दलहरूमा मौलाएको गुटको राजनीति

नेपालका राजनीतिक दल गुट–उपगुटको चरम सिकार बनिरहेका छन् । विसं. २००० तिर स्थापना भएका कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस सात दशकको अवधिमा दजनौँ गुट–उपगुटमा विभाजित भइसकेका छन् । पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी सबैभन्दा धेरैपटक विभाजन भइसकेको छ । बिपी कोइरालाले स्थापना गरेको कांग्रेस भने गुटबन्दीको राजनीतिको सिकार भयो । कांग्रेस ६० को दशकमा फुटेर प्रजातान्त्रिक बन्न पुग्यो भने अहिले पुन: एक भएको छ । तर पनि ऊभित्र अझै प्रजातान्त्रिकको प्रस्ट गुट छ नै । कम्युनिस्ट पार्टीमा भने फुट र चोइटिने प्रथा नै छ । कम्युनिस्ट पार्टी, माले, माक्र्सवादी, एकीकृत, मसाल, बर्मा, विजुक्क्षे, मोहनविक्रम सिंह, जनामोर्चा, मालेमा दल र गुटहुँदै एमाले र एकीकृत माओवादीसम्म आइपुगेको छ । गणना गर्ने हो भने कम्युनिस्टभित्र ४२ दल स्थापना भइसकेका छन् । तीमध्ये अस्तित्वमा भने आधा दर्जन मात्र छन् । अर्थात् देशमा भएका निर्वाचनमा टुक्राटुक्रा भएका कम्युनिस्ट पार्टीको प्रभाव सीमित दलको मात्र रहेको पाइन्छ ।
नेपालका कम्युनिस्टले मान्ने विचार भनेको कार्लमाक्स, लेनिन र माओवाद हो । यी प्रख्यात विश्व नेताले प्रतिपादन गरेको विचारलाई नेपाल सुहाउँदो व्याख्या गर्दै कम्युनिस्टहरू विचार, नीति र कार्यक्रममा फरक मत भएको बहानामा फुटिरहेका छन् । माक्र्स, लेनिन र माओले प्रतिपादन गरेका सिद्धान्त र विचार मान्ने भन्ने अनि नेपालमा भने नेताबीच विचार, नीति र कार्यक्रममा फरकमत जाहेर गर्दै फुट्ने चलन स्थापित भयो । कुन नेताले मालेमावादलाई कसरी पढे ? कसरी बुझे ? बुझाइकै कारण किन उनीहरूबीच मतान्तर भइरहन्छ ? प्रश्नको उत्तर कम्युनिस्ट पार्टीका शुभचिन्तक र कार्यकर्ताले बुझ्न सकेका छैनन् । कोही नेता हतियार उठाउने कुरा गर्छन् भने कोही शान्तिपूर्ण रूपमा सत्ता कब्जाको कुरा गर्छन् । कोही सडक र सदनमा संयुक्त संघर्ष घोषणा गर्छ भने कोही निर्वाचनबाट सत्ताकब्जाको कुरा । कुन नेताले कुन पुस्तक पढेर दीक्षित भएको छ, के बुझेको छ र के गर्दैछ भन्ने बुझ्न सकिन्न ।
पछिल्लो समय अस्तित्वमा रहेका नेकपा एमाओवादी, एमाले, जनमोर्चा नेपाल, संयुक्त जनमोर्चा, माले, मजदुर किसान पार्टीसमेत विचार नमिलेरै गुट र उपगुटमा विभक्त छन् । एमाओवादी र एमाले गुटको उत्कर्षमा पुगेका छन् र फुटको साइत हेरिरहेका छन् । एमाओवादीका उपाध्यक्ष मोहन वैद्य (किरण) र एमालेका उपाध्यक्ष अशोक राई गुटको नेतृत्व गरिरहेका छन् । झन्डै ४० प्रतिशत नेता, कार्यकर्ता र मतदाता आºनो पक्षमा रहेको उनीहरूको ठहर छ । एमाओवादी यसअघि आधादर्जनभन्दा बढीपटक चोइटिसकेको छ । मातृका यादव, मणि थापा अनि अयोग्य लडाकुसमेतले चोइटिएर दल बनाइसकेका छन् । पछिल्लो चोइटाइ भने केही प्रभाव राख्ने देखिन्छ । पार्टी नेतृत्वमा उपाध्यक्ष, महासचिव, सचिवदेखि स्थायी समिति, पोलिटब्युरो, सचिवालय सदस्य, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रमुख र विघटित संविधानसभाका सदस्यसम्मको ठूलो हिस्सा एमाओवादीमा नअट्ने निष्कर्ष निकालेर नेकपा–माओवादी गठन गरिसकेका छन् । संस्थापनको नेतृत्व गरेका अध्यक्ष प्रचण्ड अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका कारण बहुमतमा छन् । केहीअघि प्रचण्ड, वैद्य र भट्टराईका अलगअलग गुट थिए । सरकारमा बाबुराम पुगेपछि त्यो गुट अहिले अस्तित्वमा छैन । सरकारबाट हटेपछि भने गुट नहोला भन्न सकिन्न । किनकि, यसअघिको गुट सत्ताबाट बाहिरिए पनि स्वत: सक्रिय हुने भट्टराई पक्षधरहरू बताइरहेका छन् । विघटित संविधानसभा निर्वाचनमा दुई सय ३७ स्थान ल्याएर देशकै ठूलो दल बनेको एमाओवादी उपाध्यक्ष वैद्य समूह चोइटिएर गइसकेको अवस्था छ ।
एमालेमा अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपाल र केपी ओली शर्माका अलगअलग गुट छन् । यी तीन गुटमध्ये दुई गुट मिल्नेबित्तिकै पार्टीमा बहुमत हुन्छ । नमिल्ने गुट पेलानमा पर्छ । केहीअघि पार्टीमा गुटबन्दीले चरम रूप लिएपछि कार्यकर्ताहरूको दबाबमा पद र शक्ति बाँडफाँड भयो । बुटवल महाधिवेशनमा अध्यक्षमा पराजित ओलीलाई तेस्रो मर्यादामा राखियो, जसका कारण तत्काललाई गुटबन्दी समस्या समाधान गर्न एमाले सफल भएको थियो । एमालेभित्र विचारभन्दा पनि जनजातिको मुद्दालाई नेतृत्वले बेवास्ता गरेको भन्दै उपाध्यक्ष अशोक राई गुट बनाएरै सार्वजनिक भएका छन् । उनी स्थायी समिति, केन्द्रीय समिति बैठकमा जान नै छाडिसकेका छन् । विघटित संविधानसभाबाट संघीय र जातीय पहिचानसहितको प्रान्त हुनुपर्ने प्रस्ट मागसहित देखिएका जनजाति नेता तथा सभासद्हरू नेतृत्वले पहिचानसहितको जातीय राज्यले देश टुक्रने भन्दै नमानेपछि गुटमा रूपान्तरण भएका हुन् । उपाध्यक्ष राई, विजय सुब्बा, पासाङ शेर्पासमेत ३० जनाको हाराहारीमा एमालेका नेता तथा पूर्वसभासद्ले छिट्टै नयाँ पार्टी गठन गर्ने भएका छन् ।
जनजाति मुद्दालाई घनीभूत रूपमा उठाउने भन्दै गठन हुन लागेको त्यो समूहले विचार मिल्ने अन्य दलका नेता तथा कार्यकर्ता पनि आफ्नो दलमा ल्याउने तयारी गरेको छ । यसले विघटित संविधानसभामा तेस्रो शक्तिका रूपमा रहेको एमालेलाई ठूलो चोट पुग्ने देखिन्छ । जनजातिहरूले ब्राह्मणहरूको दल भन्न थालेको अवस्थामा जनजाति नेताहरू बाहिरिएपछि त्यसले आगामी कम्युनिस्ट आन्दोलनलाई अधोगतिमा धकेल्ने केही विश्लेषकहरू टिप्पणी गर्न थालिसकेका छन् । सरकारले घोषणा गरेको आगामी मंसिर ७ गते संविधानसभाको पुन: निर्वाचन भएमा फुटपछिको एमालेलाई ठूलो संकट आउने देखिन्छ । विघटित संविधानसभामा एक सय नौ सिट ल्याएर तेस्रो शक्ति बनेको उसलाई त्यही अवस्थामा पुग्न फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ ।
