनीजुनीलाईजस्ता यश कुमारका चर्चित गीतमा एरेन्ज गरिसकेका वज्राचार्यले १७ वर्षे यो यात्रामा झन्डै १८ सय गीतमा एरेन्ज गर्न भ्याइसकेका छन् भने चार पाँचजति फिल्मको पनि अनुभव लिइसके ।
सन् १९७२ मा दार्जिलिङमा जन्मिएर नेपालको सांगीतिक दुनियाँलाई कर्मथलो बनाएका नोर्बु शेर्पाको अनुभव पनि गोर्खाली, गुरुङ, कँडेल र वज्राचार्यको भन्दा त्यति फरक छैन । संगीत र भ्वायोलिनका समेत ज्ञाता शेर्पा १४ वर्षदेखि यो क्षेत्रमा आबद्ध छन् । गोपाल योञ्जनको सहयोगीका रूपमा काम थालेका उनले हालसम्म तीन सयभन्दा बढी गीतलाई एरेन्ज गरिसकेका छन् । आफूले एरेन्ज गरेको गीत सुन्नसमेत फुर्सद नहुने गरी व्यस्त रहने शेर्पा ‘हामीले पारिश्रमिक दिएपछि उनीहरूको नाम किन चाहियो ?’ भन्ने सोचले एरेन्जर र वाद्यवादकहरू छायामा परेको देख्छन् । यति हुँदाहुँदै पनि संगीतविद्यालाई बुझेकाहरूले खोजी गर्ने गरेकोप्रति उनी निकै आशावादी छन् । भन्छन्, ‘गाउनेलाई श्रोताले मात्रै चिन्छ, हामीलाई संगीत बुझेकाले चिन्छन् ।’ गणेश शर्मा र रमेश सिंहलाई आºनो गुरु ठान्ने शेर्पा एरेन्जिङमा भने आºनै बलबुताले स्थापित भएका हुन् । कर्ण दासको प्रित, सत्यस्वरूपको मेरो देश डुब्न लाग्यो, स्वरूपको अलिअलि भन्दै बोलका गीत उनले एरेन्ज गरेकामध्ये पछिल्ला चर्चित गीत हुन् ।
यी प्रतिनिधि विचारजस्तै आशा, निराशा, सन्तुष्टि र असन्तुष्टि बोकेर गीत एरेन्जिङमा लागिपरेका अन्य प्रचलित नामहरू हुन् शुभबहादुर सुनाम, गणेश परियार, अमुल कार्की, दिनेश राजबहाक, शिलाबहादुर मोक्तान, मथुरा श्रेष्ठ, फणीन्द्र राई, सन्दीप कार्की ढली, मनोहर सुनाम, राहुल प्रधान, सञ्जय हमाल, पूर्ण गुरुङ, भुपेन्द्र रायमाझी, जुजु गुरुङ, सचिन सिंह, गोपाल रसाइली, दिनेश सुनाम, खगेन्द्र यक्सो, महाराज थापा, बाबु प्रधान, जेम्स प्रधान, विपिन आचार्य, विशाल गुरुङ, उदयराज पौडेल, सुजिल कर्माचार्य, प्रमोद उपाध्याय, सुनिल बर्देवा । आशा गरौँ, भर्खरै एरेन्जर पनि संगीतिक घर निर्माणका कुशल ज्यामी हुन् भन्ने मान्यतामा टुसा पलाउँदै छ । कुनै दिन एरेन्जर मात्र होइन, वाद्यवादकहरूको सिर्जनशीलताको कदरको बिरुवासमेत झाँगिने छ ।

प्रतिक्रिया