तुलसीपुरको तन्नेरीलाई बिर्सेकी छुइन

पोइल जान पाम् बोलको तीजेगीत गाएपछि असाध्यै विवाद झेलिन् गायिका कोमल ओलीले । मस्त जवानी घर्किएर जोवन उकालिइरहँदा पनि बिहे नगरेकी उनीबारे अनेक टीकाटिप्पणी भए । उनको एल्बम जल्यो थुप्रै ठाउँमा । कसैकसैले कुरा काटे, ‘यसरी उत्ताउलिनुभन्दा खुरुक्क बिहे गर्नु नि †’ अनि कसैकसैले मौका पनि छोप्न खोजे । सुन्दरी कोमलले भाउ देलिन् कि भनेजसरी अर्को गीत निकाल्यो कसैले– पोइल जान पाम् शिव भन्नेलाई मैले लान पाम् । तर, पनि कोमल एक्लो जीवनबाट दाम्पत्यतर्फ प्रवेश गर्नेबारे टसको मस गरिरहेकी छैनन् । आखिर किन यतिसम्म वैरभाव विवाहसँग उनको ? के अहिलेसम्म कुनै पनि पुरुषको प्रेमिल नजरले उनको नारी हृदय छेड्न सकेको छैन त ? ‘किन नहुनु ?’, उनैले भनिन्– ‘तुलसीपुरमा देखेको त्यो ठिटोलाई अहिलेसम्म भुल्न सकेको छैन, तुलसीपुरमा म जाँदा खेरि देखें मैले गज्जबको तन्नेरी गीत त्यतिकै जन्मिएको कहाँ हो र †’
कुरा ०५२ साल दसैंताकाको रहेछ । उनी एक साथीसँग तुलसीपुर बजार घुम्दै रहिछन् । बजारमा करिब ६ फिट उचाइको, कालोपाइन्टको गोजीमा हात हालेर टक्क उभिएको गोरे ठिटो देख्नासाथ कोमल हेरेको हेर्‍यै भइछिन्, फिल्मको दृश्य जसरी । जसलाई तुलसीपुरमा यसअघि कहिल्यै देखेकी थिइनन् । ‘ऊ साह्रै राम्रो थियो भनेको, उसले पनि फर्केर मलाई हेर्‍यो अनि गयो, घरमा आएर त्यो गीत नलेखेसम्म मन शान्तै भएन’, उनी थकथकाइन्, ‘तर, ऊ त्यसपछि कहिल्यै फर्केर आएन ।’ उनी यति पागल भइछन् कि, ‘उसले पनि मलाई फर्केर हेरेको छ, पक्कै खोज्दै आइपुग्छ,’ भन्ने सोच्न थालिछन् । ‘त्यो मान्छेले मलाई किन नखोजेको होला ?’, हिजोआज आफैंलाई प्रश्न गर्दै चित्त बुझाउँछिन्, ‘पक्कै पनि बिहे गरेकाले तुलसीपुरमा दसैंको टिको लाउन ससुराली आएको थियो होला ।’
गीत चाहिँ तीन कक्षामा पढ्दादेखि नै गाउन थालेकी रहिछन्, एक समय नेपाल टेलिभिजनकी यी समाचारवाचिकाले । स्कुल अनि टोलका कार्यक्रम छुटाउँदैनथिन् । बुबा हार्मोनियम बजाएर उनलाई गाउन सिकाउँथे रे † तीजका बेलामा निकालेको पोइल जान पाम् गीत उनकी आमालाई चाहिँ मन परेनछ । बुबाले चाहिँ मन पराएछन् । नयाँ फड्को मार्‍यौ छोरी भनेर हौसला दिए रे † उनको पहिलो गीत रेकर्डिङ चाहिँ ०४४ सालमा भएको रहेछ । त्यो एल्बमबाट उतिखेर १४ सय रुपियाँ कमाइछन् । खुसीले उनको खुट्टो भुइँमा थिएन । सुनाइन्, ‘त्यो पैसाले होटलको बिल तिरेँ, खिचापोखरीमा गएर कुर्तासुरुवाल पनि किनेँ, भाइबहिनीको कपडा किन्न पनि पुगेको थियो ।’ ४८ सालतिरबाट रेडियो नेपाल र टेलिभिजनमा पनि उनका गीत बज्न सुरु गरे । प्राय: चर्चाको शिखरमै रहिन्, घरी गायनका कारण, घरी सौन्दर्यका कारण त घरी अन्य प्रस्तुतिका कारण । अनि उनको अविवाहित जीवनशैलीलाई लिएर गीतको भन्दा बढी चर्चा हुने गर्छ हिजोआज पनि ।
बिहेको विषयलाई लिएर थुप्रै व्यक्तिसँग आफ्नो नाम जोडिएकामा दु:ख मान्छिन् उनी । एक समय शाहीकालीन सञ्चारमन्त्री टंक ढकाल चर्चाको हटकेक बने । कसैकसैले ढकालसँग कोमलको नाम जोडेर सनसनी मच्चाइदिए, यी मन्त्री र गायिकाले बिहे गर्ने रे † तर, कोमल भने यस्तो चर्चा फैलिएकामा दु:ख मान्छिन् । सम्झिइन्, ‘त्यतिबेला उहाँकी पत्नीको निधन भएको थियो, हामी कतै कार्यक्रममा सँगै देखिँदा पनि मान्छेहरू कुरा काट्न थालिहाल्थे ।’ हावा नचली पात हल्लँदैन भनेझैँ के ढकालले उनलाई प्रस्तावचाहिँ गरेका हुन् त ? ‘हामीबीच त्यस्तो केही थिएन, मन्त्री हुँदैमा उहाँसँग बिहे गर्नुपर्छ भन्ने कहाँ थियो र ?’, उनले भनिन्, ‘अब प्रस्तावकै कुरा गर्ने हो भने अविवाहित मन्त्रीहरूको प्रस्ताव पनि कति आए कति † मेरो मनैले मानेन ।’
बिहेबारेको उनको निजी सोच उनीभित्रै साँचिएर बसेको रहेछ । उमेरले अर्धबैंस काट्न लागिसक्यो र पनि भन्छिन्, ‘बिहे नै गर्दिनँ भन्ने अडानमा भने म छैन ।’ बिहे गर्छु भनेर मरिहत्ते गर्नेहरू थुप्रै छन् रे उनलाई अहिले पनि । यस्ता प्रस्तावले थोरबहुत काउकुति पनि लगाउँदा हुन् । सायद त्यसैले सम्भावना बाँकी नै राखेकी रहिछन्, ‘बिहे गर्न पनि सक्छु ।’ बेलायतमा बस्ने एक नेपालीले साह्रै गर्छ रे । तर, ऊतिर आफ्नो मनै जाँदैन भन्छिन् । ‘प्रस्ताव आए पनि कसैसँग नरामं्रो सम्बन्ध भएको छैन’, बिहे नगरी बसेको भन्दैमा शंका नहोओस् भन्ने चाहन्छिन् उनी सायद ।
तपाईंका पछिल्ला केही गीतका शब्द अनि भावनाहरू बिहे नगरी बसेका कारण उत्पन्न कुण्ठा पो हुन् कि ? ‘होइन’, उनले भनिन्, ‘सधैँ हेपिएको, थिचिएको, सासूले यसो गरिन्, श्रीमान्ले यसो गरे भनेर बिलौना मात्र कति गाउनु ? गीतमा पनि नारीलाई अलि खुलापन अनुभूति हुने गरी गाउनुपर्‍यो भनेर सबैसँग सल्लाह गरेँ । गीतकार दण्डपाणि पाण्डेलाई सो गीत लेख्न लगाएको हुँ, बजारमा चाहिँ कोमल ओलीले बिहे गर्न नपाएर यस्तो गीत गाएकी भनेर हल्ला चलाएछन् कसैकसैले ।’ उनी थप्छिन्, ‘सबैको चाहना हुन्छ, हेन्डसम र खाइलाग्दो पति । सबै बाबुआमाको चाहना हुन्छ असल ज्वाइँ र छोरीको राम्रो घर । विवाहित वा अविवाहित युवती मनमनै भगवान्सँग यस्तै वर माग्छन् । फरक यत्ति हो, अरूले मनमनै माग्छन्, मैले गीतमार्फत मागेँ ।’
घरमा बाबुआमाले चाहिँ उनलाई बिहेका लागि कर गरेनन् त ? कस्तो ज्वाइँ चाहिएको थियो उनीहरूलाई ? कोमल मुसुक्क मुस्काइन् अनि भन्न थालिन्, ‘मैले जस्तो लगे पनि उहाँहरूले स्वीकार गर्नु हुन्थ्यो । म परिवारको विश्वासीलो पात्र थिएँ । कुनै गल्ती गर्दिनँ भन्ने थियो ।’ आमालाई चाहिँ छोरीले कसैको पेट बोकेर आउने हो कि भन्ने बहुत चिन्ता थियो रे † सम्झाउँथिन् रे, बाहिर हिँड्दा नउत्ताउलिनु है छोरी, सधैँ सचेत रहनु भनेर ।
आइए पढ्दै गर्दा कोमलकी एक साथीको बिहे थियो । त्यो माहोलमा भिज्दा कताकता उनमा पनि बिहेको लालसा पलाएको थियो । जन्तीले आफूलाई जिस्क्याउँदा, आफ्नै हातले बेहुली सिँगारिदिँदा उनको मन कल्पिएको थियो रे, ‘म पनि यसैगरी सिंगारिन पाए † समयसँगै बढ्दै गएको परिपक्वताले विस्तारै उनको त्यो सोचाइ धमिल्याउँदै लगेछ ।’
स्कुल पढ्दा उनलाई मन पराउनेको कमी थिएन । उनी उनले मन पराउनेको पनि । तीमध्ये एउटा केटो उनको मनमा थियो । भन्छिन्, ‘त्यो पनि हेन्डसम र जेहेन्दार थियो । म ऊसँग नजिक हुने सुरसार के गर्दै थिएँ, उसको प्रेम अर्कै केटीसँग सुरु भइसकिहालेछ भन्या ।’ लभचाहिँ कति गरिन् त कोमलले ? थोरै घोरिइन् र केही सम्झन लागेझैँ भनिन्, ‘जीवन बिताउने प्रेम र हाइहेलोको प्रेममा फरक पर्छ । अघिल्लो किसिमको प्रेम मैले गरिनँ ।’
आइए पढ्दै गर्दा झन्डै उनको बिहे भइसकेको रहेछ । उनले एक जनालाई मन पराइन्, उसले पनि मन परायो । दुवैका परिवारले चित्त बुझाए । केटाको परिवार सम्पन्न थियो । जब बिहेको कुरो नजिकिँदै गयो, उनको ढुक्ढुकी बढ्न थालेछ । दोधार सुरु भएछ, बिहे गरौँ कि पढेर केही गर्नतिर लागौँ । धमाधम साथीहरूको बिहे हुँदै थियो, परिवारले पनि दबाब दिइरहेका थिए । कोमल सम्झन्छिन्, ‘मैले राप्ती अञ्चलभरि छुट्टै परिचय बनाइसकेकी थिएँ, दोहोरी गीतमा चारपटक त गोल्ड मेडल जितेकी थिएँ । सबैको सम्पत्ति बनिसकेकी थिएँ । यत्तिको पहिचान बनिसक्यो । बिहे गरौँ कि नगरौँ, निर्णय लिनै गाह्रो पर्‍यो ।’
केटा मन पराएका पिताले करियर र बिहेमध्ये एउटा कुरा छान्न भनेछन् । सम्पन्न बुहारी भएर बस्ने कि कोमल ओलीको नामले छुट्टै पहिचान बनाउने । बिहेपछि घरपरिवारमा बाँधिएर बस्नुपर्ने भएकाले आफ्नै सुझबुझले निर्णय लिन भनेछन् । रातभरि निद्रा मारेर दिमाग मन्थन गरिछन् र अठोट लिइछन्, ‘अहिल्यै बिहे गर्नु हुँदैन ।’ अहिलेचाहिँ कताकता उनलाई त्यतिबेला बिहे गरेको भए हुने रहेछ कि जस्तो लाग्छ रे †
पुरुषलाई उनी सधैंभरि महिलामाथि हैकम जमाउने प्रवृत्तिका रूपमा देख्दिरहिछन् । प्रेम–बिहे हुनै पर्दैन, अलिकति नजिक हुँदादेखि नै हैकम जमाउन थाल्ने पुरुष प्रवृत्ति छामेकी रहिछन् उनले । सायद यिनै कारणले पनि उनी खुलेर बिहेतिर लाग्न चाहन्नन् । भन्छिन्, ‘फोन बिजी भए पनि कोसँग कुरा गरेको भन्ने, अबेला आए किन अबेला भन्ने, उनीहरूको इच्छाअनुसार चल्नु पर्ने रहेछ । त्यो मलाई मन पर्दैन ।’ पुरुषलाई चुनौती दिन थालिन् उनी, ‘आजका दिनसम्म मैले कसैको हात समाएर चुम्मा गरेकी छैन, माया लाग्छ भनेकी छैन । गिफ्ट पनि लिएकी छैन । होटलमा गएर कुनै केटाको एक कप चिया खाइदिएकी छैन । बरु आफैंले खुवाएकी छु । आँट छ भने कसैले भनोस्, कोमल ओलीसँग प्रेम गर्थें, यो किनिदिएँ भनेर ।’
डेटिङ हिजोआज पनि जान्छिन् रे उनी । तर, अहिले सोह्र वर्षको जस्तो हुँदैन भन्छिन् । ‘अबको डेटिङ प्रेमको हुँदैन, साथीभाइसँग सामाजिक अनि कामको कुरा गर्छांै, मायाप्रीतिका कुरा हुँदैन’, उनी भन्छिन्, कार्यक्रममा शुभचिन्तकसँग हात मिलाउँदा हाँसेर बोल्दा अहिले पनि कतिले गलत रूपमा बुझ्छन्, साह्रै दु:ख लाग्छ ।’
बिहेबारे आफूले दुई किसिमका सुझव पाएको बताउँछिन् उनी । श्रीमान्ले माया गरेका र घरव्यवहार राम्रो भएकाले बिहे गर भनेर उक्साएछन् । अनि श्रीमान्ले छोडेका र घरमा दु:ख पाएकाले बिहे नगर, यही जीवन ठिक छ भनेर सम्झाउँदा रहेछन् । यी दुवै धारणाले आफूसँग कुनै गुनासो गर्नुपर्ने बनाएका छैनन् रे उनलाई । बिट मारिन्, ‘बिहे गरेर समस्या मात्र हुन्छ भन्ने पनि होइन है फेरि †’

प्रतिक्रिया