खोजखबर

“ज्वाइको लुगा लगाएर शपथग्रहण गर्नु जानु भो”

सौर्य अनलाइन २०६९ असार २६ गते १:५६ मा प्रकाशित


प्रधानमन्त्रीबाट राजीनामा दिएपछि मनमोहन अधिकारीले भनेका थिए, ‘मलाई प्रधानमन्त्री होइन, मनमोहन एउटा असल मानिस थियो भनेर सबैले सम्झिदिए पुग्छ ।’ शक्तिको चुलीमा पुगेपछि कैयन् राजनेताको चारित्रिक शुद्धतामा अनेकौ“ प्रश्न उठ्ने गरेको छ । तर, मुलुककै पहिलो कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको जीवन प्रधानमन्त्रीको शक्तिशाली निवास बालुवाटार र त्यसभन्दा बाहिर पनि फरक भएन । आफ्नो छोटो कार्यकालमा मनमोहन अधिकारीले गरेका राष्ट्रहितका कामहरू कालान्तरसम्म उदाहरणीय मानिनेछन् । अनि त्यसभन्दा पनि अनुकरणीय देखिन्छ, उनको जीवनशैली ।
उनै मनमोहन अधिकारीकी बुहारी तथा एमालेबाट संविधानसभाकी पूर्वसदस्य शान्ति अधिकारी ससुराको बिडो थाम्दै राजनीतिमा होमिएकी छन् । मनमोहनको निधनपर्यन्त सगै रहेर उनको राजनीतिक, पारिवारिक, त्यागी एवं सरल जीवनका पाटापाटा अनुभूत गरेकी उनी मुलुकका अन्य प्रधानमन्त्रीहरूमा आफ्ना ससुराको जस्तो राष्ट्रभक्ति र त्यागको भावना नरहेको देख्छिन् । मनमोहन ‘बाबा’ की बुहारी शान्ति सौर्यमार्फत आफ्ना ससुरालाई सम्झदै छिन्

०५१ मंसिर ५ मा बाबा प्रधानमन्त्री बन्नुभयो । कम्युनिस्ट पार्टीका तर्फबाट पहिलो प्रधानमन्त्री । हामीसँग राजनीतिक कुरा त हम्मेसी गर्नुहुन्नथ्यो तर, आफू कम्युनिस्ट प्रधानमन्त्री रहेको व्यवहारबाटै सिद्ध गर्नुपर्छ भन्ने उहाँको व्यवहारमा पाउँथ्यौँ । राजकीय जिम्मेवारी र त्यसअनुरूपका अभ्यासमा कहिल्यै अभ्यस्त नभएका हामी बालुवाटार बसाइँ सरेपछि के गर्नुपर्छ भन्नेमा अनभिज्ञ थियौँ । प्रमको परिवारलाई सरकारी सुविधास्वरूप दुइटा गाडी हुँदोरहेछ । प्रधानमन्त्रीको परिवारले बाहिर निस्कँदा उपयोग गर्न पाउने भए पनि बाबा हामीलाई सरकारी सम्पत्ति व्यक्तिगत काममा उपयोग नगर्न भन्नुहुन्थ्यो । मेरो श्रीमान् डा. प्रकाश अधिकारी त्यसबेला कीर्तिपुरमा अध्यापन गराउनुहुन्थ्यो । बालुवाटारबाट कीर्तिपुर जाँदा सेतो टेम्पोमा झुन्डिएर आउजाउ गर्नुहुन्थ्यो । मानिसको बडप्पन शक्तिको प्रयोग वा सुविधाभोगबाट मात्र मापन हुन्थ्यो सायद । प्रधानमन्त्रीको छोरालाई टेम्पोबाट झरेको देखेपछि गेटका सुरक्षाकर्मी पनि स्यालुट गर्दैनथे । व्यक्तिगत काममा सरकारी गाडीको दुरूपयोग नगरौँ भन्ने चाहनुहुन्थ्यो बाबा । त्यसैले कूटनीतिक भेट तथा सरकारी कामबाहेक अन्य व्यक्तिगत प्रयोजनमा हामीले ती गाडी कहिल्यै प्रयोग गरेनौँ । कहिलेकाहीँ गाडी चढेर आउँदा चाहिँ गेटमा बस्नेहरू गज्जबले खुट्टा बजारेर तन्कँदै हात निधारमा लैजान्थे । सायद उनीहरू गाडीलाई सेलुट मार्थे । बाउको ब्याज कहिल्यै खान्नँ भन्नुहुन्थ्यो छोरा (मेरा पति डा. प्रकाश अधिकारी) ।
बाबासँग गाँसिएको अर्को घटना म कहिल्यै भुल्न सक्दिनँ । राम्रो लुगा सिलाऊँ, सुकिलो अनि चिटिक्कको पहिरनमा ठाँटिएर हिँडौँ भन्ने लालसा अलिकति पनि पाल्नुहुन्नथ्यो । सभासमारोह हेरेर पहिरन जोगाड गर्नेतिर ध्यानै थिएन । एकपटक निकै अप्ठ्यारो पर्‍यो । प्रधानमन्त्री निर्वाचित भएपछि शपथ खान राजदरबार जानुपर्ने भयो । हिँड्ने बेला भइसक्यो, उहाँसँग दौरासुरुवाल नै थिएन । तुरुन्तै सिलाउने समय पनि थिएन । हामी अलमलियौँ, विकल्प खोज्न थाल्यौँ । धन्न, ज्वाइँको दौरासुरुवाल उहाँलाई मिल्ने रहेछ, त्यही लगाएर जानुभयो । पछि पिएले दुईजोर दौरासुरुवाल–कोट अनि जुत्ता किनेर ल्याइदिए । तैपनि आफ्नो कपडाका लागि देशको पैसा खर्च भएकामा उहाँलाई चित्तै बुझ्दैनथ्यो । भन्नुहुन्थ्यो– ‘म माथिबाट फलेको हुँ र कपडा लगाएर देखाउनु † मनमोहन प्रधानमन्त्री भएको कुन जनताले चिन्दैनन् र ?’ सुटबुट लगाउने कुरामा रुचि नै थिएन । मिलिटरी फोर्सका व्यक्तिहरूले देशको इज्जतसँग जोडेर कुरा गरेपछि बल्ल त दौरासुरुवाल लगाउन सहमत हुनुभयो । हामीले फोनमा अलिकति लामो कुरा गर्नै नहुने । ‘सरकारी पैसा तिमीहरूका दाल र भातका कुरा गर्न खर्चने हो ?’ भनेर गाली गर्नुहुन्थ्यो ।
म ०३६ सालमा बिहे गरेर उहाँको परिवारमा भित्रिएकी हुँ । त्यतिबेला बाबासँग दुईजोर टेर्लिङको सर्ट, दुइटा पाइन्ट, एउटा कोट र एकजोर जुत्ता मात्रै थिए । हामीले कपडा किनेर ल्याइदिएको मन पराउनु हुन्नथ्यो । कर गर्न पनि सक्दैनथ्यौँ, आमा विराटनगरतिरै हुनुहुन्थ्यो ।
बाबा लामै समय भूमिगत हुनुहुन्थ्यो । पाटनमा सिद्धिलाल सिंहको घरमा एउटा कोठा भाडामा लिएर बाबुछोरा बस्नुभएको रहेछ । छोराको बिहे गर्ने भएपछि दुईवटा कोठाको खाँचो पर्‍यो । राजनीतिक कारणले बाबालाई कोठा भाडामा दिन कसैले नमान्ने । मेरा मामाका छोरा किरण कार्कीले आफ्नै लागि भनेर दुई कोठा मिलाइदिनुभएको रहेछ । मेरो बिहेको निम्तो कार्डमा मनमोहन अधिकारी त्यही कोठामा बस्ने पोल खुलेपछि घरभेटीले दुई दिनमा घर खाली गर्न भने । बिहेपछि कोठा खोज्दाखोज्दा हैरानै भएपछि दुईकोठे भए पनि घरै बनाउने निधो गर्‍यौँ हामीले । हात्तीगौँडामा घर बनाउँदाबनाउँदै भएको पैसा सकियो । व्यवस्थित ट्वाइलेट बनाउन सकेका थिएनौँ । ०४६ सालको परिवर्तनपछि पनि बाबा त्यही घरमा बस्नुहुन्थ्यो । बोराले बारेको ट्वाइलेट थियो, ढोकामा पनि बोराले नै छेकेको । त्यसैबेला बाबासँग कुटनीतिक भेटघाटका लागि एक विदेशी महिला घर आइन् । उनलाई ट्वाइलेट जानु परेछ । त्यो ट्वाइलेट प्रयोग गर्न साह्रै अप्ठ्यारो मानिन् । अचम्म लागेछ । अनि आएर बाबालाई अंग्रेजीमा सोध्न थालिन्, ‘साँच्चै यही हो तपाईं बस्ने घर ? तपाईंलाई यहाँ केही समस्या छैन ?’ बाबालाई पनि अप्ठ्यारो लागेछ क्यारे, भन्नुभयो, ‘डन्ट वरी, आइ विल म्यानेज ट्वाइलेट आवर नेक्स्ट मिटिङ ।’
त्यतिबेला बाबाको सरल व्यक्तित्वको आलोचना नेकपा (एमाले) कै नेताहरूबाट हामीले सुन्नुपथ्र्यो । ०४८ सालमा उहाँ प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो । हामी त्यसबापत पाइने सरकारी सुविधाको घरमा सरेका थियौँ । त्यो घरमा सजावट भने आफैंले गर्नुपथ्र्यो, हामीसँग फर्निचर खासै थिएनन् । दुईवटा सोफा, एउटा टेबुल र केही चाइनिज गिफ्ट थिए । फर्निसिङ चटक्क पार्न सकेका थिएनौँ । एमालेकै नेताहरू आएर ‘तपाईंहरूको बसाइ चाहिँ भएन है’ भन्थे । सिपी मैनालीले मैसँग भन्नुभएको थियो, ‘हत्तेरिका, प्रतिपक्षी दलको नेता बस्ने घरमा कम्तीमा विदेशीलाई स्वागत गर्ने गतिलो कोठा त चाहिन्छ है ।’ म केही बोलिनँ । तर, बाबासँग चाहिँ बसाइ र व्यक्तित्वबारे कसैले सिधै टिप्पणी गर्न सक्दैनथे । आमा (सासू– स्व. साधना अधिकारी) र मैले भने यस्ता कुरा सुनिरहनुपथ्र्यो । बाबाले पालना गर्नु/गराउनुभएको दर्शनका कारण हामीले पनि कहिल्यै महत्त्वाकांक्षी जीवनको सपना देखेनौँ । आमा पनि सरल जीवन नै रुचाउनुहुन्थ्यो । महत्त्वपूर्ण पदमा पुगे पनि आमा र मैले कहिल्यै पनि बाबालाई सुखदायी प्रसाधन जोरजाम गर्न दबाब दिएनौँ ।
राजनीति गर्ने मान्छेमा जनताप्रति सच्चा समर्पण र सरल जीवनशैली अपनाउने खुबी हुनपर्ने रहेछ । त्यसले सबैलाई सम्मानित अनुभूति गराउने रहेछ । यो मैले बाबाबाटै सिकेँ । बाबाको सरल, निष्पक्ष अनि केवल जनताका लागि सोच्ने स्वभावले उतिबेला थुप्रै आफन्त बिच्किए, सार्वजनिक स्थानमा निस्किएर खुलेआम उहाँको विपक्षमा टिप्पणी गरे । ‘यी बूढा प्रधानमन्त्री भएर हामीलाई केही फाइदा छैन’ भन्दै हिँड्थे आफन्त । तर, बाबा कहिल्यै विचलित हुनुभएन, जनताकै लागि सोचिरहनुहुन्थ्यो ।
नेताका रूपमा उहाँको राजनीतिक व्यक्तित्वलाई धेरैले चिनेकै छन् । मैले पनि एक स्वाभिमान, देशभक्त राजनीतिज्ञलाई ससुराका रूपमा सेवा गर्न पाएँ । नजिकबाट चिन्ने अवसर पाएँ । उहाँको राजनीति सधैँ निश्च्छल अनि नि:स्वार्थ रहेकाले भान्छामा छाक टार्ने चामल नहुँदा पनि हामीलाई चित्त दुख्दैनथ्यो ।
