प्रकोप न्यूनीकरणका लागि शैक्षिक सचेतना

नेपालमा करिब ८० प्रतिशत मानिस प्रकोपजन्य सचेतताबाट अनभिज्ञ छन् । जबसम्म आमनागरिकलाई प्रकोपको कारण, असरको बारेमा जानकारी गराउन सकिँदैन तबसम्म यसमा कुनै परिवर्तन आउन सक्दैन । प्रकोपजन्य सचेतता र यसको न्यूनीकरणका लागि सर्वसाधारणलाई जानकारी गराउने महत्त्वपूर्ण आधार भनेको शिक्षा हो । राज्यले प्रकोप न्यूनीकरणका लागि जतिसुकै आर्थिक लगानी गरे तापनि मुख्य रूपमा चेतना अभिवृद्धि गर्न आवश्यक छ । प्रकोपका बारेमा जानकारी गराउन विद्यालय, विद्यार्थी एवं शिक्षक सबैभन्दा कम खर्चिला र बढी प्रभावकारी माध्यम बन्ने पक्का छ । विद्यालयमा विद्यार्थीसँग आबद्ध भएर गोष्ठी प्रदर्शन, र्‍याली, सडक नाटक, कविता प्रतियोगिता एवं समुदायमा अनौपचारिक शिक्षा केन्द्रमार्फत चेतना अभिवृद्धि गर्न सहज हुन सक्छ, जसले मानवनिर्मित प्रकोपको न्यूनीकरण एवं दैविक प्रकोपको अवस्थामा अपनाउनुपर्ने पूर्व तयारीको जानकारी दिन सम्भव छ । सरकारले विपद् व्यवस्थापन तथा आधारभूत सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय नीति तथा रणनीति अनुमोदन गरिसकेको छ । जसअन्तर्गत विपद् जोखिम व्यवस्थापन रणनीति–०६६ ले नौ क्षेत्र निर्धारण गरेमध्येको एउटा बुँदामा शैक्षिक क्षेत्रसम्बन्धी रणनीतिको निर्माण भएको देखिन्छ । त्यस्तै ह्योगो कार्ययोजना : सन् २००५–२०१५ (जापानको कोबे सहरमा सम्पन्न भएको प्रकोप न्यूनीकरण विश्व सम्मेलनको प्रतिबद्धता) मा पनि उल्लेख गरिएको ‘ज्ञान, खोज र शिक्षाको उपयोग गरी सबै तहमा सुरक्षात्मक संस्कृति र प्रकोप सामना गर्ने क्षमता अभिवृद्धि गर्ने’ भनिएको छ ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रियसभा सम्मेलनमा प्रतिबद्धता जनाइहाल्ने राज्य र कार्यान्वयनमा प्राथमिकता नदिने परम्पराको पीडामा आज पूरै देश डुबेको त छँदै छ प्रकोपजन्य विषय पनि यसैको मारमा परेको देखिन्छ । शिक्षा विभागको एक तथ्यांकअनुसार हाल नेपालमा कुल विद्यार्थीमध्ये एक लाख ५३ हजार दुई सय २० जनालाई कुनै न कुनै किसिमको अपांगता छ । अपांगता रहेका ती बालबालिका कुनै पनि खाले प्रकोपको उच्च जोखिममा छन् । आज विश्वमा शिक्षा क्षेत्रमा नवीन मान्यता आएका छन् । सूचना र सञ्चारको व्यापकता एवं बढ्दो भूमण्डलीकरणको प्रभावबाट विश्वको कुनै पनि भू–भाग आज टाढा भएको छैन । विपद्जन्य अवस्थामा पनि अवस्था विशेषको शिक्षा प्रदान गर्नु राज्यको कर्तव्य हुन जान्छ । विकसित मुलुकले आपत्कालीन शिक्षा योजनाको कुरा गर्न थालेका छन् । यस्तो शिक्षा संकटग्रस्त, प्राकृतिक प्रकोपजन्य अवस्थामा प्रदान गरिन्छ । शिक्षा विभाग २०११ अनुसार देशभर ३३ हजार एक सय ६० विद्यालय सञ्चालनमा छन् । ५.५ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । कक्षा १ मा अहिले पनि विद्यालय छाड्ने विद्यार्थी संख्या ८.३ प्रतिशत छ । यो अवस्थामा विद्यालय र शिक्षकहरू नै प्रकोपजन्य शिक्षा प्रसारण गर्ने उपयुक्त आधार बन्न सक्छन् भने विद्यालयबाहिर नै रहेकालाई अनौपचारिक शिक्षा व्यवस्था कायम छ । अर्कातिर स्रोत व्यक्तिले प्राप्त गरेको शैक्षिक ज्ञान र अनुभवबाट गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यको विद्यमान प्राकृतिक, भौतिक मानवीयजस्ता स्रोतको उचित परिचालन गर्ने जिम्मेवारी पाएको छ, जसले देशभर करिब एक हजार ५३ स्रोतकेन्द्र सञ्चालन गरेका छन् ।
आजको विश्व सन्दर्भमा प्रकोपजन्य शिक्षालाई समेट्न चुक्नु भनेको भोलिको विपद्को तयारी नगर्नु हो । त्यसैले पर्यावरणीय दृष्टिका मैत्री पाठयक्रम निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि विकेन्द्रीकृत संरचनाभित्र पाठयक्रमहरू निर्माण गरिनु श्रेयष्कर छ । जहाँ जस्तो प्रकृतिको प्रकोपको खतरा छ त्यहाँ त्यही पृष्ठभूमिका पाठयक्रम निर्माण गरिनुपर्छ । निर्माण गरिएको पाठयक्रमलाई सरोकारवालासँग प्रबोधीकरण गर्ने काम गर्नु त छँदैछ । पाठयक्रम निर्माणमा सम्बन्धित विज्ञहरूको राय सुझाबलाई भने छुटयाउनु हुँदैन । मौसम परिवर्तन, आगलागी, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, भू–कम्पजस्ता प्रकोपका दृष्टिमा हाम्रो शिक्षा प्रणालीले स्थानीयस्तरसम्म पहुँच राख्न सकेको छैन । औपचारिक, अनौपचारिक अनियमित जुन संरचनामा भए पनि प्रकोपको चपेटाबाट मुक्त हुनका लागि हामीलाई शिक्षाको जरुरी छ । विद्यालयको पाठयपुस्तकमा समावेश गरेर होस् वा अनौपचारिक रूपमा कार्यक्रम सञ्चालन गरेर होस्, आगामी दिनमा आममानिसलाई प्रकोप न्यूनीकरण कसरी गर्ने ? प्रकोपको अवस्थामा कसरी सुरक्षित रहने ? प्रकोपको कारण के हो ? प्रकोपको विकल्प के हुन सक्छ ? प्रकोपको बाटो कसरी छेक्ने ? भन्ने सन्दर्भमा आमजनमानसमा शैक्षिक अभियान सञ्चालन गर्न आवश्यक छ । हाम्रोजस्तो विकासशील राष्ट्रका लागि यस्ता विषयवस्तु पाठयपुस्तकमा समावेश गर्नु एउटा चुनौतीको विषय होला । तथापि समावेश गर्नु हाम्रो आवश्यकता भने हो । चुनौतीलाई हरेक अवस्थामा समयको आवश्यकताले जित्ने गर्छ । त्यसैले जलवायु परिवर्तन, बाढी पहिरो, हुरीबतास, अतिवृष्टि र अनावृष्टि, खडेरी, चट्याङ, हिमताल विष्फोट र भू–कम्पजस्ता प्राकृतिक विपद् एवं आगलागी, महामारी, सामाजिक द्वन्द्व, सवारी दुर्घटना, डुबान, गृहयुद्ध, औद्योगिक कारण, झगडा, भागदौडजस्ता मानवनिर्मित कारणको प्रभाव कम गर्नु एवं क्षति न्यून गर्न औपचारिक, अनौपचारिक दुवै पद्धतिको शिक्षा लागू गरी बढ्दो प्रकोपको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया