सुखद् प्रतिगमनको आशा

संविधानसभा विघटनसँगै नेपालको अन्तरिम संविधानका कतिपय महत्त्वपूर्ण धारा निस्क्रिय भएका छन् । संवैधानिक जटिलताको एउटा पाटो त छँदै छ, राजनीति पनि उस्तै अन्योलग्रस्त र निकासविहीन बनेको छ । चार वर्षदेखि सहमतिको रटान अलाप्दै आएका नेताहरूले अझै पनि त्यो राग अलाप्न छाडेका छैनन् । वास्तवमा सहमति केका लागि भन्ने कुरामै नेताहरू प्रस्ट नभएको छनक मिल्छ । आजसम्म नेताहरूका सहमतीय अलाप केवल सरकार गठनको कुरामा मात्र केन्द्रित छ । सरकार गठनको कुरामा सहमति हुन सक्छ तर भिन्न दर्शन बोकेका राजनीतिक दलहरूका बीच संविधान निर्माणको सवालमा सहमति हुन नसक्नु कुनै आश्चर्यजनक कुरा होइन । संविधान सहमतिबाट होइन, सम्झौताबाट आउनुपथ्र्यो । सम्झौताहरू भएका पनि थिए तर आफैँले हस्ताक्षर गरको सम्झौताको अपनत्व ग्रहण गर्ने कुरामा नेताहरूको कञ्जुस्याइँ संविधानसभा विघटनको कारण बन्यो । सतहमा नदेखिने राजनीति र शक्ति आर्जनका अनेक दाउपेचको उक्साहट त त्यसमा छँदै थियो ।
करिब–करिब सत्तापक्ष र प्रतिपक्षमा धु्रवीकृत भइसकेको राजनीति विशेषत: ब्राजिलबाट फर्किने क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थलमा दिएको वक्तव्यपछि केही फरक हुने छाँट देखिँदै छ । भइरहेको राजनीतिक धु्रवीकरणलाई रोक्ने प्रचण्डको पहलकदमी हो वा ‘बाबुरामले धेरै खायो, उसकै रिसले वैद्यहरूले पनि पार्टी छाडे’ भन्ने प्रचण्डको विश्लेषण हो– जेसुकै भए पनि प्रधानमन्त्रीको भनाइप्रति आºनो विमति सार्वजनिक रूपमा पोखेर प्रचण्डले विपक्षीलाई विश्वासमा लिन खोजेको देखिन्छ । पार्टी बाबुरामकै कारण फुटेको हो भनेर स्थापित गराउने उनको चाल पनि हुन सक्छ । यदि राजनीति देखिएझैँ अगाडि बढेको हो भने, अब स्वयं बाबुराम आºनै पार्टीभित्र एक्लो हुँदैछन् । संविधानसभा विघटन उनले होसियारीपूर्वक गरेका हुन् तर विपक्षीहरूले राष्ट्रपति लगाएर भए पनि उनलाई गलहत्याउने प्रपञ्च रचेपछि भने बाबुराम अलिक हतास देखिन्छन् । त्यही हतासको परिणाम, त्यसो नगर्न अप्रत्यक्ष रूपमा बारम्बार राष्ट्रपतिलाई चेतावनी पनि दिइरहेका छन् ।
मानिसहरू सत्तामा टिक्न खोज्ने सबैलाई सत्तालोलुप भनी व्याख्या गर्छन् । कतिपय सन्दर्भमा त्यो जायज पनि लाग्ला तर बाबुराम अहिले जे गर्दै छन्, त्यो सत्तालोलुपताका कारण गरिरहेका छैनन् । एक समय नेपाली मिडियाले बाबुरामलाई लोकतन्त्रका निकै ठूलो मसिहाका रूपमा व्याख्या गर्‍यो । बाबुराम आए नेपालको कायापलट हुन्छ भन्ने भ्रम समाजमा छर्‍यो । ठीक त्यहीबेला बाबुरामले पनि आºनो बोलीमा चिल्लो घसे र मसिनो बोल्न थाले । तर, बाबुरामलाई विगतदेखि सुन्नेहरूलाई उनीभित्रको जडता र संकीर्णताको मात्रा पहिल्याउन गाह्रो छैन । उनी आºनो विपक्षीहरूमाथि कति असहिष्णु छन् र कति सस्ता शब्दहरूले प्रहार गर्छन् भन्ने कुरा प्रचण्ड सरकार बन्ने बेलामा उनले संसद्मा गरेको भाषण सम्झिए पुग्छ । देखाउनलाई बाबुरामले चुनावको घोषणा गरेका छन् तर त्यो गराउने भन्दा पनि नगराउने उद्देश्यले बढी प्रेरित छ । निर्वाचन आयोगले अहिलेकै स्थितिमा चुनाव सम्भव छैन भनेपछि उनले झन् राहत महसुस गरिरहेका छन् । चुनाव गराउने नै उनको चाह हो भने किन उनले आवश्यक कानुनहरू संशोधनका लागि राजनीतिक सहमति निर्माण गर्नेतर्फ किन पहलकदमी लिएका छैनन् ? त्यसैले अहिले बबुरामको पहिलो उद्देश्य बाँकी रहेका संवैधानिक जगहरू पनि कमजोर बनाएर अराजकता निम्त्याउने र त्यहीँबाट आफू स्थापित हुने हो । प्रचण्डले ‘बाबुरामसँग मेरो भावना मिल्न छाड्यो’ भने पनि बाबुरामलाई त्यसको प्रवाह छैन । लाग्छ, उनी अब प्रचण्डलाई पनि ‘काउन्टर‘ गर्ने मनस्थितिमा छन् । बाबुराम भट्टराईले आफूले सत्ता छाडे माघ १९ दोहोरिने र त्यो प्रतिगमन हुने बताएका छन् । उनले त्यसो भन्नु विल्कुल जायज हो । किनकि एउटा राष्ट्रपति नामक संस्था बाँकी छ, जसले बाबुरामलाई सत्ताकब्जाको उद्देश्यमा तगारो हालिरहेको छ । तर, अगाडि बढ्ने सबै संवैधानिक बाटाहरू बन्द भएको अवस्थामा देशको राजनीति एउटा प्रतिगमनबाट गुज्रिनु जरुरी छ । अग्रगमन सधैँ राम्रो र प्रतिगमन सधैँ नराम्रो भन्ने हाम्रो मानसिकताबाट हामी अब मुक्त हुनै पर्छ ।

प्रतिक्रिया