बाबा पूरै राजनीतिमा समर्पित हुनुभएकाले घरमा कमाउने आमा मात्रै हुनुहुन्थ्यो । मेरा श्रीमान् पढ्दै हुनुहुन्थ्यो । आमाले पढाएर ल्याएको पैसाले चामलको जोहो गर्न पनि मुस्किल थियो । कहिलेकाहीँ साँझ भात पकाएर खाने चामल हुँदैनथ्यो । म भर्खरै बिहे गरेर ल्याएकी बुहारीका अगाडि भोक टार्ने अन्नकै अभावले निम्त्याएको लज्जाबोधको अवस्थालाई आमाले सकीनसकी आफूभित्रै पचाउनुभएको थियो । नयाँ बुहारीका अगाडि चामल सकिएको कुरा लुकाउन आमाले नन्दसँग सल्लाह गर्दै हुनुहुँदोरहेछ । आमा र नन्दको कुरा सानी भान्जीले सुनेकी रहिछन् । म पनि चामलको रित्तो भाँडो हेर्दै थिएँ । भान्जी म भएतिर दौडँदै आएर भनिन्, ‘माइजू चामल त खत्तै ।’ बाबालाई घरका यस्ता कुरा थाह हुँदैनथ्यो । वर्गविहीन समाजको रचना गर्ने महत्त्वाकांक्षाले उहाँलाई छोपेको थियो । अहिले पनि यस्ता प्रसंग निस्कँदा बाबाका ससाना तर परिवर्तनका लागि महत्त्वपूर्ण व्यवहारको झल्को आइहाल्छ । सम्झिन्छु– प्रधानमन्त्री भएपछि बाबाले कहिल्यै ड्राइभरभन्दा अगाडि भात खानुभएन । आफ्नो टेबलमा सँगै बसेर खान बोलाउनुहुन्थ्यो । सुरुसुरुमा त ड्राइभर अप्ठ्यारो मान्थे, पछि बानी पर्दै गयो ।
बाबा आफ्नो काम सधैँ आफैँ गर्नुहुन्थ्यो । हत्तपत्त अरूलाई दु:ख नदिने । प्रधानमन्त्री हुँदा ७४ वर्षको हुनुहुन्थ्यो, चिया आफैँ बनाएर पिउनुहुन्थ्यो । बरु आमालाई पनि चिया लगिदिनुहुन्थ्यो । इलेक्ट्रिक किट्ली उहाँको कोठामा सधैँ हुन्थ्यो । बिहान चार बजे उठ्ने अनि एक घन्टा फ्रेस हुने । बाबाले सकुन्जेल आफूले नुहाएपछिको कपडा कहिल्यै अरूलाई धुन दिनुभएन ।
झलझली सम्झन्छु, उहाँले कहिल्यै पदको राजनीति गर्नुभएन । जति गर्ने सबै जनताकै लागि । जनताको हित भनेपछि यति जोसिनुहुन्थ्यो कि ७४ वर्षको उमेरमा प्रधानमन्त्री हुँदा पनि कहिल्यै थाकेको देखिनँ । जनताका लागि गर्नुपर्ने काम पूरा गर्न सकिनँ भन्ने चिन्ताचाहिँ बढी गर्नुहुन्थ्यो । थकथकाउनुहुन्थ्यो, ‘०३६ सालमा प्रधानमन्त्री हुन पाएको भए…, त्यतिबेला मसँग जोस थियो, हिम्मत थियो ।’ मुलुक अनि जनताको समृद्धि बाबाको चाहना थियो । अहिलेका नेताहरू पनि आफ्नो चाहना त्यही बताउँछन् । तर, उनीहरू वास्तवमै मुलुकलाई त्यो रूपमा देख्न चाहन्छन् भने बाबाको जीवनशैली र सोचलाई एकपटक राम्ररी बुझ्नैपर्छ जस्तो मलाई लाग्छ । अहिले नेतालाई निष्ठाले भन्दा पनि पदका कारणले मान्नुपर्ने अवस्था बनेको छ । केवल शक्तिका कारण । खासमा नेताले सबैभन्दा पहिले त आडम्बरी मपाइँत्व हटाउनुपर्छ । नि:स्वार्थ कर्म अनि सेवाले अन्तत: पुस्तौँसम्म सम्मानित अनुभूति गराउँछ । यो मैले बाबाबाटै बुझेकी हुँ । कल्पन्छु, बाबाले करोडौँको सम्पत्ति जोडिदिएको भए पनि त्यो सकिंदै जान्थ्यो तर, आज हामीसँग जति भौतिक सम्पत्ति छ त्योभन्दा बढी मूल्यवान बाबाले आर्जन गर्नुभएको असल मानिसको परिचय छ र हामी सन्तुष्ट छौँ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय