ठमेल : जो पश्चिमी धुनमा नाचिरहन्छ


ठमेल यौनक्रियाकलापका लागि उपयुक्त स्थान हो कि सांस्कृतिक र नेपाली उत्पादनको बजार भन्नेमा मानिसमा मतान्तर छ । यदि सेक्स टुरिजमलाई काठमान्डूमा प्रोमोसन गर्ने हो भने ठमेलजति उपयुक्त स्थान अरू कुनै हुन सक्ला ? त्यसो त यो अघोषित रेडलाइट एरिया हो, जहाँ पहिलोपटक रजस्वला पनि नभएकी केटीहरू नगरबधूमा परिणत हुन्छन्, कुनै सस्तो कामुक फिल्मको सिडीझैँ हातहातमा इसारैइसाराले बेचिन्छन् र ठमेलले उसको सारा कपडा च्यातिदिएको हुन्छ, कलिलो सपना पनि धुजाधुजा पारिदिएको हुन्छ । यहाँ पर्यटक र पदयात्रीबीच ठूलो दूरी देखिन्छ, नेपाली र गोरा (विदेशी पार्सपोर्टधारी जो पनि) ग्राहकलाई गरिने व्यवहारबीच ठूलो अन्तर अनुभव गर्न पाइन्छ र यहीँ नै राज्य प्रशासनका प्रतिनिधिहरूको रमण–लीला चल्छ । ठमेलबारे यसपटक जसरी देखियो, बुझियो, लोकेसनका रूपमा ठमेललाई नै चुनियो ।
नेपालभाषाको ‘थँ–बहिल’ अपभ्रंशित हुँदै ठमेल भएको हो । भनिन्छ– नेपाली संस्कृति खोज्ने भए ठमेल जानू । पुरानो पुस्ताका मानिस भन्छन् : ठमेलसँग गाँसिएका थुप्रै किस्सा छन् । अहिलेका किस्साचाहिँ हजारौँ बेरोजगार, रातकी रानी, नर्तकी, व्यापारी, नगरबधू…। यी र यस्ता थुप्रै नयाँ–पुराना जिनिस मिलेर बनेको एउटा कोलाज हो ठमेल ।
उसो त ठमेल फेरियो । तर, ठमेलको अघिल्लो पुस्ताको लोकेसन अर्थात् वसन्तपुर दरबार क्षेत्रसँगै जोडिएको दक्षिणपट्टिको पहिलो गल्ली, जसलाई कुनै बेला हिप्पीहरूले आवाद गर्थे, झोँछेमा अहिले उत्तिको चहलपहल देखिँदैन । नजिकैको ठमेलमा युरोपेली गन्ध मडारिएको हुन्छ । तर, साँघुरो गल्ली र चमकदमकपूर्ण दृश्यबाट पूरै आउट भएको झोँछेले बितेको ४० वर्षमा आफ्नो सान, सौकत र सौन्दर्य पूरै गुमायो । ठमेल रंगीन बन्यो, झोँछे रंगहीन । त्यो ‘फ्रिक स्ट्रिट’को व्यस्तता कतातिर सर्‍यो ? सन् ६० को दशकको अन्त्यतिर नेपाल बाँकी विश्वसँग जोडिने क्रमको सुरुवातसँगै झोँछे गुल्जार बन्यो तर अहिले गहना फुकालिएकी कुनै बिधवाजस्तो देखिन्छ ।
उसबेला ठमेल, दरबारमार्ग अहिलेजस्तो रंगीन थिएनन् । दरबार स्क्वायरनजिकको मरुहिटी, लगनचोक, झोँछे उतिबखतका मुख्य केन्द्र थिए । झोँछेमा हिप्पी कल्चर (हिप्पिज्म) सुरु हुँदा यो सबैभन्दा चर्चित ठाउँ थियो, ह्यासिसको धुवाँमा, अद्र्धनग्न भेषमा, होचा र अँध्यारा सस्ता कोठामा, साँघुरा गल्लीमा दिशाहीन किसिमले बाँचिरहेको । त्यसबेला युद्धको विरोधमा, पश्चिमी पुँजी, व्यापार अनि यान्त्रिक समयको विरोधमा आफ्नो देश छोडेर हिँडेका युवायुवतीको घुइँचो थियो क्याटमान्डूमा । उनीहरू आफूलाई शान्तिकामी, स्वतन्त्र युवापुस्ताका प्रतीक ठान्थे । ती केही खोज्न झोँछे, वसन्तपुरका चिसा गल्ली र पशुपति, स्वयम्भूमा जुनेलीले पोतेका डाँडामा छरिएका हुन्थे, एकार्कामा लठ्ठारिँदै । पश्चिमी सभ्यताको असभ्यताविरुद्ध बगावत गर्दै हिँडेका, सिधै स्वर्ग जाने बाटो खोजिरहेका र पूर्वेली मिथ्या जीवनको छेउमा आइपुगेका पश्चिमा युवायुवतीसँग हुन्थे, हाम्रा विलासप्रेमी युवाहरू । आफ्नो युद्धप्रेमी राज्यका प्रतिदिनका हमलाका खबरबाट विरक्त लागेर खुसी खोज्ने बहानामा यता आएका ती युवा अमेरिका–भियतनामलाई भनिरहेका हुन्थे– नो बार । लट्टा परेका कपाल, च्यातिएका कपडा, खाली खुट्टा गाँजा तान्दै यताउता हिँडिबसेका हुन्थे । सन् १९६० तिरबाट सुरु भएको ‘हिप्पिज्म’को लहर १९७० को मध्यसम्म हराएर गयो । यसो भनौँ, झोँछे नै त्यसबेला नेपालको पर्यटन नगरी थियो । सरेर उत्तरपश्चिमतिर लाग्यो र ठमेल पुग्यो ।
ििि
यो लोकेसनमा म ठमेलका नगरबधू वा अरू कोलाजबारे लेखिरहेको छैन, बेपर्वाह हिँडिरहने ‘पर्यटक’बारे कुरा गर्दै छु (ती पर्यटकलाई विश्वयात्री पनि भन्न सकिन्छ) । बेमौसमका बेला पनि प्रत्येक बिहान ठमेलका गल्लीभित्रका सस्ता होटलको टेबुल भरिन्छ । नेपाली पर्यटकप्रति अनुदार देखिने रेस्टुरेन्टका बेयराहरू विदेशीप्रति असाध्यै नम्र देखिन्छन्, चाहे ती भारतीय नै किन नहोऊन् †
‘तिनीहरू पर्यटक हुन् कि यात्री ?’ भर्खरै कफीको अन्तिम घुट्को पिएर मतर्फ एक नजर फ्याँकेकी एउटी अंग्रेज युवतीले मलाई ‘डियर जर्नलिस्ट’ सम्बोधन गर्दै यस्तो अप्ठेरो प्रश्न सोधेकी थिई । ऊ भन्छे, ‘यात्रीहरू सर्वसाधारण जनताजस्तै हुन्, जो सामान्य प्रकारले बस्छन् । जनता जस्तो बाटोमा हिँड्छन् उनीहरू पनि त्यस्तै बाटो हिँड्छन्, तिनीहरू जनताको सम्पर्कमा हुन्छन् र जनताका लागि केही सोचेका हुन्छन् । अर्कोतर्फ ‘पर्यटक’हरू बातानुकूलित बसहरूमा यात्रा गर्छन्, पाँचतारे होटलमा बस्छन्, महँगा रेस्टुरेन्टमा ह्विस्की खान्छन् र कहिल्यै स्ट्रिटमा डुल्नेलाई वास्ता गर्दैनन् । त्यसैले डियर जर्नलिस्ट † ठमेलमा पर्यटक हुँदैनन्, केबल यात्री मात्र हुन्छन् ।’
लामो अवधि संसार भ्रमण गर्ने विश्वयात्री, जसमध्ये बहुसंख्यक उत्तर अमेरिकाली, पश्चिम युरोपेली र अस्ट्ेरलियाली हुने गर्छन्– तिनीहरूको एउटै साझा मत रहन्छ । नेपालजस्तो ‘थर्ड वल्र्ड’लाई उनीहरू आफ्नो ‘प्रयोगशाला’ ठान्छन् र आफू नै बडो बहादुर, रोमान्टिक र साहसी मानव भएको घमन्ड पाल्दै अन्य पर्यटकलाई हेलाको दृष्टिले हेर्छन् । ती साझा भाषा ‘अंग्रेजी’ प्रयोग गर्छन् र नेपाल रहुन्जेलचाहिँ पोसाकसमेत एउटै लगाउँछन्– रबरका चप्पल, सस्तो सुतीको पेन्ट अनि ‘नेपाल’ वा ‘सगरमाथा’ प्रिन्ट गरिएको टि–सर्ट । ती टि–सर्टबाटै अनुमान लगाउन सकिन्छ–यी केन्या, बैंकक वा गोवा हुँदै ठमेल प्रवेश गरेका हुन् ।
