राजनीतिमा अल्झिएकी थारू अभिनेत्री

काठमाडौं, २१ असार । थारूभाषी चलचित्रकी लोकप्रिय अभिनेत्री सोनु थारू लामो समयपछि चलचित्रमा फर्किएकी छन् । थारू चलचित्र तुम मिल गिलोमार्फत उनी अभिनय दुनियाँमा फर्किएकी हुन् । उनकै होम प्रोडक्सन सोना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र अहिले छायांकनको तयारीमा छ ।
आमा बनेका कारण केही समय चलचित्रबाट विश्राम लिएको सोनुले बताइन् । ‘बच्चाको हेरचाहलाई पनि त समय दिनुपर्‍यो नि,’ उनले थपिन्, ‘अहिले बच्चा ठूलो भयो, त्यसैले चलचित्रमा फर्किएँ ।’ छोरा अहिले चार वर्षको भएको उनले बताइन् ।
यसअघि थारू भाषाका दरार, डगर र यी कैसिन नाताजस्ता चलचित्रको निर्माण तथा अभिनय गरेकी सोनुले नेपाली भाषाका थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरेकी छन् । नेपाली चलचित्र देवरबाबुमा पनि उनको अभिनय छ ।
अभिनयका अलावा राजनीतितिर पनि ढल्किएकी सोनु अहिले थरुहट तराई पार्टीसँग आबद्ध छिन् । ‘अभिनय र राजनीति उस्तैउस्तै हुन्,’ उनले कारण खोलिन्, ‘राजनीति पनि एउटा कला हो ।’ राजनीतिमा समय दिनुपरेकाले पनि पहिलेजस्तो चलचित्र गर्न नसकेको उनले सुनाइन् ।
तर, राजनीतितिर साह्रै लगाब भएकाले आफू यतातिर लागेकी नभई थारूका बारेमा आवाज उठाउने व्यक्ति नदेखेकाले राजनीतितिर लागेको सुनाउँछिन् । उनले सौर्यसँग भनिन्, ‘आफ्नो समुदायको पहिचानका लागि राजनीतिमा लागेँ ।’ यसै सिलसिलामा देशका विभिन्न ठाउँको दौडाहामा लागेकी उनी अब कलाकारितालाई पनि सँगसँगै निरन्तरता दिने सोचाइमा रहिछन् । ‘कलाकारिता मेरो पेसा हो, राजनीतिचाहिँ समाज सेवा,’ उनले भनिन्, ‘त्यसैले म पेसा छाड्न सक्दिनँ, हरेक वर्ष कम्तीमा एउटा चलचित्र बनाउनेछु ।’
अहिलेसम्म थारूभाषी चलचित्र मात्र बनाउँदै आएकी उनी भविष्यमा नेपाली चलचित्र पनि बनाउने योजनामा छिन् । ‘किनकि, म आफ्नो पेसागत परिचयलाई फराकिलो बनाउन चाहन्छु,’ उनले भनिन् ।

प्रतिक्रिया