गीतसंगीतमा ठगिएको गुनासो

काठमाडौं : सरकारले राजस्व लिए पनि गीतसंगीत क्षेत्रको संरक्षणमा ध्यान नदिएको गुनासो संगीतकर्मीहरूले गरेका छन् । अनामनगरस्थित ‘आलाप म्युजिक रेकर्डिङ स्टुडियो’ले प्रथम वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजना गरेको चियापानमा संगीतकर्मीले संगीत क्षेत्रको संरक्षण हुन नसक्दा लगानी खेर गइरहेको बताए । संगीतकै कारण एफएम रेडियो र सिआरबिटीबाट मात्रै सञ्चार मन्त्रालयले बर्सेनि दस अर्बभन्दा बढी रोयल्टी लिने गरेको बताउँदै उनीहरूले अब यस क्षेत्रमा स्पष्ट नीति बनाएर लगानीको वातावरण बनाउन राज्यसँग माग गरे । संगीतकार सुदाम थापाले गीत/संगीतभन्दा बाहिरका व्यक्तिले यस क्षेत्रबाट आर्थिक लाभ लिने गरेको र उचित ऐनकानुनको अभावमा रचनाकार, संगीतकार र गायक मर्कामा परेको उल्लेख गरे । अधिवक्ता तथा गायक डा. भीमार्जुन आचार्यले संगीत संरक्षणका लागि राज्यलाई ऐनकानुन बनाउन दबाब दिनुपर्ने बताए । पत्रकार एवं रचनाकार विपुल पोख्रेलले प्रतिस्पर्धाको बजारमा जाँदा उत्पदकहरूले गुणस्तरलाई ध्यान दिनुपर्ने बताए भने संगीतकार सन्तोष श्रेष्ठ र   राजेश क्षत्रीले संगीतप्रति राज्यको उदासीनताका कारण रेकर्डिङ स्टुडियोहरूसमेत बन्द हुने अवस्थामा पुग्न लागेको उल्लेख गरे । कार्यक्रममा मधुबाबु थापा, चन्द्रकला शाह, शिशिर योगी, सिन्धु मल्ल, रेणु विष्ट, रीता केसी, यादव योगी, शरद अधिकारी ‘सागर’, लोकराज अधिकारी, गोविन्दमधुर आचार्य, प्रकाश रेग्मी, प्रकाश कुसुम्यालगायतको सहभागिता थियो ।

प्रतिक्रिया