यार्सागुम्बा प्रतिकेजी २४ लाख

दाङ, १९ असार । रुकुममा यार्सागुम्बा टिपिएको ठाउँमै प्रतिकेजी २४ लाख रुपियाँमा बिक्री भएको छ । देशकै उत्कृष्ट मानिने ‘क’ समूहको यार्सा २४ लाखमा बिकेको स्थानीय व्यापारी हर्कबहादुर कामीले बताए । यार्सा प्रतिगोटा दुई सय ५० देखि नौ सय रुपियाँसम्म बिक्री भएको उनको भनाइ छ ।

यार्सा पाइने क्षेत्र खुला गरेको सुरुसुरुमा कम मूल्यमा यार्सा बिके पनि अन्तिममा आएर प्रतिगोटाको मूल्य नौ सय रुपैयाँसम्म कारोबार भएको व्यापारी बताउँछन् । त्यस्तै, ‘ख’ समूहमा पर्ने यार्सा १५ देखि १८ लाख रुपैयाँमा प्रतिकेजी बिक्री भएको छ । यस वर्षको यार्सा संकलन कार्य लगभग सकिएको पनि स्थानीयले बताए ।
विगतको तुलनामा यो वर्ष निकै कम यार्सा पाइएको स्थानीय पुनिराज घर्ती बताउँछन् । उनका अनुसार यो वर्ष पाँच प्रतिशत अर्थात् ४० केजीको हाराहारीमा मात्र यार्सा संकलन भएको छ ।
यार्साको संकलन गर्न केही व्यापारी यार्सा टिप्ने ठाउँमै पुगे पनि स्थानीय दलालले नै त्यसको व्यापारमा बढी सक्रिय हुने गरेका छन् । कमिसन लिएर यार्सा संकलन गरेर अन्य व्यापारीलाई स्थानीयले नै यो वर्ष पनि दिएका छन् । यस वर्ष यार्सा टिप्नेमध्ये धेरै पैसा कमाउनेले ६० हजारसम्म कमाएका छन् ।
संकलित यार्सा छिमेकी जिल्ला डोल्पाको सदरमुकाम दुनै हुँदै काठमाडौं लगिएको छ । दूरीको हिसाबले दुनै छोटो पर्ने र सुरक्षाको दृष्टिकोणले पनि सहज भएकाले संकलित सबै यार्सा डोल्पा हुँदै काठमाडौं लगिएको हो । डोल्पाबाट हवाईजहाजमार्फत यार्सा काठमाडौं पुर्‍याइन्छ ।
जिल्लाको रन्माकैकोट गाविसका पुपाल, अर्बिजा, फूलबारी, गुराहा, निम्कु, कुन्डला क्षेत्रमा यार्सा पाइने गर्छ । यसका अलावा हरेक पाँच वर्षको अन्तरालमा सिस्ने गाविसमा पनि यार्सा पाइने गर्छ ।

प्रतिक्रिया