‘यात्री’ र ‘पर्यटक’मा यति ठूलो भिन्नता छ । पर्यटक आफूलाई ‘अर्कै ग्रहबाट नेपालमा अवतरण गरेको प्राणी’ ठानिरहेको हुन्छ । यथार्थमा ‘यात्री’ पर्यटक’ भन्दा भिन्न छैन, आमजनताकै जस्ता अप्ठ्यारा लिएर हिँडेको हुन्छ । त्यसो त केही समस्या साझा छन्, पर्यटक र यात्रीका पनि– भाषा, संस्कृति, मानिस र तिनीहरूका विशेषताको अज्ञानता । ‘फिरन्ता’ भन्दा आफूलाई सम्मानित आत्मबोध गरे पनि उनीहरूको मनले भनिरहेकै हुन्छ– हामी पनि आखिर आगन्तुक मात्र न हौँ, यो हाम्रो पेवा कहाँ हो र ? पर्यटक प्याकेजमा हिँड्छन्, आफ्नो जिउज्यान र धनसम्पत्तिको बिमा गर्छन्, सुरक्षाको अपेक्षा गर्छन् । तर, परोक्ष रूपमा यात्रा एक किसिमको सुविधा हो, अधिकार होइन भन्ने कुरालाई स्वीकार पनि गरिरहेकै हुन्छन् । यस्तो बेला पर्यटक पनि सोच्दा हुन्– ‘हामी पनि यात्री नै रहेछौँ ।’ तुलनात्मक रूपले हाईबजेट यात्री ।
यता, यात्रीहरू यस्तो मान्यताको सम्भाव्यलाई पूरै अस्वीकार गर्छन् । असुरक्षाको जोखिम मोल्छन् । साह्रै कम पैसामा तेस्रो विश्वमा जिउनु र यहाँका स्थानीयले जस्तै कपडा लगाउनुले उनीहरूलाई सांस्कृतिक रैथाने नै बनाइदिन्छ । विश्वप्रसिद्ध उपन्यासकार भिएस नयपल यात्रीहरूको विशेषताबारे भन्छन्, ‘जो आफैँलाई समाजमा सजिलैसँग फुट्ने, बिग्रिने, भत्कने कामना गर्छन्…, ती अन्त्यमा आफ्नै सुरक्षाभन्दा अरू बढी केही गर्दैनन् ।’ यसमा पनि आंशिक सत्य पाउन सकिन्छ ।
ििि
ठमेलको कफी हाउसमा एक जर्मन, एक अमेरिकी र एक स्विडिस कपल हरेक दिन घटबढ भइरहने अमेरिकी डलर विनिमयबारे चर्को छलफलमा संलग्न छन् (यो विश्वयात्रीबीच कालो बजारका अतिरिक्त अर्कै एउटा रोचक विषय पनि हो ।) ‘पर्यटकलाई ह्विस्की र चुरोट, नीलो जिन्स र क्यामेराहरू कहाँ बेच्नुपर्छ भन्ने सबै थाहा हुन्छ,’ एक अमेरिकी नागरिक भन्दै छन् ।
अघि भेटिएकी अंग्रेज युवतीले मलाई भनेकी थिई– हेर्नुहोस्, तपाईंले काठमाडौंमा सीमासम्मका लागि हवाई टिकट लिनुहोस्, भारतीय रुपियाँ साट्नुहोस्, ड्युटी फ्रीमा जोन प्लेयर र मार्लबोरो किन्नुहोस् र त्यसलाई आफूले तिरेभन्दा दोब्बर बढीमा बेच्नुहोस्, यहाँका दु:खी यात्रीहरूले किन्नेछन् । ऊ थप्छे, ‘यदि तपाईं मुम्बईको स्लम एरिया जाँदै हुनुहुन्छ भने आफ्ना सरसामान लिइरहनुहोस् । मानिसहरूले तपाईसँग भएका जुनसुकै वस्तु पनि सार्‍है सस्तोमा किन्नेछन्, तपार्इंले लगाइराखेको प्यान्टसमेत ।’ यसो भन्ने ऊ अहिले कुन ठाउँ हुँदै ठमेल आएकी होली भनेर सोच्दै थिएँ । उसले भनिहाली, ‘अहो † म भारतको बिहारनजिक एक आश्रममा एक महिनासम्मको ध्यान सकेर आएकी †’ आश्रम, तीर्थस्थल र मस्जिदहरू विश्वयात्री वा पर्यटकका सांस्कृतिक र परम्परागत गन्तव्यस्थल हुन् । आध्यात्मिक ज्ञानको खोजीमा रहने सबै मानिस मौलिक र शैलीबद्ध देखिन्छन्– युवा, अधबैँसे, बूढाबूढी, गोरो वा कालो, शिक्षित, सम्पन्न सबै नै । र, धार्मिक स्थलतिर डुलिहिँड्ने पर्यटकहरू सार्थकताको खोजीमा हुन्छन्, असल नियतमा भौंँतारिएका हुन्छन्, पशुपतिनाथतिर गाँजा तान्दै वा ओशो तपोवनतिर ध्यानमा मग्न गोराहरूलाई देखेरै अनुमान लगाउन सकिन्छ ।
ठमेल घुम्दै गर्दा एक गोरे पर्यटकले टोकरीमा स्याउ बेच्न हिँडेको बिहारी मधिसेसँग मोलतोल गरिरहेको देखेँ । ‘कति ?’ गोरेले सोध्यो । ‘बिस रुपियाँ’ – स्याउ टोकरेले भन्यो । गोरेले आधा नै मोल घटा भन्दै जिद्दी गर्न थाल्यो । ‘ल राख्’ –उसले दस रुपियाँ टोकरीमा राखिदियो र आफ्नो मोलतोल गर्ने कलादेखि दंग हुँदै एउटा स्याउ लिएर हिँड्यो । अन्तत: ऊ काठमान्डूका ‘जनता’ले जस्तै गर्न सफल भएको थियो बिहारीमाथि । उसलाई केबल एउटा ‘फिलिंस’ भएको थियो । बिहारी भैया गोरेलाई हिन्दीमा सराप्दै थियो– ‘मादर चो…।’
पर्यटकलाई लोभ्याउन मुख बाएर बसेका छन्, नेपाली हस्तकला क्युरियो पसलमा । पर्यटक पनि पर्यटनका चिनोहरूले आफूलाई सजाउँछन्, पत्थरका औँठी, बाला, मुन्द्री, भेडाको छालाको झोला, चाँदी, उनी टोपी र स्वेटरबाट । यी वस्तु मौलिक नेपाली हुन् तर नेपालीकै पहुँचमा छैनन् । पर्यटकले नेपाली झन्डा त किनेर लैजाला तर त्यसलाई राष्ट्रिय भावनाको एउटा नेपालीले जसरी आत्मीयतापूर्वक सुमसुम्याउला, सम्मानै गरिरहला भन्ने के ग्यारेन्टी ?
ठमेलमा लामो समय कटाउने पर्यटकहरूले अन्तरसांस्कृतिक संवेदनशीलता र ‘अनुभव’ का बारेमा भन्ने गरेको गहिराइ सांस्कृतिक साम्राज्यवाद हो, जसले विजयोन्मत्त गर्व गरेको हुनसक्छ । अमेरिकी पर्यटकको पारा हेर्दै या त रोनाल्ड रेगन या जिम्मी कार्टरलाई भोट दिने मानिसजस्ता लाग्छन् । ती दुवै पूर्व राष्ट्रपतिले अमेरिकाको राज्य बनाउने पार्टीको प्रतिनिधित्व गर्छन्, जो इराक, अफगानिस्तान वा भियतनामका स्वाधीनताप्रेमीको आमसंहारमा लिप्त छन् ।
ठमेल पश्चिमीकरणलाई उदात्त आँखाले हेर्छ । ऊ पूरै पश्चिमी गिटार, ड्रमसेट र स्याक्सोफोनका धूनमा पल्केको छ । तर, हिमाली क्षेत्र अझै चोखो रहने प्रयास गर्दै छ । पश्चिमी फिरन्ता अनि पर्यटकको पैसामा मक्ख परिरहेको ठमेलले आफूलाई पश्चिमीकरणमा चुर्लुम्मै पारेको छ, ‘बर्गर’ लाई लोकप्रिय भोजन बनाइसकेको छ । माइकल ज्याक्सन, म्याडोना र ब्रिट्नीलाई राष्ट्रिय गायक मान्न थालेको छ, नारायणगोपाल र लोकदोहोरी बिर्सिएकोमा पटक्कै पछुतो छैन उसलाई ।
