चलचित्रमा भोगेका १० घटना

चलेका निर्देशकमा गनिन्छन् मदन घिमिरे । इन्जिनियरिङ अध्ययन गर्दागर्दै पत्रकारिता सुरु गरेका उनले एक्कासि चलचित्रतिर फड्को मारेका हुन् । फुल निर्देशक हुनुअघि सहायकका रूपमा लामै समय अनुभवको कसीमा घोटिएका हुन् उनी । आमाको मायाबाट निर्देशकका रूपमा हात हालेका उनले अहिलेको धड्कनभित्रसम्म आइपुग्दा दुई दर्जन हाराहारीका चलचित्र निर्देशन गर्न भ्याइसके । स्वाभिमान र माया गर ल त उनी आफैँले निर्माणसमेत गरेका हुन् । आमाको माया, माया नगर, दादागिरीलगायत उनका थुप्रै चलचित्रले व्यावसायिक सफलता पनि हात पारेका छन् । तैपनि आफूले चाहेजस्तो र आºनो क्षमताको पूर्ण सदुपयोग हुने खालको चलचित्र अहिलेसम्म गर्न पाएका छैनन् रे उनले । यिनै निर्देशक घिमिरे आज सौर्यमार्फत आºनो जिन्दगीका दसवटा महत्त्वपूर्ण अनि अविस्मरणीय क्षणहरू सम्झँदै छन् :

पत्रकारिताको क्षण
०३९ सालतिर ‘कामना’ पत्रिकामा काम गर्थे । त्यो पत्रिकाका लागि धेरै दु:ख गरेँ । पाँचदेखि १६ अंकसम्म त त्यत्तिकै काम गरेको छु । यस्तो हालतमा चलचित्र पत्रकारिता गर्नु ठूलो चुनौती थियो । कलाकार धेरै थिएनन् । भएका कलाकारको अन्तर्वार्ता लिन जाँदा चिया आफैँले खुवाउनुपथ्र्यो । पत्रिकाबाट पैसा आउँदैनथ्यो, आफैँले उल्टै कलाकारलाई चिया खुवाउनुपर्ने । साह्रै गाह्रो हुन्थ्यो, टिक्नै धौ–धौ । भित्र त्यस्तो अवस्था भए पनि बाहिर पत्रकारलाई इज्जतिलो नजरले नै हेरिन्थ्यो । त्यति बेला पत्रकारितामा गरेको दु:खको अझै माया लाग्छ । त्यो रस हटेको छैन, त्यसैले बेलाबखत अहिले पनि पत्रपत्रिकामा लेख्ने गर्छु ।

सहायक निर्देशन प्रारम्भ
कुरो ०४४ तिरको होला । नेपाली चलचित्र भाग्यरेखा निर्माण हुने क्रममा थियो । त्यही सिलसिलामा स्वर्गीय निर्देशक दीपक रायमाझीसँग अन्तर्वार्ताका लागि गएको थिएँ । त्यो समयमा म एल्बमका लागि फाट्टफुट्ट गीत लेख्थेँ । अन्तर्वार्ताका बहानामा उहाँलाई एउटा गीत पनि दिने योजना थियो । दीपक दाइले त्योसहित अर्को गीत पनि लेख्न लगाउनुभयो । चलचित्रको समीक्षा पनि गर्ने भएकाले उहाँले मलाई त्यसको स्क्रिप्ट पनि मिलाउ भन्नुभयो । भाग्यरेखाको स्क्रिप्ट उहाँ र म बसेर मिलायौँ। त्यही क्रममा उहाँले मलाई त्यो चलचित्रमा मुख्य सहायक निर्देशकका रूपमा काम गर्न भन्नुभयो । मैले चलचित्र यात्रा सुरु गरेँ । त्यसपछि सहायक निर्देशकका रूपमा काम पाउन थालेँ ।

झ्यालबाट लुकेर पस्थेँ
०४६ तिरको कुरो हो, सहायक निर्देशनमा भिजिसकेको थिएँ । मैले चलचित्रमा काम गरेको बुबालाई चाहिँ मन परेको थिएन, त्यसैले उहाँको अगाडि कहिल्यै पर्दैनथेँ । बुबालाई मलाई इन्जिनियर बनाउने चाहना थियो । मलाई भने चलचित्रमा रस बसिसकेको थियो । काम गर्दा राति १०–११ बज्थ्यो । उति बेला अहिलेजस्तो यातायातको सुविधा थिएन । म भक्तपुरमा बस्ने भएकाले अलि ढिलासम्म ट्रली बस सेवा मात्र चल्थ्यो । त्यसको पनि उति भर थिएन, कहिले केले कहिले केले बन्द भइरहन्थ्यो । हिँडेर घर पुग्दा १२–१ बजिरहन्थ्यो । बुबाले थाहा पाए गाली गर्नुहुन्छ भनेर आमाले पछाडिको झ्याल खुल्लै राखिदिनुहुन्थ्यो । म त्यसैबाट छिरेर खाना खाएर सुत्थेँ । यो क्रम एक वर्षसम्म त्यसरी नै चल्यो ।

पहिलोपटक निर्देशन
मैले मुख्य सहायक निर्देशकका रूपमा थुप्रै वर्ष बिताइसकेको थिएँ । एक दिन निर्माता समुद्र भट्टचनले भेट्नुपर्‍यो भनेर फोन गर्नुभयो । उति बेला अहिलेजस्तो मोबाइल थिएन । तीन दिनको प्रयासपछि बल्लबल्ल साथीमार्फत उहाँले मेरो ल्यान्डलाइन नम्बर पत्ता लगाउनुभएछ । जब म उहाँलाई भेट्न पुगेँ, आमाको माया चलचित्र निर्माण गर्न आँटेको र त्यसको फुल निर्देशन मलाई दिने सुनाउनुभयो । तर, त्यो चलचित्र मेरा गुरु दीपक रायमाझीले गर्ने हल्ला बजारमा चलेकाले मैले तुरुन्तै डिसिजन दिइहालिनँ । निर्माता भट्टचनले मलाई केही दिन सोच भन्नुभयो । म त्यहाँबाट सिधै गुरुकामा गएँ । उहाँले पहिलेजस्तो व्यवहार देखाउनुभएन । तैपनि गुरुलाई भनेँ– यसको निर्देशन तपाईं नै गर्नुस्, म सघाउँछु । उहाँ रिसाइरहनु नै भयो । गुरुले केही नभनेपछि सोझै घर गएँ । निर्माता भट्टचनलाई पनि गुरुलाई दिन भनेँ । तर, उहाँहरूबीच के मनमुटाब रहेछ कुन्नि, तपाईंले नगर्ने भए अरू नै कसैलाई दिन्छु, चाँडै निर्णय गर्नुस् भन्न थाल्नुभयो  । आखिरमा म जीवनकै पहिलो पूर्ण निर्देशकका रूपमा सो चलचित्रमा काम गर्न तयार भएँ । त्यो क्षण मलाई अहिले पनि सपनाजस्तो लाग्छ ।

प्रेमपूजाको क्षण
निर्माता विनोद अधिकारी र प्रेमजीले मलाई उहाँहरूको एउटा चलचित्र निर्देशन गर्न अनुरोध गर्नुभयो । नाम थियो– प्रेमपूजा । प्राय: सबै नयाँ व्यक्ति थिए । लेखनमा थिए अहिलेका स्थापित निर्देशक शिव रेग्मी, सहायक निर्देशनमा थिए राजेन्द्र उप्रेती । एनबी महर्जन पहिलाचोटि फाइन दिर्नेशन गर्दै थिए । अहिलेका निर्देशक विमल पौडेल हिरो थिए, अर्पणा सिंह र निस्था मल्ल हिरोइन । त्यो चलचित्रमा काम गर्ने जति पनि व्यक्ति थिए, तिनैले कसैले चामल, कसैले गाडी त कसैले तरकारी ल्याउँथे । त्यसरी नै सुटिङ सुरु गरिएको थियो । मेरा लागि चाहिँ पछि लफडै भयो । निर्माताले पकाएको खसीको मासुमा राँगाको मासु मिसाएछन् । म बाहुनको छोरो । खाना खाने बेलामा मुखमा हाल्नेबित्तिकै त्यो थाहा पाएँ । मलाई गाह्रो हुन थाल्यो, सम्झिएर भमिट गरेको गर्‍यै गरँेछु । साथीहरू त अस्पतालै लैजानुपर्छ कि भन्न थालिससकेका थिए । अहिले पनि सुटिङमा खाना खाँदा मलाई त्यो घटनाले झस्काइरहन्छ ।

प्रियाको इन्ट्री
०५९/६० सालतिर होला, चलचित्र घरसंसारको छायांकन थियो । हिरोइन थिइन्, दीपाश्री निरौला । हामीलाई निकै दु:ख दिइरहेकी थिइन् । जसो भए पनि सुटिङ त गर्नैपर्‍यो, म क्यामेरा मिलाएर दीपालाई फोकस गर्दै सेट मिलाउन भन्दै थिएँ । त्यही बेला दीपाका पछाडि प्रिया रिजालको इन्ट्री भयो । मैले क्यामरा उनीतिर फोकस गरेँ । हेरेँ, दीपाभन्दा धेरै राम्री । नायिकाले अभिनय र नृत्य जान्नै पर्छ भन्ने थिएन त्यसमा । मैले सोही युनिटका गोपाल सुवेदीलाई प्रियासँग भेटाएँ । फोटो खिचाउन भनेँ तर प्रियाले मानिनन् । त्यो चलचित्रमा त्यत्तिकै भयो । पछि सुवेदीले नै उनलाई चलचित्र छऔँठाछापमा खेलाउनुभयो र हिरोइन बनाउनुभयो ।