जनआन्दोलन २०४६ पछि गठन भएका राजावादीका दल राप्रपा थापा र चन्द एकीकरण गर्दै, फुट्दै पाँच टुक्रा भइसकेका छन् । अहिले राप्रपा, जनशक्ति, राप्रपा नेपाल एकीकरणको चर्चा चले पनि उनीहरू एक हुन सकेका छैनन् । राजसंस्था विघटनपछि सो संस्थाको पक्षमा वकालत गर्दै आएको राप्रपा नेपाल र गणतन्त्रमा पुगिसकेका जनशक्ति तथा राप्रपाबीच सहकार्य सम्भव भए पनि एकीकरण हुने लक्षण देखिन्न ।
गजेन्द्रनारायण सिंहले मधेसीलाई गोलबन्द गरेर स्थापना गरेको सद्भावना अहिले आधादर्जन टुक्रामा विभाजन भइसकेको छ । २८ चैत ०६४ मा भएको संविधानसभा निर्वाचनमा मधेसलाई जातीय रूपमा उभ्याएर तराई मधेस लोकतान्त्रिक, जनअधिकार फोरमजस्ता पार्टी स्थापना भए । ती पार्टीले मधेसका मुद्दालाई उठाउनुभन्दा पनि सत्ता मोहमा फसेर दर्जन हाराहारीमा टुक्रिए । चौथो शक्तिका रूपमा देखिएको फोरमलाई विजयकुमार गच्छदार, जयप्रकाश गुप्तासमेतले टुक्रयाए । संविधानसभा विघटन भएकै कारण अहिले भने मधेसवादी दल पुन: फुटेका छैनन् । बृहत् मधेसी मोर्चा, संयुक्त मधेसी मोर्चाजस्ता नाममा संगठित हुन थालेका उनीहरू त्यो मोर्चा पनि फुटाइरहेका छन् ।
देशकै अग्रणी र ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा पनि गुटले उत्कर्ष रूप लिएको छ । कोइराला परिवारको पकडमा रहेको पार्टीले परिवारवादलाई अवसर दिएको भन्दै नेता शेरबहादुर देउवाले एकपटक कांग्रेसलाई फुटाइसकेका छन् । देउवा कांग्रेस महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्छन्, पराजित भएपछि गुटलाई तीव्रता दिन्छन् । संस्थापनले बहुमतको आडमा देउवा पक्षलाई नेतृत्वमा समान अवसर नदिएपछि अहिले कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ । भ्रातृसंगठनहरू विघटन गरेर संस्थापनले आफ्नो प्रस्ट बहुमत राख्दै तदर्थ समिति बनाएपछि चुलिएको विवाद फुटसम्म नपुगे पनि त्यसले भावी निर्वाचनहरूमा बाघी उम्मेदवार बनाउने पक्कै छ । राजनीतिक दल चोइटिनु र फुट्नु भनेकै देशमा अस्थिरता बढ्नु हो । बाह्य र आन्तरिक चलखेलमा देश फसेर आर्थिक उन्नति, शान्ति, स्थायित्व कायम हुन सक्दैन । सत्ता, शक्ति र सम्पत्तिका लागि जनताप्रति उत्तरदायी नभएर दल र तिनका नेताले पार्टीहरू फुटाउँदै लगेमा देश यथास्थितिवादीको चंगुलमा नफस्ला भन्न सकिन्न ।

प्रतिक्रिया