मन्दिर चहार्दै पूर्वराजा

भैरहवा, २१ असार । लुम्बिनी अञ्चलको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पूजाआजा र भेटघाटमा व्यस्त छन् । १७ असारदेखि लुम्बिनी भ्रमणमा रहेका शाहले पूजाआजाका लागि बुटवलका मन्दिर चहारिरहेका छन् ।

शाहले बुधबार बुद्धभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरे । बुधबार बिहान १० बजे भैरहवाबाट लुम्बिनी पुगेका शाहको स्वागतका लागि लुम्बिनी परिसरमा सयौँको संख्यामा रहेका सर्वसाधारणले फूलमालाले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नाराबाजीसमेत गरेका थिए । तर, शाहको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारी भने उपस्थित भएनन् । कोषका केही कर्मचारी र भिक्षुको उपस्थिति थियो ।
सो अवसरमा शाहले सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी पनि गरेका थिए । ‘लुम्बिनीबाट मैले शान्तिको कामना गरेको छु,’ उनले सर्वसाधारणसँग भने । करिब एक घन्टा मायादेवी मन्दिर परिसरको परिक्रमा गरेका शाह रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सिलौटियास्थित मर्चवारी माईसमेत पुगेका थिए । मर्चवारी माईमा शाहको स्वागतार्थ ठूलो संख्यामा सर्वसाधारण उपस्थित थिए । उनीहरूले स्थानीय भोजपुरी भाषामा ‘जबतक चाँद सुरज रहेगा, तबतक राजा रहेगा, हाम्रो राजा हाम्रो देश …’ जस्ता नाराबाजी गरेका थिए । सो मन्दिरमा राजाले लगभग आधा घन्टा पूजाआजा गरे । पूर्वराजा सर्वसाधारणका कुरा ध्यानपूर्वक सुन्दै ढाडस दिइरहेका देखिन्थे । शाहले मंगलबारै पुरानो बजारस्थित गणेश मन्दिर तथा नयाँगाउँको मुक्तिनाथ धाम पुगेर पूजाआजा गरेका थिए ।

प्रतिक्रिया