नायिकाले स्तनपान गराउँदा
प्रसंग मैले पहिलोचोटि निर्देशन गरेको आमाको मायाको हो । यसका लागि त्यति बेलाका नायिका पुजा चन्ददेखि करिष्मा मानन्धरसम्मलाई अफर गरेँ । चरित्रबारे बताएँ तर उनीहरू तयार भएनन् । त्यसैले निर्माता समुद्र भट्टचन नायिका खोज्नतिर लाग्नुभयो । म गीत रेकर्डिङदेखि अन्य काममा लागेँ । निर्माताले फोन गरेर हिरोनी भेटियो भन्नुभयो । अरुणखोलाकी युवती निलु रायमाझीलाई ल्याउनुभएछ । सो चलचित्रमा आमाले बच्चालाई स्तनपान गराउनुपर्ने सिन थियो । त्यसका लागि हिरोनीेसँग बच्चा राखेर फोटोसुट पनि गरियो, उनको सहमतिमा नै । तर, कुमारी केटीको स्तन देखाएर फोटा खिचाएको भनेर मिडियाले क्यान्डल मच्चाए । पहिले सहमतिमा स्तन देखाएकी निलुले पछि जबर्जस्ती फुकाल्न लगाएको आरोप लगाइन् । पछि सबैतिरको दबाबमा माफी पनि मागिन् । अहिले पनि कुनै चलचित्रका लागि हिरोइन छान्ने क्रममा मलाई यो घटना याद आइरहन्छ ।

कथा चोर्दा
निर्माता छविराज ओझा कस्तो साइनो बनाउने तयारीमा थिए । निर्देशक मै थिएँ । उनले मलाई ६ वटा हिन्दी चलचित्र ल्याएर दिए र भने– यिनैमध्येबाट मिलाएर एउटा राम्रो कथा बनाऊ । मैले ती सब हेरेँ र जानवर चलचित्रबाट कथा मात्र होइन, सबै प्लट हुबहु उतारेँ । चलचित्रले व्यवसाय पनि गर्‍यो, निर्माताले पैसा कमाए । नायिका रेखा थापालाई पनि यो चलचित्रले थप उचाइ दिलायो । रिलिजको समयमा भने ममा एक किसिमको डर थियो– मिडियाले सोधे के जवाफ दिने ? आºनो क्रिएसन केही थिएन । कथा चोरेकामा आलोचना खेप्नुपर्ने हो कि भनेर कैयौँ रात निदाउन सकिनँ ।

सेट भत्काएको क्षण
माया नगर चलचित्र बनाउने बेलामा म आफैँभित्रबाट पनि प्रेसरमा थिएँ । कस्तो साइनोका कारण आलोचना हुने डरले सताइरहेकै थियो । पछिल्लो चलचित्र नराम्रो भयो भने कुरा काट्नेहरूले झन् बहाना पाउँछन् भन्ने लागेको थियो । त्यसैले यो चलचित्रलाई राम्रो बनाउन यसपालि म कुनै कम्प्रमाइज नगर्ने विचारमा थिएँ । लोकेसनमा भेराइटी दिएको थिएँ । चलचित्रकै लागि भनेर तेलकोटमा पातैपातले बनाएका झुपडीको सेट तयार पार्‍यौँ । तर, बाटोको खराबीले गर्दा त्यहाँ छायांकनका लागि बस जान सकेन । त्यो सेट हरि दाइले डिजाइन गर्नुभएको थियो । सेट भत्काएर बसको सुविधा हुने ठाउँमा लैजान उहाँलाई आग्रह गर्‍यौँ । तर, उहाँले मान्नुभएन । पछि सेट नसारी सुखै थिएन । मेहनत गरेर बनाएको सेट भत्काइयो । हरिदाइ रुनुभयो । त्यो क्षण अझै पनि आँखामा झल्झली आउँछ ।

छायांकनमा भागाभाग
घर संसारको छायांकनका लागि बुटवलपरको मालभलाडी भन्ने ठाउँमा थिएँ । त्यो काठैकाठको ठाउँ थियो । सुटिङको गाडी पनि त्यहीँ थियो । लोकेसन मिलाउने क्रममा त्यो गाडी अलि पर सार्नुपर्ने भयो । गुरुजी कतै घुम्न जानुभएको रहेछ । द्वन्द्वनिर्देशक एनबी महर्जन आफैँ गाडी चलाउन थाल्नुभयो । गाडीको ब्रेक हातले हावा भर्नुपर्ने रहेछ । एनबी दाइलाई थाहा थिएन । उहाँले गाडी त चलाउनुभो, ब्रेक लगाउन सक्नुभएन । अब कसरी रोक्ने † अन्योलमा परेर त्यहीँ घुमाएको घुमायै गर्नुभयो । चलचित्र युनिट आºनो ज्यान बचाउन भागाभाग गर्न थाले । हेर्न आउने दर्शकमा कोलाहल मच्चियो ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया