गायनतिर नायिका

काठमाडौँ, २४ असार । अभिनयबाट कलाक्षेत्रमा प्रवेश गरेकी हुन् चन्दा घिसिङ । थुप्रै तामाङभाषी चलचित्रले नायिकाका रूपमा उनको अभिनयक्षमता निखारिसकेका छन् । मिख्ली, च्याङबा, मायुङ बुरिङलगायत उनले अभिनय गरेका चलचित्र हुन् । त्यसो त उनी गायिका पनि हुन्, तामाङभाषाका थुप्रै गीतमा उनको स्वर छ । अबचाहिँ उनले गायनबाटै नेपाली संगीतबजारमा आफ्नो पहिचान बनाउन कम्मर कसेकी छन् । यो यात्राको सुरुवात गर्ने भएकी छन्, आफ्नो पहिलो एकल एल्बम मंगोलियन गर्लबाट । उनको नेपालीभाषी एकल एल्बम यही पहिलो भए पनि यसअघि सैलुंगे जुहारी, चरिला कमाई, सैलुंगे मेला, अफर, दिलकी रानी, सुनसुन मैच्याङलगायत एक दर्जन कलेक्सन एल्बममा भने स्वर दिइसकेकी छन् ।

पहिलो एल्बमले नै आफूलाई सांगीतिक क्षेत्रमा नयाँ पहिचान दिलाउने आशा साँचेर बसेकी छन् चन्दा यतिखेर । भन्छिन्– ‘त्यसैले लामो अभ्यास र साधनापछि मात्र यो एल्बम श्रोतमाझ ल्याउन लागेकी हुँ ।’ सांगीतिक क्षेत्रमा जम्ने पूर्वतयारीस्वरुप चन्दाले प्रयाग संगीत समिति इलाहाबाद, भारतबाट संगीत विशारद (बिम्युज) पूरा गरेकी छन् ।
गुणस्तरीय गायनक्षमता पस्किएर संगीतक्षेत्रमा लामो यात्रा तय गर्ने सोच रहेकाले एल्बम निकाल्न हतारो नगरेकी रहिछन् उनले । भनिन्– ‘अहिले दुई दिन संगीत सिकेको भरमा सोझै एल्बम निकाल्न थाल्ने परम्पराले गाँजेको छ तर मलाई थाहा छ, त्यस्ता गीत लामो समय टिक्दैनन् । त्यसैले मैले चाँडै एल्बम निकाल्नुभन्दा सांगीतिक ज्ञान बढाउनमै बढी समय खर्चिएँ ।’ चन्दाले नेपालका विभिन्न स्थानमा भएका सांगीतिक कार्यक्रमसाथै कोरियामा समेत गायनकला प्रस्तुत गरिसकेकी छिन् ।

प्रतिक्रिया