फेडेरर र मर्रे फाइनलमा

लन्डन, २४ असार । पछिल्ला चारवटा ग्रान्डस्लामको फाइनल पुगेका नोभाक जोकोभिकलाई पराजित गरी ६ पटकका पूर्वविजेता रोजर फेडेरर विम्बल्डनको फाइनल प्रवेश गरेका छन् । शुक्रबार राति पुरुष एकलतर्फ सेमिफाइनलमा शीर्ष वरीयताका सर्वियन खेलाडी जोकोभिकलाई पराजित गर्ने क्रममा फेडेरर ६–३, ३–६, ६–४ र ६–३ ले विजयी भए ।
१६ ग्रान्डस्लामका विजेता फेडेररले उपाधिका लागि स्कटिस एन्डी मर्रेविरुद्ध खेल्नेछन् । विम्बल्डनमा फेडेररको यो आठाँै फाइनल प्रवेश हो । मर्रे भने सन् १९३८ मा बन्नी अस्टिनपछि विम्बल्डनको फाइनलमा प्रवेश गर्ने पहिलो बेलायती खेलाडी बनेका छन् । फाइनल प्रवेशको क्रममा मर्रेले शुक्रबार नै भएको अर्को सेमिफाइनलमा फ्रान्सेली जो विलफ्राइड सोंगालाई ६–३, ६–४, ३–६ र ७–५ ले पराजित गरे ।
‘मेरासामु अझ एक कठिन खेल छ,’ जोकोभिकसँग घाँसेमैदानमा १–० को रेकर्ड राखेका फेडेररले भने । फेडेररले विम्बल्डनको सेमिफाइनलमा हालसम्म खेलेका सबै खेलमा जित हात पारेका छन् । फाइनलमा भने उनी एकपटक सन् २००८ को फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए । उक्त संस्करणमा नाडाल पाँचाँै सेटमा ९–७ ले अगाडि रहँदै च्याम्पियन भएका थिए । गत वर्षको फ्रेन्च ओपनयता जोकोभिक लगातार फाइनल पुगेर गत फ्रेन्च ओपनमा मात्र उपाधि भिडन्तमा पराजित भएका थिए । फ्रेन्च ओपनको फाइनलमा नाडालसँग पराजित भएपछि जोकोभिक लगातार चार ग्रान्डस्लाम जितेर टेनिस इतिहासमा महान उपलब्धि हात पार्नबाट चुकेका थिए ।
मर्रेविरुद्ध हुने आइतबारको भिडन्तमा फेडेररलाई मनोवैज्ञानिक फाइदा रहनेछ । यी दुईबीच यसअघि सातपटकको भेटमा सबै खेलमा फेडेररले जित हात पारेका छन् । सन् २००८ को युएस ओपन र २०१० को अस्ट्रेलियन ओपन गरी दुई ग्रान्डस्लामको फाइनलमा पुगेका यी दुई खेलाडीमध्ये दुवैमा फेडेररले बाजी मारेका थिए ।
उक्त दुवै भिडन्तमा फेडेररले सोझो सेटमा जित हात पारेका थिए । मर्रेलाई घरेलु कोर्ट भएका कारण उत्साह थपिएको छ । उनले सोंगालाई हराउनेबित्तिकै बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले उनलाई बधाई दिएका थिए । उनले आइतबार हुने फाइनल खेल अन्य सबै काम छाडेर हेर्ने बताएका छन् ।
२४आँै पटक ग्रान्डस्लाम फाइनलमा पुगेका फेडेररले जित हात पारे थप दुई कीर्तिमान कायम गर्नेछन् । उनी वरीयताक्रमको शीर्षस्थानमा उक्लँदै पिट साम्प्राससँगै २ सय ८६ साता अग्रस्थानमा रहने कीर्तिमानको बराबरी गर्नेछन् । विलियम रेन्सन र अर्थर गोज आठपटक विम्बल्डन फाइनलमा प्रवेश गरे पनि त्यो समयमा डिफेन्डिङ च्याम्पियनले बाइ पाउने चलन थियो । सन् १९९२ मा यो नियममा परिवर्तन गरिएको थियो । महारानी एलिजाबेथ द्वितीय मर्रेको खेल हेर्न अल इंगल्यान्ड क्लब आउने सम्भावना प्रबल छ । एजेन्सी

प्रतिक्रिया