यहाँका पर्यटक ठमेललाई अर्कै संसार ठान्छन् । उनीहरू अंग्रेजी बोल्छन्, पैसाले मत्त हुन्छन् र नसुहाउँदो गरी किसानहरूले लगाउने पहिरन लगाउँछन् । अनेक ‘अनुभव’को खोजीमा पहाडतिर जान्छन् । तिनको सम्पर्कमा आउने नेपालीहरू त्यस्ता पथप्रदर्शक हुन्, जसले समाज, संस्कृतिको ‘प्रतिनिधित्व’ गर्ने दायित्व लिएका हुन्छन् र आफू पर्यटकका पछि लागेर विदेश सयर गर्ने सपना बुनिरहेका हुन्छन् । अनि तीमध्ये केही साँच्चिकै स्पोन्सरसिपमा पश्चिमको यात्रा गर्न भ्याउँछन् ।
पश्चिमजस्तो होइन पूर्व । भाषिक, धार्मिक र दार्शनिक विभेदले पूर्व र पश्चिमलाई छुट्याउँछन् । यद्यपि, ठमेल आउने प्राय: पर्यटकले नेपाललगायत पूर्वलाई यसरी हेर्छन् मानौँ, तिनीहरू युरोपेली ग्रामीण इलाकाहरूमा छोटो यात्राका लागि हिँडिरहेका छन् । पैसा विनिमय गर्नु, गाँजा किन्नु, बाथरुम खोज्नु र डिनरको अर्डर गर्नु ‘अन्तरसांस्कृतिक सञ्चार’ भित्र पर्दैनन् भन्ने तिनीहरूलाई कहिल्यै लाग्दैन । हाम्रा सरकार र जनतालाई पर्यटक आए पुग्छ, ती पर्यटकले ठमेल घुमे पुग्छ र ग्रामीण पर्यटनका नाममा पोखरा वरिपरिका गुरुङ बस्तीमा एक रात बसिदिए पुग्छ ।
टोनी ह्विलरको ‘एकान्त ग्रह’ नामक पथप्रदर्शक पुस्तिकाले पर्यटकलाई यात्री भन्छ– ‘जो देशलाई सतहदेखि नै चाहन्छन््, यसमा सास फेर्न चाहन्छन्, अनुभव गर्न र यसमा बस्न चाहन्छन्, यी वास्तवमा यात्री हुन्, पर्यटक होइनन् ।’ टोनी लेख्छन्– ‘पर्यटकहरू हिल्टनमा बस्छन्, यात्री बस्तैनन् । यात्री तेस्रो विश्वपछाडिको गोरेटोहरूतर्फ हिँडिरहेका हुन्छन् र विदेशी संस्कृतिलाई केही फिक्का बनाई पचाइरहेका हुन्छन् ।’
वास्तवमा कुनै यात्री ठमेलमा हुन्छ भने ऊ कहिल्यै एक्लै हुँदैन, आखिर तिनीहरू सबैले एउटै खाले पुस्तक लिएका हुन्छन् । एउटै खाले होटलमा सुत्छन् । एउटै खाले रेस्टुरेन्टमा खान्छन् । ठमेललाई कुन ‘नजर’ ले हेर्नु ? पर्यटक केन्द्र, मसाज केन्द्र, यात्रीग्राम वा आफैँमा अस्पष्ट एक लोकेसन ? अध्यागमनका कर्मचारीको शयल गर्ने स्थानका रूपमा यदि कसैले ठमेललाई मानेको छैन भने पनि त्यो मान्यता गलत हुने धेरै सम्भावना छ । उसो भए ठमेल यस राज्यमा कहाँनिर पर्ला ? केशरमहलको दक्षिण, पकनाजोलको पूर्वोत्तर, क्षेत्रपाटीको पश्चिमोत्तर, ठँहिटीको पश्चिम, यस चार किल्लाभित्रको ठमेल नेपाल नामक राज्यमा पर्छ त ? जबकि रेस्टुरेन्टका बेयराहरूले सम्म पनि हामी नेपालीतिर कर्के नजरले मात्र हेर्छन् ।

प्रतिक्रिया