आर्थिक विकासको केन्द्र बन्दै सहकारी

काठमाडौं, २० असार । सहकारी मुलुकको आर्थिक विकासको केन्द्र बन्दै गइरहेको अर्थविद्हरूले बताएका छन् । अर्थविद् डा. चिरन्जीवी नेपालले सहकारी प्रजातान्त्रिक मुलुकको केन्द्रबिन्दु भएको बताए । सहकारिताका माध्यमबाट देशको आर्थिक विकास सम्भव रहेको पनि उनले बताए । संकटा बचत तथा ऋण सहकारी संस्था (साकोस) र नेपाल सहकारी समाज (सिजेएन) द्वारा संयुक्त रूपमा आयोजित ‘पत्रकारिता अभिवृद्धि तालिम’ मा उनले सो कुरा बताएका हुन् ।

‘मुलुककको अर्थतन्त्रमध्ये सहकारीले आफूलाई एक खम्बाको रूपमा स्थापित गरेको छ,’ नेपालले भने, ‘सरकारले यस क्षेत्रमा न्यून बजेट छुट्याउने गरेको छ, अधिकांश त तलबमै सकिन्छ ।’ उनले हालसम्म सहकारी नीति नभएका कारण सहकारी व्यवस्थित र सही तरिकाले सञ्चालन हुन नसकेको उनले बताए । बैंक तथा वित्तीय संस्थाका सञ्चालक भाग्ने गरेको उदाहरण दिँदै उनले सहकारी संस्था भाग्नु नौलो कुरो नभए पनि यसको नीतिनियममा कडा गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपालको सहकारी ऐन कमजोर रहेको कानुन मन्त्रालयका सचिव मानबहादुर अर्यालले बताए । ‘थोरै सहकारी हुँदा अहिलेको स्थितिमा उपयुक्त छैन’ उनले भने, ‘यसको परिमार्जन गरी सहकारीलाई व्यवस्थित बनाउनेतर्फ लाग्नुपर्छ ।’ सरकार सहकारी नीति पास गर्नेतर्फ लाग्नुपर्ने पनि उनले बताए । कृषक, कालीगढ, कम पुँजी भएका, निम्न आय भएका वर्ग, भूमिहीन, श्रमिक, बेरोजगार वा सामाजिक कार्यकर्ता सहकारीका लक्षित वर्ग तोकिए छ, उनले भने, ‘यस वर्गमा सबै मानिस पर्ने उनको भनाइ थियो ।’
अन्य वित्तीय संस्थाको तुलनामा सहकारी कमजोर रहेको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । उनले कमजोर रहे पनि व्यवस्थापन भने उनीहरूको तुलनामा कमी नरहेको बताए । सहकारी संस्थालाई सबल, सक्षम र पादर्शी बनाउनु चुनौती रहेको उनको भनाइ थियो । ‘सहकारी भनेको सहकार्य हो,’ रजिस्ट्रार न्यौपानेले भने, ‘सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन ।’ सहकारीबाट गरिबीदर घटेको बताउँदै उनले सहकारिताका माध्यमबाट घट्ने गरिबीदरको अध्ययन गर्नुपर्ने बताए ।
समाजलाई डोहोर्‍याएर हिँड्ने खालको पत्रकारिता आजको आवश्यकता रहेको उनको जीकिर थियो । आगमी वर्षदेखि सहकारी विभागले सहकारी क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गर्ने नीति रहेको बताए । राज्यको अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी पनि एक रहेकाले यसक्षेत्रमा कलम चलाउनु अझ आवश्यकता रहेको उनको भनाइ थियो । कार्यक्रममा संकटा बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठले सहकारी संस्था व्यावसायिक रूपमा जानुपर्ने बताए । ‘सहकारीलाई तल्लो व्यवसायका रूपमा हेरिन्छ,’ श्रेष्ठले भने, ‘सहकारीले सानो क्षेत्रमा मात्र नभई ठूला/ठूला उद्योग सञ्चालन गर्नसमेत सक्ने क्षमता छ ।’
सहकारीको विकासका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहने भएकाले यी दुवै मिली जानु आवश्यक रहेको उनको ठहर थियो । ‘सहकारीलाई सूचना प्रकाशन तथा प्रसारणमा फुकुवा गराउनु पर्छ,’ प्रबन्ध सञ्चालक श्रेष्ठले भने, ‘राज्यले बजेटको शून्य दशमलव २५ प्रतिशत बजेट सूचना प्रकाशन तथा प्रसारणमा गरिनु पर्छ ।’ सहकारीलाई कृषि, बचत तथा ऋणमा मात्रै सीमित नगराई शिक्षा, हाइड्रो, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्न दिनुपर्ने जिकिर गरे ।
क्षमता अभिवृद्धि तालिम
नेपाल सहकारी समाज (सिजेएन) र संकटा बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा सहकारी क्षेत्रमा कलम चलाउँदै आएका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । मंगलबारबाट सञ्चालन भएको सो तालिम २ दिनसम्म चल्नेछ ।
तालिमा करिब ३० जनाको सहभागिता रहेको छ । सहकारीसम्बन्धी समाचार संकलनका लागि सहयोग पुग्ने हेतुले आयोजना गरिएको नेपाल सहकारी पत्रकार समाजले जनाएको छ । आगामी दिनमा पनि विभिन्न संस्थाको सहकार्यमा तालिमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया