किताबले सघायो बाटो पहिल्याउन

किताब पढ्न पाउनु आफैँमा आनन्ददायक अवसर हो । कक्षा ६ अथवा ७ मा पढ्दा किताबसँग मेरो साक्षात्कार भएको थियो । आफँैमा हराउन मैले किताबको सहारा लिने गरेकी छु । म सानो छँदा किताब मेरा लागि मनोरञ्जनका साधन थिए । त्यतिबेला म उपन्यास पढ्नमा औधी आसक्त थिएँ । उपन्यासको संसारमा कहिलेकाहीँ म महिनौँसम्म हराउँथेँ । किताबसँग रमाउने भएकाले मलाई छरछिमेक र समाजमा घुलमिल हुन असहज लाग्थ्यो । त्यतिबेला मेरो ऐकान्तिकतालाई सहारा दिने भनेका पुस्तक नै थिए । म आफूलाई अब्बल पाठक त भन्दिनँ तर किताब पढ्दा म यति रमाउँथेँ कि किताबी संसारमा हराएको पत्तै हुँदैनथ्यो ।
मलाई अझै सम्झना छ, म घन्टौँसम्म किताबमा हराएको देख्दा आमा भन्नुहुन्थ्यो, ‘ए नानु † एकछिन बाहिर ‘फ्रेस’ हुन जाऊ ।’ तर, किताबसँग जति म कसैसँग ‘इन्जोय’ गर्दिनथेँ । अझ भनूँ, किताबले मलाई शरण दिएका थिए । अहिले पनि किताबप्रतिको मेरो मोह घटेको छैन । आफ्नो कुरा भन्न कोही भेटिनँ भने अहिले पनि मैले किताबकै सहारा लिने गरेकी छु । किताबले मलाई कहिल्यै निरास बनाएका छैनन् ।
केही समययता म आध्यात्मिक यात्रामा तल्लीन छु र जीवनजगत्को यथार्थ पहिल्याउने प्रयत्न गरिरहेकी छु । यस क्रममा थुप्रै आध्यात्मिक साधक, गुरु, मित्र र किताबसँग मेरो निकटता बढेको छ । गुरु गोयन्काजीले प्रकाशन गर्नुभएको ‘सियाजी उ बा खिन’जस्ता जर्नल, ‘अझान बोधी’जस्ता किताब मेरा प्रिय रचना बनेका छन् । थेरवादी बौद्धमार्गी भिक्षु अझान सुचितोले अनुवाद गरेका पुस्तक तथा उनका अन्तर्दृष्टि झल्कने पुस्तकले मलाई मोहित पारेका छन् । मलाई हौसला प्रदान गर्ने र बाँच्न झक्झक्याउने गुरु र पुस्तक अरू पनि धेरै छन् । यी किताब र महापुरुषहरूको संसर्गबाट म निष्कर्षमा पुगेकी छु, त्यो के भने अध्यात्म भनेको ‘मिथक’ मात्र होइन, हाम्रो दैनिक जीवनमा काम लाग्ने शाश्वत सत्य हो ।
जीवनको सही दिशा कुन हो ? यही प्रश्नको उत्तर खोज्ने क्रममा म आध्यात्मिक गुरुको शरणमा पुगेकी थिएँ । मार्गनिर्देश र न्यानो स्नेह पाउने आशामा म गुरुको शरणमा पुगेकी थिएँ । जब समय गुजिँरदै गयो, मेरो आध्यात्मिक तिर्खा सघन र तीव्र हुन पुग्यो । लाग्न थाल्यो– यो संसार मेरा लागि उपयुक्त ठाउँ होइन । आध्यात्मिक चिन्तन गर्नु छ भने विश्वप्रणालीबाट अन्त कतै टाढा जानुपर्छ भन्ने मलाई लाग्थ्यो । म आफ्नै तरिकाले संसारदेखि टाढा पुगँे । जीवनजगत्प्रतिको धारणा त्यतिबेला विरोधाभाषपूर्ण र जटिल थियो । यस्तोमा सत्य के हो र सही निर्णय के हुन सक्छ ? म प्रस्ट थिइनँ ।
यस्तै अनेक प्रश्न र गुरुहरूको शिक्षादीक्षाबाट मैले महसुस गरेँ– सही मार्ग खोज्ने र मार्गनिर्देशको आत्मिक पक्ष पहिल्याउने समय आइसकेको छ । जीवनमा मानिसले दुईखाले निर्णय लिनुपर्छ भन्ने बोध मलाई भएको छ– आन्तरिक र बाह्य निर्णय । दुवै अन्तरसम्बन्धित छन्, जब यिनीहरू सापेक्षित संसारमा प्रकट हुन्छन् । तर, यस्ता निर्णय लिने सन्दर्भ र क्षण भने नितान्त भिन्न हुन सक्छन् ।
हामीले लिने निर्णय हाम्रो परिपक्वतामा निर्भर रहन्छ । हाम्रा सामाजिक परिवेशले यस्तो निर्णय लिन प्रेरित गराउँछन् । समाजको स्वीकारोक्तिमा आउने उतारचढावसँगै मानिसका निर्णय पनि बदलि रहन्छन् । यदि सामाजिक परिवेशसँगै निर्णय बदलिन्छ भने हामीले लिने निर्णय सही हो या गलत भन्ने कुरा कसरी थाहा पाउने ? हामीले लिने निर्णय पछाडिको कारण अथवा अस्तित्वको अन्तिम सत्य वा अन्तिम यथार्थ केही हुँदैन । यस्ता सत्य र निर्णयहरू सबै सापेक्षिक हुन्छन् । खास किसिमको परिवेशमा घुलमिल हुन हामी त्यहीअनुरूपको सत्य निर्माण गर्छाैँ । आफ्नो कल्याणका लागि मानिसले जीवनमा केही निर्णय लिनुपर्ने हुन्छ, जसलाई म आन्तरिक निर्णय भन्छु ।
शारीरिक, मानसिक र संवेगात्मक दृष्टिकोणले जागृत भए हामी हाम्रो आन्तरिक आनन्द के हो भन्ने पहिल्याउन सक्छौँ । आन्तरिक अन्वेषणका लागि धेरैले धार्मिक, आध्यात्मिक तथा उपचारात्मक विधि अवलम्बन गर्ने गरेका छन् । आन्तरिक ब्रह्मान्डको खोजी गर्न चाहने प्राय: सबैले यस्तो विधिको प्रयोग गर्छन् । यस्ता विधि उपयोगी हुन्छन् भन्नेमा कुनै सन्देह छैन । यसले हामीलाई गन्तव्यको झल्को प्रदान गर्छ । जुनसुकै विधि पहिल्याउने हो भने पनि गन्तव्य फेला पर्ने निश्चित छ । यसले हाम्रो लक्ष्यको ग्यारेन्टी गर्छ । यसले हामीलाई नियन्त्रित र सुरक्षित महसुस गराउँछ ।
हामी आध्यात्मिक मार्गमा छौँ भन्ने कुरामा हामीलाई मनाउनका लागि सबै तत्त्वलाई सँगै राख्नुपर्छ । यस यात्राका बीचमै यही नै एकमात्र सही मार्ग हो भन्ने कुरामा हामी जिद्दी गर्छौँ । तर, अलिक निकट पुगेर हामीले हेर्‍यौँ भने यो सही नै हो भन्ने लाग्छ । तर, यही रुढताबाट हामीले खोज्यौँ भने यस जगत्देखि हामी कति टाढा छौँ भन्ने अनुभव हुन सक्छ । त्यसपछि चाहिँ सांसारिक कार्यमा नलाग्ने र सांसारिकताबाट विच्छेद भएको अनुभव हुन बाँकी रहन्छ । अब हामीले हामी बाँचेको बाह्य जगत्सँगको सम्बन्धलाई पूरै समाप्त गर्न सक्ने सम्भावना हुन्छ । त्यसपछि हामी अर्को अतिमा प्रवेश गर्छौँ र आफूलाई सन्तुलन गुमाइसकेको पाउँछौँ । त्यसपछि मात्रै मैले चुनेको मार्ग पूरै सही मार्ग हो भन्ने पूर्ण सत्य होइन भन्ने कुराको बोध हुन्छ । कुनै निश्चित अनुशासनको अनुपालन गर्नुका निश्चय नै जीवनका लागि केही लाभदायक हुन्छ तर उपयुक्त ढंगले विधिलाई नबुझी अघि बढ्नु भने उपयुक्त हुँदैन ।
विधिमा पूरै समर्पित नभएसम्म हामीले आन्तरिक र बाह्य यात्राबीच कसरी सन्तुलन कायम गर्न सक्छौँ ? जब म कुन सही या कुन गलत मार्ग हो भन्ने कुरामा द्विविधामा पर्छु, त्यतिबेला मेरा लागि आफ्ना अनुभव मात्र सहायक हुन्छन् । कुनै सूत्र अथवा कुनै सम्प्रदायको संरचनामा बाँधिन नचाहे मानिसले कसरी सही बाटो पहिल्याउने त ? यही कुरा थाहा दिने र मलाई आध्यात्मिक यात्रामा लगाउने काम तिनै जर्नल र पुस्तकले गरेका हुन् ।

प्रतिक्रिया