भोलिदेखि आदिवासी चलचित्र महोत्सव

काठमाडौं, २७ असार । इन्डिजिनियस फिल्म अर्काइभले भोलि बिहीबारदेखि छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–०६९ आयोजना गर्ने भएको छ । युवाप्रति समर्पित गरिएको यसपालिको महोत्सव तीन दिनसम्म सञ्चालन हुने महोत्सवका निर्देशक सन्जोग लाफामगरले मंगलबार जानकारी गराए ।

यसपालि नेपालसहित २६ देशबाट दुई सय फिल्मका आवेदन परेका छन्, जसमा म्युजिकभिडियो, एनिमेसन फिल्म, छोटो फिल्म, डकुमेन्ट्री, कथानक फिल्म रहेको जानकारी गराइयो । तीमध्येबाट २० देशका ७९ वटा फिल्म एवं डकुमेन्ट्री प्रदर्शन गरिने आयोजकले बतायो । नेपालका २७ वटा छोटा र लामा फिल्म एवं डकुमेन्ट्री प्रदर्शन हुँदै छन्, जसमध्ये नेवार समुदायका सातवटा, मगर समुदायका ६ वटा, राईका चारवटा, तामाङका दुइटा अनि थारू, लिम्बू, हायू, सुनुवार र चेपाङ समुदायका एकएक ओटा डकुमेन्ट्री प्रदर्शन हुनेछन् । खुलातर्फ गैरआदिवासी विषयका तीनवटा फिल्म छन् ।
नेपालबाहेकका देशबाट कुल १९ देशका ५२ फिल्म प्रदर्शन हुने भएका छन् । अस्ट्रेलियाका पाँच, ब्राजिलका दुई, बोलिभियाका तीन, क्यानडाका १३, कम्बोडिया र स्विट्जरल्यान्डको संयुक्त, इक्वेडर, तान्जानिया, मिक्सको र नर्वेको एक/एक फिल्म चयन भएको आयोजकले बतायो । त्यस्तै, फिलिपिन्सका दुई, ताइवानका आठ, संयुक्त राज्य अमेरिकाका पाँच तथा दक्षिण अफ्रिका र सुरनामका एक–एक फिल्म प्रदर्शन हुनेछन् ।
प्रदर्शन हुने चलचित्रको क्षमता जाँच्न तीन सदस्यीय फिल्म मूल्यांकन समिति पनि गठन गरिएको छ । समितिमा अस्ट्रेलियाका निर्माता निर्देशक एन्ड्रोवे भायल, भारतकी चलचित्रकर्मी रीता दत्त, नेपालका मानवशास्त्री डा. डम्बर चेम्जोङ छन् ।
उत्कृष्ट ठहरिने फिल्मले गोल्डेन ड्रम, द्वितीय हुनेले सिल्भर ड्रम र तृतीय हुनेले ब्रोन्ज ड्रम प्राप्त गर्ने आयोजकले बतायो । त्यस्तै सबैभन्दा बढी दर्शक मत पाउने फिल्मले दर्शक छनोट चलचित्रको अवार्ड पाउनेछ । एउटा फिल्मलाई जुरी अवार्ड प्रदान गरिने बताइएको छ । नेपालका आदिवासी विषयमा बनेको फिल्ममध्येबाट उत्कृष्ट एउटालाई प्रोत्साहनस्वरूप २५ हजार रुपियाँ दिइने आयोजकले जानकारी गराए ।

प्रतिक्रिया