महिलाको चरम सुखका बाधक

महिला र पुरुषका यौनसमस्या एकैखाले हुँदैनन् । कतिपय समस्या एउटै देखिए पनि तिनका कारण भने फरक नै हुन्छन् । महिलामा हुने यौनसमस्यामध्ये एउटा हो, यौनचाहनामा कमी हुनु । उत्तेजना नआउनु अर्को समस्या हो । सहवासको समयमा चरम सुखमा पुग्न नसक्ने महिला पनि धेरै छन् । सहवासको समयमा पीडा हुनु महिलाले भोगिरहेको यौनसमस्या हो । यस्ताखाले समस्याले यौनजीवन सुखी हुन सकिरहेको हुँदैन । महिलाका समस्याले पुरुषलाई समेत प्रभाव पारिरहेको हुन्छ ।
प्रत्येक समस्याका कारण हुन्छन् । ती कारण पहिचान गर्न सकिए मात्र समाधानको विन्दु छिचोल्न सकिन्छ । महिलामा यौनचाहनामा कमी आउनुका कारण विविध हुन सक्छन् । जस्तै– हार्मोनको परिवर्तन, क्यान्सर, केमोथेरापी तथा डिप्रेसनको समस्या । गर्भावस्था, तनाब, यौनजन्य हिंसाले पनि यौनचाहना घटाइरहेको हुन्छ । योनिमा पर्याप्त आद्र्रता नभएका महिला उत्तेजनामा पुग्न सकिरहेका हुँदैनन् । चिन्ताले पनि त्यस्तो समस्या आउँछ । योनि तथा भगांकुरमा रक्तसञ्चालनमा कमी, तनाब, हीनताबोध, यौनबारे जानकारी नहुनु, प्रौढावस्थामा महिनावारी बन्द भएपछि योनि सुक्खा हुनु, प्रजननप्रणालीको समस्या तथा यौनरोग, दीर्घरोग आदिजस्ता कुराले उत्तेजनामा बाधा पुर्‍याइरहेका हुन्छन् ।
दमित यौनइच्छा, अनुभवको कमी, यथेष्ट ज्ञानको अभाव चरम सुखसम्म पुग्न नसक्नुका अन्य कारण हुन् । मनोवैज्ञानिक तनाबहरू, जस्तै– हीनताबोध, चिन्ता, यौनलाई लाज, डर, रिस वा शोषणका रूपमा लिनु, विगतको यौनदुव्र्यवहार, बलात्कार आदिको नराम्रो स्मृतिका कारण पनि कतिपय महिला यौनलाई इन्जोय गर्न सकिरहेका हुँदैनन्, अनि कतिपय महिलाचाहिँ पुरुषको यौनदुर्बलताका कारण अपूरै हुन पुग्छन् । योनिमा घाउ, भगांकुर, पाठेघर, अण्डाशयमा संक्रमण भएमा यौन कार्य पीडादायक हुन सक्छ । योनिस्राव कम भएमा, यौनमैत्री वातावरण नहुँदा तथा यौनरोग लागेमा पनि सहवासको समय पीडादायक हुन सक्छ, महिलाहरूलाई । उपर्युक्त समस्याका कारण थाहा भएपछि समस्या समाधान गर्न सजिलो हुन्छ । यी कारण न्यूनीकरणतर्फ लाग्ने महिलाले फेरि आनन्ददायी यौनसुखको अनुभूति गर्न सक्छन् ।

 

प्रतिक्रिया