भारतीय स्थल सेनाध्यक्ष नेपालमा

काठमाडौं, २६ असार । प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल बिक्रम सिंहले नेपाल भ्रमणका लागि आज काठमाडौंमा आएका छन् ।
सिंह असार ३० गतेसम्म नेपालमा रहने छन् । भ्रमणका क्रममा उनले आजै सैनिक मञ्चमा अवस्थित ‘वीर स्मारक’मा माल्र्यापण गरेका छन् । उनले  जंगी अड्डामा प्रधानसेनापति गुरुङ्गसँग शिष्टाचार भेटघाट समेत गरेका छन् ।
सिंहले बुधबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्नुका साथै प्रधानमन्त्री बाबुराम भट्टराईसँग शिष्टाचार भेटघाट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उनलाई शीतल निवासमा राष्ट्रपति डा.रामवरण यादवले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम समेत छ । बधबार नै भारतीय स्थल सेनाध्यक्ष सिंहलाई प्रधानसेनापति गुरुङ्गले जंगी अड्डामा रात्रीभोज दिने छन् ।
बिहीबार सिंहले मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने छन् भने पोखरास्थित भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको पनि भ्रमण गर्ने निर्देशनालयले जनाएको छ ।
उनले असार–२९ गते शुक्रबार गौतम बुद्धको जन्म स्थान लुम्बिनीको पनि भ्रमण गर्ने छन् ।
भारतीय स्थल सेनाध्यक्ष सिंह असार–३० गते शनिबार अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया