प्रदूषणविरुद्ध उत्रिएका स्थानीयमाथि प्रहरी हस्तक्षेप

वीरगन्ज, १७ असार । उद्योगले गरेको प्रदूषण नियन्त्रण नभएपछि धर्ना र प्रदर्शनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गरेर कुटपिट गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर र दुई सेल अश्रुग्यास प्रहार गर्नुका साथै कुटपिट गरेर ३१ जनालाई घाइते बनाएको छ भने चारलाई नियन्त्रणमा लिएको छ ।

बारा लिपनीमालमा शनिबार दिउँसो प्रहरी र गाउँलेबीच भएको झडपमा पाँच प्रहरीसहित ३१ घाइते भएका हुन् । प्रहरीले गरेको लाठीचार्जबाट आठ महिलासहित २६ गाउँले घाइते भएका हुन् । लिपनीमालस्थित नारायणी मोडर्न पल्सको परिसरमा रहेका विभिन्न उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणको माग गर्दै प्रदर्शनमा उत्रिएका पर्सा भवानीपुर–८ र ९ सुखचैना टोलका गाउँले र प्रहरीबीच झडप भएको हो ।
झडपमा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरीतर्फ सइ राजेन्द्रबहादुर चन्द, असइ राजेन्द्र चौधरी, प्रहरी हवल्दार टेकबहादुर घिमिरे, पदमबहादुर र प्रहरी जवान श्याम निरौला घाइते भएको इन्स्पेक्टर केपी शर्माले बताए ।
झडपमा परेर प्रदर्शनकारीतर्फ दीपेन्द्रसिंह पटेल, राजकुमार यादव, महादेव कुशवाहा, मदन कलवार, भिखम कुशवाहा, रामाज्ञा साह कलवार, जितन पटेल घाइते भएका छन् । यस्तै, भोला राम, राधेश्याम मण्डल, भोला यादव, विनोद पटेल, विजय यादव, मनोज यादव, शिवशंकर गुप्ता, श्यामसुन्दर पटेल, देवेन्द्र यादव, कैलाश महत्तो, सिकेन्द्र पटेल पनि घाइते भएका छन् ।
प्रदर्शनमा कलावती राम, जोखनी तेली, सोना देवी, रामशीला पटेल, लाइची देवी, फूला देवी, जनिया देवी, मुसहिल देवी पनि घाइते भएका छन् । उनीहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये रामाज्ञा साह, महादेव कुशवाहा, मदन कलवार र विजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले उद्योगको गेट तोडफोड गरेर जबर्जस्ती उद्योगभित्र प्रवेश गरेपछि झडप भएको प्रहरीको भनाइ छ । तर गाउँलेले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन् ।
नारायणी मोडर्न पल्स परिसरमा नारायणी राइस मिल, नारायणी छाला उद्योग, नारायणी घिउ उद्योग र त्रिशक्ति सिमेन्ट उद्योग छन् । उद्योगबाट निस्कने प्रदूषणयुक्त पानी र धुलो नियन्त्रणका लागि व्यवस्थापन र प्रशासनलाई पटकपटक जानकारी गराए पनि सुनुवाइ नभएपछि शनिबार उद्योगको गेटमा शान्तिपूर्ण प्रदर्शन र धर्ना दिइएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया