“नो सिंगल सेक्स एजुकेसन, प्लिज †”

म अलि लजालु स्वभावको थिएँ, केटीहरूसँग बोल्न त झनै लाज लाग्ने । जीवनमा चार दशकसम्म मैले प्राध्यापन गरेँ । तर, त्यो पहिलोपटक क्याम्पस पढाएको दिन म कहिल्यै बिर्सन्नँ । फ्ल्यासब्याकमा त्यो दिन आइरहन्छ । त्यो ०२७ सालको कुनै जाडो महिनाको एक दिन थियो । म अंग्रेजी विषयमा एमए सकेर पद्मकन्या क्याम्पसमा पढाउन पुगेको थिएँ । ओहो, एउटै रंगका सारी लगाएका त्यति धेरै केटीहरू † मेरो त सातो पो गयो । मेरो पहिलो कक्षामा मलाई तेजरत्न कंसाकार सरले लिएर जानुभएको थियो । युवतीहरूको जमात देखेरै पढाउन सक्दिनँ जस्तो लाग्यो । ‘वन्डर टेल अफ ग्रिस एन्ड रोम’ भन्ने पाठ मैले पढाउनु थियो ।
पद्मकन्या क्याम्पसका केटीहरू भने मलाई देखेपछि उत्तेजित भएका थिएँ । युनिभर्सिटीबाट भर्खर एमए सकेर आएको ठिटो सबैको आँखामा परेँ हुँला नि † अग्लो थिएँ, ह्यान्डसम थिएँ । पढाउँदै थिएँ, पछाडिबाट एउटी युवती बोली –‘बिचरा † सरलाई लाज लाग्यो ।’ त्यसपछि त म झनै अत्तालिएँ । पसिनापसिना भएँ । आत्तिएरै बोलेको थिएँ– ‘बढ्ता हल्ला गर्ने हैन, स्याट अप †’ अगाडि बस्ने केही युवतीलाई मैले चिनेको थिएँ । उनीहरू मेरो पक्षमा थिए । तर, कक्षाभरिका त कहाँ, साह्रै बदमास † जिस्क्याउने पनि हद हुन्छ नि † कक्षा सकेपछि हाजिर गर्दै पछाडिको लाइनमा पुगेको थिएँ । एउटीले पछाडिबाट मेरो कपाल तानी । पछि मैले त्यो केटीलाई चिनेँ । मलाई भने युवती–झुन्डको त्यस किसिमको व्यवहार देखेर आफ्नो प्रोफेसनदेखि नै इरिटेसन भइसकेको थियो ।
पहिलो दिनको कक्षा सकेर आएपछि उतिबेलाका प्रिन्सिपल नीलवीर सिंह कंसाकार सरसँग गुनासो गरेको थिएँ– ‘सर † म पढाउन सक्दिनँ ।’ युवतीहरूको त्यस्तो गैरजिम्मेवार व्यवहारबाट अभ्यस्त भइसक्नुभएका उहाँले सुझाउनुभयो – ‘जसले हल्ला गर्छन्, बदमासी गर्छन्, तिनलाई क्लासबाट निकालिदिनुस् ।’ त्यस्तो सल्लाहलगत्तै उहाँले अर्को कुरा पनि सम्झाउनुभएको थियो, ‘केटीहरू इखालु पनि हुन्छन् । कक्षाबाट निकालिदिएपछि फेरि तपाईंको कक्षामा कहिल्यै नबस्न पनि सक्छन् ।’
भोलिपल्टको कक्षामा पनि नयाँ अनुभव केही भएन, हिजोकै प्रक्रिया दोहोरियो । मलाई उल्याउन, जिस्क्याउन व्यापक उद्यत थिए केही युवतीहरू । मैले पनि १७ जना केटीलाई एकैपटक कक्षाबाट बाहिर निकालिदिएँ । हुन पनि नीलवीर सरले भनेजस्तै भयो– ती १७ जना केटीहरू मैले पढाउने मेजर इंग्लिसको कक्षामा कहिल्यै बसेनन् । त्यसपछिका दिनमा मलाई अलि सहज भयो, ती कटीहरू मसँग डराउन थालेका थिए । र, उनीहरूको शिक्षकलाई गर्ने त्यस खाले व्यवहारमा अलि कमी आयो ।
कुनै एउटी केटी आँखामा पर्दा केटाहरूमा उत्तेजना आउने गर्छ । तर, मलाई पद्मकन्या क्याम्पसमा कहिल्यै त्यस्तो फिल हुन पाएन । बरु मेरो पहिलो प्रध्यापनले अर्को कुरा सिकायो । केटीहरूको झुन्डले आकर्षित नगर्ने रहेछ । त्यस्तो बेला सेक्सुआलिटीले केही काम गर्दैन । बरु जत्थासाग जुध्नुपर्दा इरिटेट महसुस हुने रहेछ । अहिले सम्झन्छु, मैले पिकेमा नै पढाइरहेको भए मेरो बिहे पनि हुँदैनथ्यो । साइकोलोजी नै फरक हुन्थ्यो ।’ मैले सात महिना मात्रै पिकेमा पढाउँदा पनि त्यसको असर ममाथि पर्‍यो । त्यसपछि म पाटन कलेज गएँ, पढाउन । त्यहाँ को–एजुकेसन (सहशिक्षा) थियो । कक्षामा केटा/केटी दुई लाइनमा बस्थे । मलाई केटीदेखि व्यापक इरिटेसन भएकाले होला, पढाउँदा केटाहरूतिर मात्रै ध्यान दिएछु । मेरो मनज्ञानले चाहेर त्यसो भएको होइन, केटीको झुन्डप्रति भएको चर्को वितृष्णाले मेरो व्यवहार त्यस किसिमको भएको हो कि भन्ने लाग्छ । मैले केटाहरूलाई मात्रै चासो दिएको भनेर त्यहाँका केटी विद्यार्थीहरूले प्रिन्सिपललाई उजुरी गरेपछि पो म झसंग भएछु । त्यसपछि चाहिँ आफूलाई बिस्तारै केटीहरूतिर नजिक्याउँदै लगेँ । पाटन कलेजमा एक दशक पढाउँदा कहिल्यै पद्मकन्यामा जस्तो केटीहरूका कारणले समस्या भएन । अहिले ती दिनले मलाई बेग्लै अनुभूति दिन्छन्, रोमाञ्चित संसारमा पुर्‍याउँछन् ।
यति लामो प्रध्यापन अनुभवले मलाई ‘विद्यार्थीलाई सिंगल सेक्स एजुकेसन’ उपयुक्त हुँदैन भन्ने सिकायो । यो परम्परागत मान्यता हो । यस्ता शिक्षालाई अब छोड्नुपर्छ । केटा–केटीहरूले विपरीत लिंगीप्रति आकर्षित हुने मौका पाउनुपर्छ । प्रेम, झगडा अनि बिछोडको अनुभव हरेक युवाले गर्न पाउनुपर्छ । समाज–सिकाइको गतिलो माध्यम यही हो । यसबाट केटाकेटीको मनोविज्ञानमा भएको विकृत सोच हटाउन निकै मद्दत पुग्छ ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया