आर्थिक मन्दी बिर्सिएर युरोकप विजयोत्सव मनाउँदै

म्याड्रिड, २० असार । आर्थिक मन्दीले जर्जर देशको खराब अवस्थालाई बिर्सिएर हजाराँै स्पेनवासीले मंगलबार आफ्नो देशको युरोपेली च्याम्पियन फुटबल टोलीको भव्य स्वागत गरे । स्पेनको राष्ट्रिय रंग रातो र पहेँलो जर्सी लगाएर म्याड्रिड सहरको बीच सडकमा हजारौँ फुटबल समर्थक आइतबार राति युरोकप–२०१२ को उपाधिविजेता फुटबल टोलीको स्वागतमा व्यस्त थिए । म्याड्रिड म्याजिक स्ट्रिक टाउनहिलको ठीकअगाडि रहेको सिबेलास प्लाजामा समर्थकहरूका माझ खुसी मनाउन राष्ट्रिय फुटबल टोली २१ घन्टा ३० मिनेट लामो यात्रा गरेर त्यहाँ पुगेको थियो ।
वाइन र पपगीतमा मस्त फुटबल टोलीका सबैभन्दा प्रभावकारी मिडफिल्डर जाभी हर्नान्डेज अबको केही दिन खुसियालीमै रमाउने बताउँछन् । ‘अब हाम्रा अगाडि २०१३ को कन्फेडेरेसनकप र २०१४ को विश्वकप छन् । तर, हामी केही दिन भने यो खुसियाली मनाउनमा नै व्यस्त रहनेछाँै ।’
युक्रेनको राजधानी किभबाट फर्कनेबित्तिकै फुटबल टोलीलाई भेट्न स्पेनका राजा हुवाँ कार्लोस प्रथम परिवारसहित जर्जियुला दरबार पुगेका थिए । आइबेरिया एअरलाइन्सको प्लेनले फुटबल टोलीलाई स्पेनको राजधानी म्याड्रिड पुर्‍याएपछि स्पेनिस टोली त्यहाँ विजयोत्सव र नगर परिक्रमामा नै व्यस्त रहेको छ ।
फुटबल टोलीलाई स्वागत गर्न राजकुमार फिलिप, अधिराजकुमारी लाटजिया र युवराज्ञी एलेनाले युरोकप चुम्दै र स्पेनिस टोलीसँग ठट्टा गर्दैै लामो समय बिताए । ‘कप’ कप्तान आइकर कासियास र प्रशिक्षक भिसेन्टे डेल बोस्कीले बोकेका थिए । ‘मेरो परिवार र समग्र स्पेनको तर्फबाट म फुटबल टोलीलाई बधाई दिन चाहन्छु,’ राजा हुवाँ कार्लोसले भने, ‘यो फुटबल टोलीले देशका सबैलाई खुसी बनाएको छ ।’ राजपरिवारको भेटअघि पाँच किलोमिटर जाम गरेर बसेका नागरिकले ‘च्याम्पियन च्याम्पियन, ओए ओए’ भन्ने नारा लगाएका थिए ।
फुटबल खेलाडीलाई बसमा राखेर घोडा र मोटरसाइकलमा रहेका पुलिसहरूले स्कर्टिङ गरेका थिए । सहरका बासिन्दाले घरको कौसीमा बसेर उनीहरूलाई स्वागत गरेका थिए । पेय पदार्थमा मस्त खेलाडीहरूले ट्रफी उचाल्दै र झन्डा हल्लाउँदै आम स्पेनिससँग खुसी साटेका थिए । ‘यो साँच्चै खुसीको क्षण हो । यो खुसीको क्षणमा खेलाडीहरूको साथमा रहन पाउँदा म आफूलाई भाग्यमानी ठान्छुु । आर्थिक मन्दीले हाम्रो अवस्था खराब छ भन्ने पनि अहिले हामीले बिर्सिएका छौँ । यो अवस्थामा यही फुटबल टोलीले २०१४ को विश्वकप पनि जितेर देशको उद्धार गर्नेछ भन्ने मलाई विश्वास छ,’ स्पेनको राष्ट्रिय टोलीकै जर्सी लगाएका ४७ वर्षीय बस इन्सपेक्टर जोसे लुइस क्लेमेन्टले भने ।
उनले फुटबल टोलीका कारण आर्थिक समस्या समाधान हुन सहयोग पुग्ने बताए पनि राजनीतिक नेतृत्व र अर्थशास्त्रीहरू सचेत नभए समस्या समाधान नहुने बताए । स्पेनको एउटा पत्रिकामा डेल बोस्की प्रधानमन्त्री तथा जाभी र इनिएस्टा प्रभावकारी मन्त्री भएको फुटबल टोलीकै मन्त्रिमण्डल बनाए देशको आर्थिक समस्या समाधान हुने आशयको कार्टुन प्रकाशन भएको थियो । आर्थिक संकट, २५ प्रतिशत बेरोजगारी र युरोपियन युनियनले गरेको ‘बैंकिङ बेलआउट’ जस्ता समस्यालाई स्पेनवासीले केही दिन बिर्सनेछन् ।
विश्वविद्यालयका एक विद्यार्थी भन्छन्, ‘कमसेकम ती उत्कृष्ट ९० मिनेट र त्यसको एक दिनपछि हामीले यी सारा समस्यालाई बिर्सियौँ ।’ एजेन्सी

प्रतिक्रिया